
२०८१ साल नेपाली संगीतका लागि एकदमै आशाजनक, ऊर्जा दिने र नयाँ सम्भावनाको सुरुवात गर्ने वर्ष रह्यो भन्नेमा कुनै शंका छैन । यसवर्ष नेपाली संगीतले फेरि एकपटक आफ्नो मौलिक आवाजलाई समाजसँग, समयसँग र विश्वसँग गाँस्न खोजेको देखियो । प्रविधिको विस्तार, सामाजिक सञ्जालको प्रभाव, बजारमा आएको विविधता र नयाँ पुस्ताको बढ्दो सक्रियताले हाम्रो संगीतको लयलाई नयाँ स्वरूप दिइरहेका छन् ।
४ वटा नेपाली गीत विश्वव्यापी रूपमा ट्रेन्डिङमा जानुजस्ता उपलब्धिहरूले यो वर्ष केवल संख्यात्मक होइन, गुणात्मक रूपमा पनि विशेष रह्यो । हामी अब संगीतलाई केवल मनोरञ्जनको साधन होइन, सन्देशको माध्यम र सांस्कृतिक अस्तित्वको प्रमाणको रूपमा हेर्न थालेका छौँ । यही परिवर्तन हो जसले २०८१ साललाई नेपाली संगीतको पुनर्जागरणको वर्ष बनायो र आजको पुस्ताले संगीतलाई गहिरो भावनात्मक सम्बन्धबाट हेर्न थालेका छन् ।
उनीहरू केवल रमाउने मात्र होइन, बुझ्न चाहने पनि छन् । टेक्नोलोजीको प्रयोग गर्दै, उनीहरू पुराना धुनहरूलाई नयाँ स्वादमा सुनिरहेका छन् र आफ्नै कथाहरू नयाँ शैलीमा व्यक्त गरिरहेका छन् । यो वर्ष नेपाली संगीतको आत्माको पुनस्र्थापना मात्रै भएन, यसको शिक्षण, संरचना र सम्भावनाको नयाँ अध्याय पनि खुल्यो । यसले हामीलाई एउटा कुरामा झन् दृढ बनायो- नेपाली संगीत अब व्यक्तिको कुरा मात्र होइन, सामूहिक उत्तरदायित्वको विषय हो ।
नेपाली संगीतको आत्मा के हो भन्ने प्रश्न कुनै समय अस्पष्ट थियो । कहिले लोकधुन नै पहिचान भनिन्थ्यो, कहिले शास्त्रीय स्वरलाई आधार मानिन्थ्यो, कहिले त ‘नेपाली संगीत भनेकै प्रेम गीत हो’ भन्ने एकपक्षीय धारणा पनि बनाइएको थियो । तर आज हामी बुझ्दैछौं- नेपाली संगीतको आत्मा भनेको शैली वा स्वरको नाम होइन, त्यो चेतना हो जसले भूगोल, समाज र समयलाई लयभित्र बाँध्छ । आज हाम्रा गीतहरू लोकको स्वाद लिएर सहरमा गुञ्जिरहेका छन् र सहरका संवेदना गाउँसम्म फैलिरहेका छन् । यो सिङ्गो देशको धड्कनलाई संगीतमा रूपान्तरण गर्ने क्षमता नै नेपाली संगीतको असली पहिचान हो ।
प्रविधि, सोसल मिडिया र पुराना धुनको पुनर्जन्म
संगीतको स्वाद सधैँ समयसँग बदलिन्छ । तर आजको पुस्ताले दिएको संकेत स्पष्ट छ- उनीहरू संगीतमा लोकप्रियता मात्र होइन, प्रामाणिकता पनि खोजिरहेका छन् । ‘टिकटक ट्रेन्ड’ वा ‘रिल्स हिट’ मात्र होइन, उनीहरू त्यस्तो गीत खोजिरहेका छन् जसले जीवन, समाज र आत्मालाई छुन्छ । उनीहरू डिजिटल छन्, तर आत्मीय पनि छन् । उनीहरू शैलीसँग खेल्छन्, तर भावनासँग इमान्दार छन् । यही कारण हो कि पुराना क्लासिक गीतहरू फेरि सुन्न थालिएको छ र नयाँ सिर्जनाहरूमा पनि समाजको कुरा उठ्न थालेको छ । यो पुस्ता गीत सुन्छ मात्र होइन, त्यसमा आफ्नो आत्माको प्रतिबिम्ब खोज्छ ।
टेक्नोलोजीले संगीतलाई विश्वसनीय र सहज बनाइदिएको छ । यो दशकमा हामीले महसुस गर्यौँ- पुराना धुनहरू केवल सम्झनामा बाँच्छन् भन्ने होइन, ती नयाँ स्वरूपमा फर्किन सक्छन् । क्लासिक गीतहरू रिमास्टर भएर युट्युबमा, स्पोटिफाईमा, एप्पल म्युजिकमा आइरहेका छन् । पुराना वाद्यवादनलाई डिजिटल प्लगइनमार्फत पुनर्संरचना गरिएको छ । यहाँसम्म कि कतिपय गीतहरूलाई आर्टिफिसियल इन्टेलिजेन्सले पुरानै स्वरको भावमा पुनः उत्पादन गरिदिएको छ । यसले पुराना सर्जकहरूको योगदानलाई पुनः मूल्यांकन गरिदिएको छ र नयाँ पुस्तालाई ऐतिहासिक चेतनासँग संगीतको सम्बन्ध देखाएको छ ।
सोसल मिडिया आजको युगको सबैभन्दा शक्तिशाली यन्त्र हो र नेपाली संगीत पनि यसको प्रभावबाट अछुतो छैन । एकातिर यसले नयाँ कलाकारलाई प्रकट हुने सञ्जाल दिएको छ- एक सामान्य युवाले आफ्नो कोठामा गाएको गीत लाखौँ मानिसले हेर्न सक्छन् । अर्कातिर, यसले सिर्जनाकर्तामाथि निरन्तर ‘ट्रेन्डिङ’को दबाब पनि सिर्जना गरिदिएको छ । धेरै कलाकारहरू यस्ता छन्, जसले गहिरो गीत ल्याउन चाहन्छन्, तर ‘लाइक’ र ‘भ्यु’ को खेलमा अल्झिन बाध्य छन् । तर यहाँ सकारात्मक संकेत के देखिएको छ भने, श्रोताहरू फेरि ‘भाव’ खोज्न थालेका छन् । ट्रेन्डलाई प्रयोग गरेर ‘सन्देश’ पुर्याउने कोसिसहरू बढिरहेका छन् । यसले देखाउँछ -सोसल मिडिया दबाब होइन, सही दृष्टिकोणले प्रयोग गरियो भने यो संगीतको प्रगतिको साधन बन्न सक्छ ।
‘इन्डस्ट्री’ बनाउने जिम्मेवारी
२०८१ को सबैभन्दा गहिरो प्रश्न यही हो- के साँच्चै नेपाली संगीतको ‘इन्डस्ट्री’ छ त ? उत्तर स्पष्ट छ- छैन । अहिले नेपाली संगीतको अवस्था एक–एक कलाकारको व्यक्तिगत प्रयासमा अडिएको छ । कसैले लेख्छ, कसैले गाउँछ, कसैले अपलोड गर्छ- तर त्यो बिचमा कुन संरचना छ जसले सबैलाई एक सूत्रमा बाँध्छ ? त्यो छैन । कपीराइटको सुरक्षा, कलाकारको बिमा, डिजिटल वितरण प्रणाली, म्युजिक डाटाबेस- यी सबै कुराहरू केवल सोचमा छन्, काममा छैनन् । ‘इन्डस्ट्री’ भनिन्छ भने त्यो व्यवस्थापन, पारदर्शिता र समन्वयको कुरा हो । अहिले हाम्रा सबै गीतहरू बजारमा छन्, तर त्यो बजारमा कुनै नियम छैन । यही कारण हो, सबैजना आ-आफ्नो जीवन लिएर अघि बढिरहेका छन्, कसैले इन्डस्ट्री बनाउने बारे सोचिरहेको छैन । अब यो सोच बदलिनुपर्छ ।
साहित्य र समाज हरायो कि पुनः जोडिँदैछ ?
गुनासो पुरानै हो- ‘साहित्य हरायो’ । तर २०८१ सालमा यो गुनासोले नयाँ मोड लिएको छ । अब गीतहरू फेरि ‘भाषा’ बोल्न थालेका छन् । फ्याट्फुटेड गीतमा गहिरो संवेदना भेटिन्छ, आधुनिक शैलीमा लोकको पीडा लुकेको हुन्छ । अब चाहिएको के हो भने- गीतकार, संगीतकार र गायकबिच गहिरो संवाद । गीत केवल गाउने विषय होइन, लेख्ने, बुझ्ने र बाँड्ने विषय हो । यही बुझाइले गीतमा साहित्य फर्काउन सक्छ । त्यो साहित्य केवल गम्भीर कविता होइन, सरल संवेदना पनि हो, जुन जनताले महसुस गर्न सकून् ।
नेपाली संगीतले फेरि समाजसँग आफ्नो सम्बन्ध सुधार्न थालेको छ । अब गीतहरू ‘मनोरञ्जन’ मात्र होइन, ‘संवाद’ पनि बनिरहेका छन् । प्रवासको पीडा, गाउँको सम्झना, भाषाको संकट, आत्म पहिचानको खोज, यी सबै कुरा गीतभित्र बोल्न थालेका छन् । यसले देखाउँछ कि संगीत फेरि जनजीवनको प्रतिबिम्ब बन्न खोजिरहेको छ । हामीले चाहिने भनेको यस्तो संगीत हो, जसले मञ्चमात्र होइन, मन पनि छोयोस् । अनि संगीतले फेरि समाजमा जरा गाड्न सक्छ ।
एक शिक्षकको दृष्टिमा हेर्दा, आजका विद्यार्थीहरूमा नेपाली संगीतप्रतिको लगाव उत्साहजनक छ । उनीहरूलाई आधुनिक शैली चाहिन्छ, तर मौलिक भाव पनि मनपर्छ । अहिलेको पुस्ता गीत सिक्न चाहन्छ, सम्झन चाहन्छ र आत्मसात गर्न चाहन्छ । तर समस्या केवल संरचनाको हो- उनीहरूलाई सिकाउने ठाउँ छैन, सिकाउने पाठ्यक्रम छैन । यदि हामीले संरचनागत शिक्षालाई प्राथमिकता दियौँ भने, यही पुस्ताले भविष्यको संगीतमा हाम्रो पहिचान राख्नेछ ।
नीति बनाउने कुरा धेरै भयो । संस्कृति मन्त्रालयले प्रतिवेदन बनायो, योजना ल्यायो, तर त्यो व्यवहारमा उतार्न सकेन । कलाकारले आफ्नो अधिकार पाएन, सिर्जनाकर्ताले उचित मुआब्जा पाएनन् । अब सरकारलाई गीतको माया छैन भन्ने होइन- तर त्यो माया ‘समझ’मा रूपान्तरण हुनुपर्छ । बिमा, पेन्सन, लाइसेन्स, अनलाइन रजिष्ट्रेसन, डिजिटल आर्काइभ- यी सबै कुराहरू कार्यान्वयनमा जाँदा मात्र नीतिले अर्थ राख्छ । नीति कागजमा होइन, कलाकारको जीवनमा देखिनुपर्छ ।
अर्को दशकको चुनौती र सम्भावना
अर्को दशकले हामीलाई धेरै चुनौती दिनेछ- आफ्नै मौलिकता बचाइराख्ने, गुणस्तरीय गीत सिर्जना गर्ने, समाजसँग संवाद निरन्तर राख्ने । तर यसभित्र अपार सम्भावना पनि छन् । विश्व बजार हाम्रो प्रतीक्षा गर्दैछ, केवल हामी तयार हुन बाँकी छौँ । टेक्नोलोजी, नयाँ दर्शक, अन्तर्राष्ट्रिय प्लेटफर्म- यी सबैले हामीलाई ग्लोबल बनाउने बाटो खोलिरहेका छन् । अब चाहिएको भनेको मात्र योजना, संरचना र सामूहिक सोच हो ।
अब समय आएको छ- नेपाली संगीतलाई केवल प्रेमको विषय होइन, पहिचानको मुद्दा बनाउने । यो केवल गीतको कुरा होइन, सामूहिक चेतनाको आवाज हो । कलाकार, शिक्षक, दर्शक, सरकार, बजार- सबैले मिलेर अब नेपाली संगीतलाई संरचना दिनुपर्छ । अनि मात्रै हामी भन्न सक्छौं- हो, अब हामीसँग संगीत इन्डस्ट्री छ र त्यो इन्डस्ट्री हाम्रो मौलिकता, संवेदना र सम्मानको आधार हो ।
२०८२ सालदेखि हामीले संगीतलाई केवल मनोरञ्जनको साधन होइन, अनुसन्धान, विकास, शिक्षा, सांस्कृतिक सम्पदा, आर्थिक उन्नति र राष्ट्रिय समृद्धिको मेरुदण्डको रूपमा लिनैपर्छ । यो अब व्यक्तिगत प्रयासको कुरा मात्र होइन- यो सिङ्गो नेपाली समाजको साझा दायित्व हो । समस्त जात-जाति, भाषा-भाषी, क्षेत्रीय र सांस्कृतिक विविधता समेटिएका संगीतका शैलीहरूलाई अब औपचारिक शिक्षाको हिस्सा बनाउँदै इन्डस्ट्रीमा रूपान्तरण गर्न जरुरी छ । नेपाली सबै वाद्यवाद्यहरूलाई संसारभर बजाएर सुनाउनु आवश्यक छ- किनकि ती धुनहरूमा हाम्रो इतिहास, हाम्रो पहिचान, र हाम्रो आत्मा लुकेको छ ।
अब हामीले आफूभित्रको आवाज चिन्नु, त्यसलाई सँभाल्नु र संसारसामु फैलाउनु पर्ने समय आएको छ ।
संगीतमा विद्यावारिधी गरेका रिजाल काठमाडौं विश्वविद्यालयमा संगीत संकायका पूर्वप्रमुख तथा सह-प्राध्यापक हुन् ।
प्रतीक्षा रिजालसँगको कुराकानीमा आधारित ।
ग्राफिक्स : अरुण देवकोटा
प्रतिक्रिया 4