
३१ चैत, दाङ । दाङ देउखुरीको गढवा गाउँपालिकाले शिक्षामन्त्री विद्या भट्टराईलाई पत्र लेखेर आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूको माग सम्बोधन गर्न आग्रह गरेको छ ।
गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आज मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक तथा कर्मचारीहरू राजधानी केन्द्रित आन्दोलनमा हुँदा सम्पूर्ण शैक्षिक कार्यक्रम प्रभावित भएको भन्दै न्यायोचित माग सम्बोधन गरी काममा फर्किने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।
शिक्षकहरूका मागप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिका अध्यक्ष पोख्रेलले भनेका छन्, ‘संविधानद्वारा स्थानीय तहलाई प्रत्याभूत गरिएका शिक्षा सम्बन्धी अधिकारको प्रतिकूल नहुने गरी अविलम्ब संघीय शिक्षा ऐन जारी गर्न र शिक्षकहरूका न्यायोचित मागहरूलाई सम्बोधन गरी उच्च मनोबलका साथ कार्य क्षेत्रमा फर्कने वातावरण सिर्जना गर्न नेपाल सरकारसँग हार्दिक अनुरोध गर्दछु ।’
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरु २० चैतदेखि अनिश्चितकालीन राजधानी केन्द्रित आन्दोलनमा सहभागी छन् ।
उनीहरुको आन्दोलनका कारण वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा विश्लेषण, नयाँ शैक्षिकसत्रको सुरुवातसँगै गर्नुपर्ने विद्यालय भर्ना, घरदैलो कार्यक्रम, शैक्षिक योजना निर्माण लगायतका महत्त्वपूर्ण कार्यहरू प्रभावित भएका छन् ।
यसअघि दाङ देउखुरीकै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पनि शिक्षक कर्मचारीका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूका माग पूरा गर्न शिक्षा मन्त्री भट्टराईलाई पत्राचार गरेका थिए ।
प्रतिक्रिया 4