
काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘पिताम्बर’ले नेपाल र अस्ट्रेलियामा पहिलो दिन ‘उत्साहजनक ओपनिङ’ गरेको छ । चलचित्र विकास बोर्डको बक्सअफिसमा फिल्मले दोस्रो दिन शनिबार अपरान्हसम्म १ करोड रुपैयाँ ग्रस कमाएको देखिएको थियो ।
शनिबारको बेलुकी र रात्रीकालिन शो जोड्दा फिल्मको कलेक्सन त्योभन्दा माथि हुनसक्ने अनुमान छ । यद्यपि, यसबारे औपचारिक आँकडा आउन बाँकी छ । विशेषगरि, शनिबार फिल्मको देशब्यापी अकुपेन्सी उत्साहजनक देखिएको निर्माताले जनाएका छन् ।
काठमाडौंसहित मुख्य सहरका मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी शनिबार उत्कृष्ट देखिएको जनाइएको छ । क्यूएफएक्सको भक्तपुर, लाबिम लगायतका हलमा कृषा चौलागाईं निर्देशित फिल्मको अकुपेन्सी शतप्रतिशत देखियो ।
फिल्मले नेपाली नयाँवर्ष २०८२ को पहिलो दिनको सार्वजनिक बिदामा पनि राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।
अस्ट्रेलियामा पनि उत्साहजनक
नेपाली फिल्मको ठूलो अन्तर्राष्ट्रिय बजारमध्येको अस्ट्रेलियामा फिल्मले उत्साहजनक ओपनिङ गरेको विवरण प्राप्त भएको छ । फिल्मले शनिबार र आइतबार पनि राम्रो ब्यापार गरेको जनाइएको छ ।
फिल्मको अष्ट्रेलियाको वितरण अधिकार किनेको नमस्ते इन्टरटेनमेन्ट र रगडेल ब्वायजले जानकारी दिएअनुसार अष्ट्रेलियामा यो फिल्मको एक्सन मन पराइएको छ । नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज भएको यो फिल्मले पहिलो दिनमा शुक्रबार १०० भन्दा धेरै शो पाएको थियो ।
अष्ट्रेलियामा यो फिल्म बक्सअफिस रिलिज गरिएको हो । प्राईभेट शोको अनुपातमा बक्सअफिस रिलिज गर्दा दर्शकलाई टिकटको मूल्य कम पर्नाले पनि अष्ट्रेलियामा नेपाली फिल्मको बक्सअफिस रिलिजप्रति दर्शकहरूको सहभागिता बढी हुने गरेको पाइएको छ । अष्ट्रेलियामा सोमबारबाट फिल्म पिताम्बरका शो थपिने जानकारी वितरकले दिएका छन् ।
फिल्मले स्थानीय होयट्स, इभेन्टस, रिडिंग ,भिलेज र लाईम लाईट लगायतका हलहरूमा शो पाएको छ ।
फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।
प्रतिक्रिया 4