
काठमाडौं । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ प्रोजेक्ट ‘कोशेढुंगा’ कस्तो बन्ला भन्ने चासो सबैलाई छ ।
यही चासोलाई सम्बोधन गर्दै निर्माताले दर्शकीय अपेक्षालाई यो फिल्मले पुरा गर्ने बताएका छन् । निर्माता दिनेश खड्काले कथा र छायांकनमा भइरहेको मिहेनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको बताए ।
‘अहिले जुन हिसाबले काम भइरहेको छ यसबाट हामीले सोचेभन्दा राम्रो भइरहेको छ । अहिलेसम्मको काम हेर्दा आउटपुट पनि राम्रो आउनेमा हामी ढुक्क छौँ’ खड्काले भने, ‘फिल्मको अनलाइन सम्पादनको काम सेटमै भइरहेको छ, जसमा सबै कलाकार र प्रविधिकको मिहेनत देख्दा दर्शकलाई केही खास हुनेछ भन्ने हामी सेटबाटै भन्न सक्छौँ ।’
खड्काले स्याङ्जाको स्थानीय तह, वडा र पालिकाबाट पाएको सहयोगले पनि छायांकन सहज र प्रभावकारी भएको बताए ।
‘पूर्णबहादुरको सारङ्गीले नेपाली बक्सअफिसमा करिब ४७ करोडको ऐतिहासिक व्यापार गर्दै पौडेललाई नेपाली सिने क्षेत्रमा नयाँ उचाइमा पुर्याएको छ’ निर्देशकबारे खड्काले भने, ‘दर्शकको माया र अपेक्षालाई बुझेर कोशेढुंगामा पनि त्यसअनुसारको काम गरिरहेका छौँ । हामी कुनै पनि हालतमा दर्शकलाई निराश बनाउने छैनौं ।’
निर्माण घोषणादेखि नै दर्शकमाझ उत्सुकता र अपेक्षा दुवै बढाएको यो चलचित्रको छायांकन स्याङ्जाका विभिन्न स्थानमा पछिल्लो एक महिनादेखि भइरहको छ । च्यासलस्थित सेटमा करिब एक हप्ता छायांकन गरेर बाँकी छायांकनका लागि निर्माण टिम स्याङ्जा गएको थियो ।
निर्माता खड्काका अनुसार अबको एक सातामा सम्पूर्ण छायांकन सकिनेछ । स्याङ्जाको आँधीखोला, त्रिवेणी र सिरुबारी क्षेत्रमा यो फिल्मको छायांकन एक महिनादेखि छायाकंन चलिरहेको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीको अभिनय रहनेछ ।
निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत हुनेछ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।
निर्माण टोलीले ‘कोशेढुंगा’लाई २०८२ सालभित्र रिलिज गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया 4