
३१ चैत, काठमाडौं । भगवान हनुमानको जन्मजयन्तीको अवसरमा शनिबार वीरगञ्जमा निकालिएको शोभायात्रामा दुई समूहबीच झडप भयो ।
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा छपकैया भन्ने स्थानमा पुगेपछि झडपमा परिणत भएको थियो । दिउँसो ४:५० बजेतिर भएको झडपमा परेर नेपाल प्रहरीतर्फ १७ जना र सशस्त्र प्रहरी बलका ८ जना गरी २५ सुरक्षाकर्मी घाइते भए । झडपमा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रको हातमा चोट लाग्यो भने एक प्रहरी निरीक्षकको दाँत नै भाँचियो । ८ जना प्रदर्शनकारी पनि घाइते भए ।
घटनाबारे आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले घाइतेहरूको विवरण सार्वजनिक गर्दै अत्यधिक सुरक्षा संवेदनशीलतामा ध्यान दिएको दाबी गरे । केही घाइतेहरू अहिले पनि अस्पतालमा उपचाररत छन् ।
अवस्था तनावग्रस्त बनेपछि प्रशासनले आइतबार साँझ साढे ६ बजेबाट सोमबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी भएको थियो । प्रशासनले पूर्वमा भेडियाही चोक–वीरगञ्ज महानगरपालिका–१५, पश्चिममा सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५, उत्तरमा गण्डक चोक–वीरगञ्ज महानगरपालिका–१५ र दक्षिणमा शंकराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ लाई तोकेर कर्फ्यू लगाएको थियो ।
कर्फ्यू लागेपछि सडकमा सेना समेत निस्किएको थियो । तर आइतबार दिउँसो १२ बजेसम्म पनि घटना मत्थर हुने अवस्था देखिएन । त्यसपछि प्रशासनले फेरि आइतबार राति १२ बजेसम्मलाई तोक्दै कर्फ्यू बढाएको छ । यही बीचमा सीडीओ अर्याललले दुई पक्षलाई छलफलमा समेत बोलाए । प्रशासन कार्यालयमा बसेको छलफल पनि समाधान्मुखतर्फ देखिए । शनिबारदेखि उग्र बनेको वीरगञ्ज अहिले पनि तनावग्रस्त छ ।
दुई समुदायको शक्ति प्रदर्शन नै झडपको मुख्य कारण
हुनमान शोभायात्राका क्रममा वीरगञ्जमा हरेक वर्ष तनाव हुँदै आएको छ । गत वर्ष प्रहरीले सहजै स्थिति नियन्त्रणमा लिएको थियो भने त्यो भन्दा अघिल्लो वर्ष पनि कर्फ्यू लगाउनु परेको थियो ।
शोभायात्रा झडप मुख्य दुई फरक समुदायको शक्ति प्रदर्शनसँग जोडिएको वीरगञ्जका स्थानीय तथा जानकारहरू बताउँछन् ।
हिन्दू समुदायले हनुमान जयन्तीको अवसरमा शोभायात्रा गर्दै आएको छ । शनिबार पनि पूर्वनिर्धारित कार्यक्रम अनुसार वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाहरूबाट र्याली निस्केर घण्टाघरमा जम्मा भएको थियो ।
पर्साका डीएसपी किशोर लम्सालका अनुसार १५–२० वटा गाडीमा हनुमानको पोस्टर बनाएर डिजे बजाउँदै शोभायात्रा घण्टाघरबाट अघि बढेको थियो । उनका अनुसार करिब ६ हजारको हाराहारीमा यात्रामा मान्छेहरू सहभागी थिए ।
शोभायात्रा घण्टाघरबाट औपचारिक रूपमा अघि बढ्दै छपकैया, इदगाह चोक हुँदै भन्सार गेट नजिक पुगेर पुनः घण्टाघर आएपछि समापन हुन्छ ।
अन्यत्र सामान्य अवस्थामा शोभायात्रा भए पनि छपकैया, इदगाह चोक पुगेपछि भने हरेक वर्ष तनाव उत्पन्न हुने गरेको प्रशासनको बुझाइ छ । शनिबार पनि यहीँ पुगेपछि झडपको स्थिति बनेको थियो । छपकैया र इदगाह चोक मुस्लिम समुदायको बाहुल्य रहेका क्षेत्र हुन् । जहाँ मस्जिद, मदरसा लगायत धार्मिक स्थलहरू पनि छन् ।
धुलो उडाउँदै, डिजे बजाउँदै मस्जिद र मदरसा अघिबाट शोभायात्रा आएपछि अर्को समुदायले हेपिएको महसुस गर्ने र केही उच्छृङ्खल गतिविधि र अभिव्यक्ति समेत दुवै पक्षबाट निस्कने गरेको बुझाइ प्रहरीको छ । जसका कारण दुवै समुदायबीच झडपको अवस्था सिर्जना हुने गरेको बुझाइ प्रहरीको छ ।
शनिबारको झडपबारे पनि दुवै पक्षले आ–आफ्नो दाबी गरेका छन् । कसले पहिलो ढुंगा हान्यो भन्ने विवाद अहिले पनि दुई समुदायबीच छँदैछ ।
कसरी घाइते भए सुरक्षाकर्मी ?
शनिबार हुने शोभायात्राबारे पूर्व जानकारी गएर सोही अनुसारको तयारी गरिएको थियो । शोभायात्राका लागि भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर करिब १ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको दाबी प्रशासनको छ ।
शोभायात्राको रुटबारे समेत प्रशासनले अनुमति दिइसकेपछि सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएर काम गरिएको सुरक्षाकर्मीको भनाइ छ । दुई समुदायबीच हुनसक्ने झडपलाई केन्द्रित गरेर एसपी र आफू स्वयं मैदानमै खटिएको सीडीओ अर्यालले पत्रकार सम्मेलनमा बताएका थिए । यति हुँदाहुँदै पनि ठूलो मात्रामा सुरक्षाकर्मी घाइते भए ।
यता प्रहरीले भने दुई समुदायबीच झडपको स्थिति आएपछि ठूलो क्षति हुन नदिन बीचमा सुरक्षाकर्मी बसेर नियन्त्रणको प्रयास गर्दा घाइते हुने अवस्था आएको प्रहरीको भनाइ छ ।
सीडीओ अर्यालले भने यसबारे भनेका छन्, ‘परिस्थिति काबुबाट बाहिर जान थालेपछि हामीसँग दुई वटा विकल्प थिए-कि भीडबाट कुटाइ खाने कि बल प्रयोग गर्ने ।’
दुई समुदायलाई भेट हुन नदिने सुरक्षाकर्मीबीचमा बसेर काम गर्दा केही घाइते हुने अवस्था आएको बताइएको छ । त्यति हुँद पनि स्थिति नियन्त्रणमा नआएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए । स्थिति नियन्त्रण लिन नेपाल प्रहरीले ७० र सशस्त्र प्रहरीले ७५ गरी १४५ राउन्ड अश्रु ग्यास समेत प्रहार गरिएको थियो । केही ब्ल्यांक राउन्ड समेत चलाएको प्रहरीले २ राउन्ड हवाई फायर समेत गरेको थियो । त्यति हुँदा समेत स्थिति नियन्त्रणमा नआएपछि कर्फ्यू आदेश जारी गरिएको थियो ।
हिन्दू अगुवा भन्छन्– यथार्थ छानबिन होस्
प्रशासनले नै हामीलाई शोभायात्राको रुट समेत तोकेको थियो । पूर्वघोषित कार्यक्रम अनुसार हिन्दू समाजबाट शोभायात्रा निकालिएको थियो । बृहत्तर उपस्थितमा जम्मा भएर शोभायात्रा आफ्नै रुटमा जाँदै गर्दा यो घटना भयो ।
आफ्नो रुटमा शोभायात्रा गइरहेका बेला छपकैयामा रहेको सूर्या हस्पिटल पार गर्ने बित्तिकै श्रीराम हलको नजिक पुगेपछि हाम्रो यात्रामा ढुंगामुढा भयो । जुन निकै अप्रत्यासित थियो ।
के हामीले हाम्रो धर्म रिति–रिवाज संस्कृति अनुसारको परम्परा मनाउन पाउँदैनौं ? कि त संविधानिले सुनिश्चित गरेको अधिकारलाई खारेज गर्नु पर्यो । होइन भने शान्तिपूर्ण कार्यक्रम गर्न पाउनु पर्यो । शोभायात्रामा प्रहरीले ड्रोन क्यामेरा समेत उडाएको थियो । त्यो क्यामेराको भिडिओ सार्वजनिक गरेर यर्थाथ विवरण बाहिर आइहाल्छ । म त्यो सार्वजनिक गर्न प्रहरी प्रशासनलाई आग्रह गर्दछु ।
पूर्वयोजनाअनुसार नै आक्रमण भएजस्तो लाग्छ । यसको यथार्थ छानबिन गरेर सार्वजनिक गर्न माग गदर्छु ।
मुस्लिम अगुवा भन्छन्– दोषीलाई कारबाही होस्
शोभायात्राको र्यालीमा डिजे पनि बजेको थियो । मुस्लिम समुदायमा आइपुगेपछि डिजे झनै चर्कियो । सोही क्रममा दुई समुदायबीच झडपको स्थिति बन्यो ।
दुवै पक्षबाट ढुंगामुढा प्रहार भएका छन् । केही पसलमा क्षति समेत भएको छ । जे भए पनि ठूलो अप्रिय घटना हुनबाट जोगियो । अबलाई छलफलबाट टुंग्याउनुको विकल्प छैन । छानबिन गरेर जुन समुदायको भए पनि दोषीलाई कारबाही गर्नु पर्यो ।
छलफलमा पनि हामीले त्यही कुरा राखेका छौं । ड्रोन र सीसीक्यामेरा हेरेर आक्रमण र ढुंगामुढामा उत्रनेहरूलाई कारबाही हुनुपर्छ ।
प्रतिक्रिया 4