
३१ चैत, काठमाडौं । यूएईका यायिन किरन राईले अविजित शतक बनाएपनि वर्षा र खराब प्रकाशका कारण ओभर पूरा हुन नसक्दा नेपालले यूएईमाथि जित निकालेको छ ।
नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाउँदा हल्का वर्षा र प्रकाश कम भएपछि खेल रोकिएको थियो। त्यसपछि केहीबेर खेलाडीहरू मैदानमै कुरिरहेका थिए र अन्त्यमा अम्पायरले खेल अगाडि नबढाउने निर्णय गरे ।
त्यसबेला डीएल पद्दति अनुसार पार स्कोर १७६ थियो जसको मतलब नेपाल ५ रनले अघि रहेको थियो । त्यसअघिको ओभरमा यूएई २ रनले अगाडि रहँदा नेपालले विकेट लिएपछि नेपाल अघि आएको हो ।
यूएईका यायिन १०४ रनमा अविजित रहँदै यूएईको जित सम्भव बनाइरहेका थिए । मुहम्मद रयनले ३५ रन बनाए ।
नेपालका सन्तोष यादव र अशोक धामीले २(२ विकेट लिँदा अभिषेक तिवारी र नरेन भट्टले १(१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कप्तान नरेन भट्टको अर्धशतकमा यूएईलाई २०१ रनको लक्ष्य दिएको थियो ।
४० ओभरमा घटाइएको खेलमा नेपालले ९ विकेट गुमाएर २०० रन बनायो । कप्तान नरेनले ६७ रन बनाए । ७५ बल खेलेका उनले ७ चौका प्रहार गरे । दिलसाद अलीले ३४ तथा साहिल पटेलले ३२ रन बनाए ।
यूएईका उदिस सुरीले ८ ओभरमा २६ रन दिएर ३ विकेट लिए । युग शर्मा र शालोम डिसुजाले २(२ तथा अलीअस्घर शुम्स र करण धिमानले १(१ विकेट लिए ।
नरेनले ६१ बलमा ६ चौकासहित अर्धशतक बनाएका हुन् । ओपनर साहिल पटेलले ३२ रन बनाए ।
आजै माथिल्लो मुलपानीमा भएको अर्को खेलमा अफगानिस्तानले ओमानलाई हराएर विजयी सुरुवात गरिसकेको छ ।
नेपालले भोलि ओमानसँग खेल्ने छ ।
प्रतिक्रिया 4