+
+
Shares

एफडीआई स्वीकृतिमा उच्च वृद्धि, ९ महिनामा ५८ अर्ब

यस वर्ष चैत मसान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार ५ सय रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते २०:१२

३१ चैत, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृतिमा उच्च वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) अवधिमा ५८ अर्ब हाराहारी एफडीआई स्वीकृत भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा २७ अर्ब ८८ करोडले धेरै हो ।

यस वर्ष चैत मसान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार ५ सय रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । अघिल्लो वर्ष चैत मसान्तसम्म ३० अर्ब ९ करोड ९५ लाख १७ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको उद्योग विभागको तथ्यांक छ ।

विभागका अनुसार चैत मसान्तसम्म ‘अप्रुभल रुट’ बाट ५५ अर्ब ७ करोड रुपैयाँ र ‘अटोमेटिक रुट’ बाट २ अर्ब ८९ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।

चैत २०८१ मा मात्र १३ अर्ब १७ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । गत वर्ष चैतमा ९६ करोड रुपैयाँ बराबर मात्र एफडीआई स्वीकृत भएको विभागको तथ्यांक छ ।

तथ्यांक अनुसार यस वर्ष ९ महिनामा कुल ४ सय ८० उद्योग दर्ता भएका छन् । तीमध्ये चैतमा मात्र ५३ उद्योग दर्ता भएको देखिएको छ । तीमध्ये अटोमेटिक रुटबाट २ सय २४ उद्योग दर्ता भएको आँकडा छ । यस वर्ष फागुन र चैतमा अधिक एफडीआई भित्रिएको तथ्यांक छ ।

साना उद्योगमा लगानी आकर्षण

यस वर्ष एफडीआई स्वीकृतिको ट्रेन्ड हेर्दा साना उद्योगमा लगानी केन्द्रित देखिन्छ । चैत मसान्तसम्म कुल ४ सय ६८ साना उद्योग दर्ता भएका छन् ।

मध्यमस्तरीय उद्योग ८ वटा दर्ता भएको देखिएको छ । ठूला उद्योग भने ४ वटा मात्र दर्ता भएको विभागले जनाएको छ । चैतमा दर्ता भएका सबै ५३ उद्योग साना प्रकृतिका छन् ।

पर्यटन र सूचना प्रविधिमा लगानी केन्द्रित

एफडीआई स्वीकृत भएका उद्योगमध्ये लगानी पर्यटन क्षेत्र र सूचना प्रविधि क्षेत्रमा अधिक केन्द्रित देखिएको छ । उद्योग विभागका अनुसार पर्यटनसँग सम्बन्धित १ सय ८९ उद्योग दर्ता भएका छन् । जुन कुल दर्ता उद्योगको ३९ प्रतिशत हो ।

त्यस्तै सूचना प्रविधि (आईटी) सँग सम्बन्धित १ सय ८५ उद्योग दर्ता छन् । जुन ३९ प्रतिशत हो । यसबाहेक सेवा क्षेत्रमा ६३ उद्योग दर्ता भएको देखिन्छ । यो १३ प्रतिशत हिस्सा हो । उत्पादनसँग सम्बन्धित ३४ उद्योग दर्ता भएका छन् । यो ७ प्रतिशत हो । यसबाहेक कृषिमा ७, ऊर्जा १ र पूर्वाधारमा १ उद्योग दर्ता भएको विभागले जनाएको छ ।

रकमका हिसाबले हेर्दा सबैभन्दा धेरै सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड र पर्यटनमा १८ अर्ब ३८ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता रहेको समेत देखिएको छ ।

आईटीमा संख्यात्मक रूपमा धेरै उद्योग दर्ता देखिए पनि लगानी प्रतिबद्धता भने १ अर्ब ११ करोड रुपैयाँमात्र रहेको देखिन्छ । यस वर्ष बिजनेस भिसा लिनेको संख्यामा समेत बढोत्तरी भएको देखिन्छ ।

चैतसम्म अघिल्लो वर्ष १ हजार ७ सय २० जनाले बिजनेस भिसा लिएकोमा यस वर्ष २ हजार ५ सय ५५ जनाले यस्तो भिसा लिएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?