
वार्षिक पात्रो फेरिएसँगै हामी जीवनमा पनि नयाँपनको खोजी गर्छौं । अबको वर्ष यसो गर्छु, यसो गर्दिन भन्दै प्रण गर्छौं ।
यो एक बहाना पनि हो, जीवनलाई फरक ढंगले सोच्ने र बाँच्न अभ्यास गर्ने ।
उसो त हामी दिनदिनै त्यही प्रश्न गरिरहेका हुन्छौं, ‘जिन्दगीलाई कस्तो बनाउने ? कसरी बाँच्ने ?’ यसमा आ–आफ्नै सोच र शैली हुन्छन् । यसका लागि धेरै ठूलो काम गर्नुपर्छ भन्ने पनि छैन । स–सना कुरामा सुधार गर्न सकिए पनि जीवनलाई सहज एवं सुन्दर बनाउन सकिन्छ ।
१. सूर्यास्तपछि खाना खाने बानी त्याग्नेछु
स्वास्थ्यलाई प्राथमिकता दिँदै सूर्य अस्ताएपछि खाना खाने बानी त्याग्ने संकल्प नयाँवर्षको राम्रो सुरुवात हुनसक्छ । किनकी रातको समयमा अन्य अंग जस्तै पाचन प्रणाली पनि विश्रामको मोडमा हुन्छ । यसको अर्थ पाचनले सुस्त काम गर्छ । यस्तोमा अवेर खाएको खानेकुराले पाचनमा समस्या ल्याउने, निद्रा विथोल्ने र भोलिपल्टसम्म दिमाग भारी बनाउँछ ।
जसकारण सूर्यास्त हुनुअघि नै खाना खाइसक्नु उचित हुन्छ । हाम्रो अग्रज, पूर्वीय दर्शनले मात्र होइन, विज्ञानले पनि यही भन्छ । आयुर्वेदले पनि सूर्यको चक्रसँग तालमेल राखेर चाँडो, हल्का र पौष्टिक खाना खान जोड दिन्छ ।
यद्यपि, यो संकल्प अवेरसम्म काम गर्ने वा सूर्यास्तपछि मात्र अफिसबाट घर फर्किनेलाई त्यति व्यवहारिक नहुनसक्छ । तर सकेसम्म र सम्भव भएसम्म सूर्यास्तअघि खाना खाने अभ्यासको व्यवस्था गर्नु उचित हुन्छ ।
२. राति १० बजेभित्र ओछ्यानमा पुगिसक्छु
शरीर पनि जौविक घडीसँगै चल्ने गर्छ । जसअनुसार शरीर दिनभर सक्रिय भएर उर्जासाथ काम गर्छ । रातको समयमा शरीरले आराम खोज्छ ।जब हामी निदाउँछौं । शरीरले उर्जा भोलीको लागि संचय गर्न थाल्छ ।
यस्तोमा ढिला सुत्दा शरीरको कार्यप्रणालीमा बाधा पुग्छ । जसले विभिन्न स्वास्थ्य समस्या ल्याउन सक्छ । यी समस्या आउन नदिन शरीर उर्जावान राख्न जस्तोसुकै परिस्थितिमा पनि रातको राति १० बजेभित्र ओछ्यानमा पुग्ने संकल्प गर्न सकिन्छ ।
३. बिहान उठ्नसाथ मोबाइल चलाउने छैन
नयाँ वर्षमा बिहानको समयलाई सकारात्मक बनाउन मोबाइल चलाउने बानी त्याग्नु उत्कृष्ट संकल्प हो । बिहान उठ्नासाथ मोबाइल स्क्रिनमा हराउँदा दिमाग तनावग्रस्त हुनसक्छ । किनकी, मोबाइलमा अनेकौं हिंसा, उथलपुथल वा अनुउत्पादक गतिविधि आउँछन् ।
यसले उर्जाशील भएर दिनको सुरुवात गर्नुपर्ने ठाँउमा मुड नै अर्को पारिदिन सक्छ । अर्को भनेको बिहानको समयको पनि वर्वादी हुन्छ । यद्यपि, सूचना लिनुपर्ने वा तत्काल सन्देश हेर्नु पर्ने बाध्यता भएकाहरूलाई यो संकल्प कठिन लाग्न सक्छ । तर, उठेको कम्तीमा पहिलो आधा घण्टा मोबाइल नचलाउने अभ्यासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ ।
४. छोटो दूरीमा गाडी वा बाइक चढ्नेछैन
अधिकांशको बानी साथीभाइलाई नजिकै भेट्न होस् वा सामान किन्न नजिकैको पसल । त्यहाँ सम्म पुग्न गाडी वा बाइक नै लिएर जाने हुन्छ । यसले शारीरिक निष्क्रियता बढाउँछ ।
यदि यस्तै बानी छ भने २०८२ मा छोटो दूरीमा हिँडेर यात्रा गर्ने संकल्प गर्नुहोस् । बरु, अफिस हिँडेरै पुग्ने ठाउँमा छ भने पनि हिँडेरै जानुहोस् । यो संकल्पले स्वास्थ्य र वातावरण दुवैलाई फाइदा पुर्याउँछ ।
हिँडाइले शारीरिक व्यायाम हुन्छ । जसले रक्तसञ्चार सुधार गर्छ । क्यालोरी खपत गराउँछ । वरपरको वातावरणले ताजापन पनि भर्ने गर्छ ।
५. अबोध पशुप्राणीलाई प्रेम र सम्मान गर्नेछु
यो धर्तीमा हामी मात्र अस्तित्वमा छैनौं । हामीसँगै यहाँ पशुप्राणीहरू पनि छन् । मान्छेसँगै पर्यावरणीय चक्रमा उनीहरू पनि समाहित छन् । अतः धर्ती उनीहरूको पनि हो ।
यही सत्यलाई बोध गरेर पशुप्राणीमाथि अत्याचार गर्ने छैन भनी प्रण गर्न सकौं । कति पशुप्राणी सदियौंदेखि मान्छेसँगै घुलमिल भएर बसेका छन् । उनीहरूलाई लखेट्ने, पिट्ने, यातना दिने, सताउने काम नगरौं । यसले सभ्य संसारको निर्माण हुन्छ, जुन संसारमा भोलि हुर्कने हाम्रा छोराछोरीहरू पनि सौहार्दपूर्ण ढंगले जीवनयापन गर्न सक्छन् ।
६. कुराकानी गरिरहेका बेला मोबाइल चलाउँदिन
हेर्दा सामान्य लाग्ने यो पनि राम्रो संकल्प हुनसक्छ । कसैको बानी अगाडिको व्यक्ति कुरा गरिरहेको हुन्छ, आफू चाहिँ मोबाइलमै ध्यान दिएर बस्ने हुनसक्छ ।
जानेर होस् वा अन्जानमा यस्तो बानीले कुराकानीमा त बाधा पुग्छ नै ।
अर्को व्यक्तिलाई पनि अनादर गरेको अनुभव हुनसक्छ । कहिलेकाहीँ महत्वपूर्ण गरेको कुरा पनि छुट्न सक्छ । साथीले महत्त्वपूर्ण सल्लाहको अपेक्षा गरिरहेको अवस्थामा यो चुनौतीपूर्ण हुनसक्छ।
यो संकल्पले संवाद र सम्बन्ध बलियो पार्छ । कुराकानीको समयलाई प्राथमिकता दिनुले जीवनमा सकारात्मकता थप्छ।
७. चिया गफमा समय नष्ट गर्ने छैन
अनावश्यक गफगाफमा समय बर्बाद नगर्ने संकल्पले समयको मूल्य बुझाउँछ । चिया गफले कहिलेकाहीँ तनाव कम गर्छ, तर धेरै समय खेर जाँदा उत्पादकता र लक्ष्यमा बाधा पुग्छ । जति नै चिया गफमा कुरा गरे पनि उपलब्धि केही हासिल हुनेवाला छैन ।
यो संकल्पले समयलाई रचनात्मक कार्य, सिकाइ, वा आत्मविकासमा लगाउन प्रेरित गर्छ । यद्यपि, सामाजिक सम्बन्ध कायम राख्न कहिलेकाहीँ गफगाफ पनि चाहिन्छ, जसलाई सन्तुलन राख्नु महत्त्वपूर्ण हुन्छ ।
८. बोल्ने भन्दा धेरै सुन्ने अभ्यास गर्नेछु
नयाँ वर्षमा धेरै सुन्ने र कम बोल्ने संकल्पले समझदारी र धैर्यको विकास गर्छ । अरूको कुरा ध्यानपूर्वक सुन्दा हामीले नयाँ कुरा सिक्छौं । धरै बोल्नु भन्दा चाहिनेकुरा बोल्नु उपयुक्त हुन्छ ।
यो संकल्प विशेषगरी छलफल वा बहसमा उपयोगी छ । सुन्ने कला अभ्यास गर्नुले व्यक्तित्वमा निखार ल्याउँछ।
९. अनावश्यक साथीहरूको संगत छुटाउनेछु
साथी सबैलाई चाहिन्छ । साथीको जमात हुनु राम्रो पनि हो । तर, नकारात्मक वा अनुत्पादक साथीहरूको संगत छोड्ने संकल्पले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ ।
सही साथीहरूले प्रेरणा र समर्थन दिन्छन्, जबकि अनावश्यक संगतले समय र ऊर्जा खेर फाल्छ ।
यद्यपि, संगत छोड्न सामाजिक दबाब वा भावनात्मक कठिनाइ हुन सक्छ । बिस्तारै दूरी बनाउँदै सकारात्मक व्यक्तिहरूसँग समय बिताउनु उचित हुन्छ।
१०. सामाजिक सञ्जालमा अरूलाई होच्याएर रमाउने छैन
सामाजिक सञ्जालमा अरूलाई होच्याएर रमाउने वा आलोचना गर्ने बानी छोड्नु सकारात्मक संकल्प हो ।नकारात्मक टिप्पणी गर्नु वा त्यसमा मज्जा लिनुको सट्टा प्रेरणादायी र रचनात्मक कुरा साझा गर्नुले आफ्नो र अरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ । यद्यपि, सामाजिक सञ्जालको प्रभावबाट टाढा रहन चुनौतीपूर्ण हुन सक्छ।
प्रतिक्रिया 4