
३१ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक अनुगमन तीव्र पारेको छ । विभागले दैनिक अनुगमन अन्तर्गत आज आइतबार पनि ७ वटा उद्योग तथा फर्म अनुगमन गरेको छ ।
अनुगमन क्रममा विभागले आनन्द ट्रेडर्सलाई २ लाख जरिबाना तिराएको छ । विभागले आज काठमाडौं महानगरपालिका–२२ मा रहेको आनन्द ट्रेडर्सलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) सहित लेबल नलगाई सामान बेचेको भन्दै २ लाख जरिबाना तिराएको हो ।
विभागले उक्त उद्योगबाट उत्पादित सबै वस्तुमा एमआरपी सहित लेबल राखेरमात्र बेच्न निर्देशन दिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २ (क) बमोजिम उक्त फर्मलाई कारबाही गरिएको जनाएको छ ।
यस्तै विभागले आज अनुगमन गरेका विभिन्न ७ कम्पनीमध्ये बूढानीलकण्ठस्थित ट्रियु फार्मेसिया र द स्किन फार्मेसीलाई कस्मेटिक्स तथा न्युट्रास्युटिकल्सका सामग्रीको बिक्री रोक्का गरेको छ ।
विभागले आरके सुज कलेक्सनलाई सामान्य निर्देशन दिएको छ भने मधुगंगा इन्टरप्राइजेज, मित्रलाल पौडेल र सजिलो रेन्टललाई कागजात सहित उपस्थित हुन निर्देशन दिएको छ ।
प्रतिक्रिया 4