+
+
Shares

आज ६ महिलाले गर्नेछन् ११ मिनेटको अन्तरिक्ष यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते ८:०३

१ वैशाख, काठमाडौं । पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता सहित विभिन्न क्षेत्रका ६ महिलाहरूको एउटा समूहले १४ अप्रिल अर्थात् आज वैशाख १ गते ११ मिनेटको अन्तरिक्ष यात्रा गर्ने भएका छन् ।

जेफ बेशोजको कम्पनी ब्लु ओरिजिन आयोजना गरेको यो यात्रामा पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी पूर्वरकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता क्यारियन फ्लिन सामेल छन् । उनीहरूसँगै छैठौं महिला लरेन सान्चेज पनि हुनेछिन् । जेफ बेजोसकी साथी सान्चेजले महिला टोलीको नेतृत्व गर्नेछिन् ।

ब्लु ओरिजिनले एक विज्ञप्तिमा भनेको छ, ‘यो केवल एउटा अन्तरिक्ष मिसन होइन । यो मानिसहरूको सोच बदल्ने र भावी पुस्तालाई प्रेरणा दिने उद्देश्यले गरिएको मिशन हो ।’

कम्पनीका अनुसार यी महिलाहरुले अन्तरिक्षमा रहेको कार्मन रेखा पार गर्नेछन् ।

कार्मन रेखा के हो ?

कार्मन रेखा एउटा काल्पनिक सीमा रेखा हो । यसलाई पृथ्वीको समुद्री सतहबाट १०० किलोमिटर माथिको बिन्दुको रूपमा परिभाषित गरिएको छ । यही बिन्दुबाट पृथ्वी छाडेर अन्तरिक्षको यात्रा सुरु हुन्छ । अर्थात्, यो बिन्दुलाई पृथ्वीको वायुमण्डलको अन्त्य र अन्तरिक्षको सुरुआत मानिन्छ । जो व्यक्ति यो सीमाभन्दा माथि यात्रा गर्छन्, उनीहरूलाई ‘अन्तरिक्ष यात्री’को दर्जा दिइन्छ ।

कार्मन रेखाको निर्धारण फेडेरेसन एरोनोटिक इन्टरनेशनलले गरेको हो । यो उचाइसम्म पुग्नुलाई अन्तरिक्ष सम्बन्धी अनुसन्धानको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।

महिला टोलीले कार्मन सीमामा केही मिनेटसम्म गुरुत्वाकर्षण नहुने अवस्थाको अनुभव गर्नेछन् । यी महिलाहरू अन्तरिक्षबाट पृथ्वीको अद्भुत दृश्यको मजा लिनेछन् र त्यसपछि पृथ्वी फर्कने यात्रामा लाग्नेछन् ।

‘अन्तरिक्ष पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य’

यो यात्रा कुल ११ मिनेटको हुनेछ । उनीहरू ७ मिनेटसम्म रकेटमा यात्रा गर्नेछन् । त्यसक्रममा करिब ४८ किलोमिटरको दूरी पार गरिने छ । रकेटबाट प्रक्षेपित अन्तरिक्ष यान, कार्मन रेखा माथिबाट गुज्रनेछ र फेरि पृथ्वी फर्कनेछ ।

ब्लु ओरिजिन कम्पनीका अनुसार यो मिसनको उद्देश्य मानिसहरुलाई अन्तरिक्ष पर्यटनप्रति आकर्षित गर्नु र त्यसमार्फत नयाँ पर्यटन उद्योग निर्माण गर्नु हो । साथै, यो प्रयासले ‘महिलाको विकास’मा केन्द्रित हुने र भावी पुस्तालाई प्रेरणा दिने बताइएको छ ।

‘न्यु शेपर्ड–३१’ रकेटमार्फत् पठाइने छ अन्तरिक्षमा

महिला टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले ‘न्यु शेपर्ड–३१’ नामको रकेट मार्फत अन्तरिक्षमा पठाउने छ । न्यु शेपर्ड रकेटलाई १४ अप्रिलमा अमेरिका, पश्चिम टेक्सासस्थित कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइनेछ ।

यो यात्रा करिब ११ मिनेट लामो हुनेछ । यसमा रहेको अन्तरिक्ष यान पूर्णरूपमा स्वचालित छ । यसको अर्थ, अन्तरिक्ष यानभित्र यसलाई सञ्चालन गर्ने कोही चालक आवश्यक पर्दैन ।

महिलाहरूको समूहले मात्र अन्तरिक्ष यात्रा गर्न लागेको यो पहिलोपटक भएको बीबीसीले जनाएको छ । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भेलेन्टिना टेरेश्कोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन् ।

यस्तो छ अन्तरिक्ष यात्रा गर्ने महिलाहरूको पृष्ठभूमि

लरेन सान्चेज

लरेन सान्चेज एक लाइसेन्स प्राप्त हेलिकप्टर पाइलट हुन् । उनले सन् २०१६ मा ब्ल्याक अप्स एभिएसनको स्थापना गरेकी थिइन् । उनी बेजोस अर्थ फण्डकी उपाध्यक्ष पनि हुन् । उनी तीन सन्तानकी आमा हुन् ।

आइशा बोवे

आइशा बोवे बहामासकी मूल निवासी हुन् । उनी नासाकी पूर्व रकेट वैज्ञानिक तथा उद्यमी पनि हुन् । उनी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा सक्रिय छन् ।
उनी ‘आइशा स्टेम बोर्ड’ नामक इन्जिनियरिङ कम्पनीकी सीईओ पनि हुन्, जसलाई दुईपटक अमेरिका भित्रको सबैभन्दा छिटो वृद्धि हुने निजी कम्पनीहरूको सूचीमा राखिएको छ ।

उनले ‘लिङ्गो’ नामक कम्पनी पनि स्थापना गरेकी छिन्, जसको उद्देश्य दश लाख विद्यार्थीलाई आवश्यक प्राविधिक सीप सिकाउने हो ।

अमान्डा इन्गुएन

अमान्डा एक बायोस्पेस अनुसन्धान वैज्ञानिक हुन् । हार्वर्डबाट स्नातक उनले हार्वर्ड सेन्टर फर एस्ट्रोफिजिक्स, एमआईटी र नासामा अनुसन्धान गरेकी छन् ।

अमान्डाले सन् १९८१ देखि २०११ सम्म नासाको एक अन्तरिक्ष मिसनमा काम गरेकी थिइन् । यौन हिंसाका पीडितका लागि उनले महत्वपूर्ण काम गरेकी छिन्, जसका लागि उनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको थियो । उनलाई सन् २०२२ मा टाइम म्यागजिनको ‘वुमन अफ द इयर’ अवार्ड पनि दिइएको थियो ।

केटी पेरी

केटी पेरी विश्व चर्चित पप गायिका हुन् । उनका एल्बमहरू सबैभन्दा धेरै बिक्री हुनेहरुको सूचीमा पर्दछन् । उनका गीतहरूलाई ११५ अर्बभन्दा बढी पटक हेरिएको छ ।
उनी मानवतावादी अभियानहरुमा पनि सक्रिय छन् । युनिसेफकी सद्भावना राजदूतको रूपमा उनले सबै बालबालिकाका स्वास्थ्य, शिक्षा, समानता र सुरक्षाको अधिकार सुनिश्चित गर्न आवाज उठाउँदै आएकी छिन् ।

गेल किङ

गेल किङ पत्रकार हुन् । उनी सीबीएस मर्निङ्सको को–होस्ट र ओप्रा डेलीकी सम्पादक हुन् ।

पत्रकारिता क्षेत्रमा लामो अनुभव भएका कारण, उनी अन्तरवार्तामा गहिरो संवाद गर्ने सीपमा माहिर मानिन्छन् ।

क्यारियन फ्लिन

फेशन र मानव संशाधनमा स्नातक गरेकी क्यारियन फ्लिनले पछिल्ला १० वर्षदेखि एलन–स्टिभेन्सन स्कूल, द हाई लाइन र हडसन रिभर पार्कजस्ता गैरनाफामूलक संस्थामा स्वयंसेवकको रूपमा काम गरेकी छन् ।

स्टोरी टेलिङको शक्तिप्रति उत्साहित क्यारियनले अर्थपूर्ण फिल्महरू बनाएकी छन् । तीमध्ये ‘दिस चेन्जेज एभ्रिथिङ’ (२०१८) ले हलिउडमा महिलाहरूको इतिहास खोजेको छ भने ‘लिली’ (२०२४) ले वकिल लिली लेडबेटरको कथा प्रस्तुत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?