
१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै उनले शिक्षकहरूको मागप्रति सरकार किन गम्भीर नभएको भनेर प्रश्न गरेका छन् ।
यस्तो छ, परियारको खुलापत्र
सम्माननीय प्रधानमन्त्रीज्यू
जय नेपाल !
विषय : नेपाल शिक्षक महासंघको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई जोडदार माग गर्दै, खुल्ला–पत्र ।
नेपाल शिक्षक महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा यही चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको व्यहोरा अवगत नै छ । नेपाल शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु । महासंघले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेको छ ।
पार्टीको तर्फबाट अनौपचारिकरूपमा सरकारका सरोकारबाला मन्त्रीहरूसँग बारम्बार छलफल भएको नै छ । तथापी आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।
सोमबारदेखि २०८२ साल प्रारम्भ हुँदैछ । आम नेपाली जनता नयाँ वर्ष आ–आफ्नो तरिकाबाट मनाउँदै छन् तर आम शिक्षक साथीहरू माईतिघरमा आन्दोलन गर्नुपर्ने परिस्थिति सृजना भएको छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
सरकार किन गम्भीर हुँदैन । के शिक्षकको शालिनतालाई कमजोरीकारूपमा त हेरिएको होइन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १–२ दिनभित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरता पूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसँग समेत जोडदार माग रहनेछ ।
जय नेपाल !
जीवन परियार
प्रतिनिधिसभा सदस्य एवं सहमहामन्त्री, नेपाली कांग्रेस ।
प्रतिक्रिया 4