
१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको सुमी सहरमा रूसले गरेको विनाशकारी मिसाइल आक्रमणलाई ‘गल्ती’ भएको बताएका छन्।
उक्त आक्रमणमा कम्तीमा ३४ सर्वसाधारणको ज्यान गएको र १०० भन्दा बढी घाइते भएका थिए।
‘मलाई लाग्छ त्यो निकै भयावह घटना हो । मलाई उनीहरूले गल्ती गरे भनिएको थियो । तर यो निकै डरलाग्दो कुरा हो । मलाई यो सम्पूर्ण युद्ध नै भयावह लाग्छ,’ ट्रम्पले वाशिङ्टन फर्किने क्रममा एअर फोर्स वनमा पत्रकारहरूसँग भने ।
‘गल्ती’ भन्नाले के भन्ने अभिप्राय हो भनेर स्पष्टीकरण माग्दा ट्रम्पले भने, ‘उनीहरूले गल्ती गरे… तपाईंहरूले उनीहरूलाई सोध्नुपर्छ ।’
तर ट्रम्पले त्यो ‘उनीहरू’ भन्नेमा कसको संकेत गरेका हुन् भन्ने खुलाएनन् ।
रूसले आइतबार युक्रेनको सुमी सहरमा दुई वटा इस्कान्दर-एम मिसाइल प्रहार गरेको छ । सार्वजनिक ट्रलीबसमा आक्रमण हुँदा दुई बालबालिकासहित कम्तीमा ३४ जनाको ज्यान गएको छ र १५ बालबालिकासहित ११७ जना घाइते भएका छन् ।
सहरको केन्द्रमा दुई ठूलो विस्फोट हुँदा रगताम्य घाइतेहरू सडकमा ढलेका थिए । भिडियोहरूमा व्यस्त नागरिक क्षेत्रमा आगोको गोलो देखिएको थियो ।
यद्यपि ट्रम्प वा ह्वाइट हाउसले आक्रमणको लागि मस्कोलाई स्पष्ट रूपमा दोष दिएका छैनन् । तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने ‘आज सुमीमा भएको डरलाग्दो रूसको मिसाइल आक्रमणका पीडितप्रति समवेदना’ दिएका छन् ।
‘यस्तो काम त केवल पूर्ण रूपमा विक्षिप्त र नीच मानिसहरूले मात्र गर्न सक्छन्,’ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति एक वक्तव्यमा भनेका छन् ।
अमेरिकी टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा उनले राष्ट्रपति ट्रम्पलाई युक्रेन भ्रमण गर्न आह्वान गरेका छन् । उनले रूसको आक्रमणबाट भएको विनाश नजिकबाट हेर्न र बुझ्न ट्रम्पलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया 4