+
+
Shares

पूर्खाहरूले सूर्यास्त पछि खाना नखानु किन भने ? यस्तो छ पाचन विज्ञान

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १६:०६

हाम्रा पूर्खाहरूले भन्थे, ‘घाम अस्ताएपछि खाना खान हुँदैन ।’ उनीहरूले यसो भनेनन् मात्र अनुसरण पनि गरे । तर पछिल्लो पुस्ताले यो कुरालाई सोझै खारेज गरिदिए । उनीहरूले यसलाई अव्यवहारिक र अन्धविश्वाससँग जोडेर व्याख्या गरे ।

वास्तवमा पूर्खाहरूले घाम अस्ताएपछि खाना खान नहुने तर्क किन गरे ? के यसको वैज्ञानिक आधार छ ?

अहिलेको दुनियाँमा सूर्यास्तपछि खाना खान नहुने तर्क हावादारी लाग्न सक्छ । यद्यपि यो विषयमा शारीरिक र वैज्ञानिक दृष्टिकोणले वहस हुने गरेको छ । खासगरी पूर्वीय संस्कार, आयुर्वेदमा सूर्यास्तपछि भारी भोजन गर्न नहुने सुझाव दिइएको छ । यस सुझावका पछाडि पाचन विज्ञान, शरीरको जैविक घडी जोडिएको छ ।

सुरुमा बुझौं हाम्रो पाचन प्रणालीलाई ।

शरीरको पचाउने प्रक्रिया कस्तो हुन्छ ?

पाचन प्रक्रिया मानव शरीरको जटिल र उर्जा खपत गर्ने प्रणाली हो । जब हामी खाना खान्छौँ त्यो पेट, सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै गुज्रन्छन् । यसक्रममा पित्तथैली, प्यान्क्रियाजले विभिन्न रसायन र इन्जाइमरू मिसाएर खानालाई पोषक तत्वमा परिणत गर्छ ।

वैज्ञानिक अध्ययनहरूले देखाएको छ-हाम्रो पाचन प्रणाली दिनको समयमा बढी सक्रिया हुन्छ । बिहान र दिउँसोको समयमा पाचन इन्जाइमहरूको उत्पादन र गतिविधि उच्च हुन्छ । र, जब साँझ पर्दै जान्छ तब शरीरको मेटाबोलिज्म अर्थात पचाउने क्षमता र प्रक्रिया सुस्त हुन थाल्छ । किनभने साँझ परेपछिको समय शरीरले विश्राम खोज्छ ।

सूर्यास्तपछि भारी खानेकुरा खाँदा पाचन प्रणालीमा अतिरिक्त दबाब पर्छ । खासगरी कार्बोहाइड्रेट र चिल्लोयुक्त खानेकुरा पचाउन गाह्रो हुन्छ । उदाहरणका लागि, रातको समयमा इन्सुलिन संवेदनशिलता कम हुन्छ, जसले रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्न कठिन हुन्छ ।

एक अध्ययन अनुसार रातको ८ बजेपछि खाना खाने व्यक्तिहरूमा मोटोपना र मधुमेहको जोखिम उच्च हुन्छ । किनभने शरीरले रातको समयमा ग्लुकोजलाई प्रभावकारी रुपले प्रशोधन गर्न सक्दैन ।

साथै सूर्योस्तपछि खाना खाँदा पेटको अम्लता र पाचन रसको सन्तुलनमा असर पर्न सक्छ । यसैले राति खानेकुरा खाँदा अपच, ग्याष्ट्रिक, पेट फुल्ने समस्या देखिन सक्छ । यस अवस्थाले निद्राको गुणस्तरमा पनि ह्रास ल्याउँछ, किनभने पाचन प्रक्रियाले शरीरलाई पूर्णविश्राम लिनबाट रोक्छ ।

अब बुझौँ रात र दिनले शरीर अझ भनौं पाचन प्रक्रियालाई किन फरक पारेको हो ? यसको जवाफ खोज्न जैविक घडीबारे बुझ्न जरुरी हुन्छ ।

जैविक घडी र शरीर विज्ञान

हाम्रो शरीरले हरेक क्षण उस्तै र उसैगरी काम गर्न सक्दैन । त्यसो हुँदो हो त रातको समयमा पनि हामी जागा रहन सक्थ्यौँ । वा आफूलाई इच्छा नलागेसम्म नसुती बस्न सक्थ्यौं ।

तर, शरीर प्रक्रिया हाम्रो मनबाट नियन्त्रित हुँदैन । यो दिन र रातको प्रक्रियासँगै लयबद्ध चक्रमा हुन्छ । जस्तो बिहान उठ्नसाथ हामी उर्जा महसुस गर्छौ भने दिन ढल्कँदै गएपछि सुस्त र थकान महसुस हुन्छ । रात परेपछि निद्रा लाग्न थाल्छ ।

मानव शरीरको जैविक घडी सूर्यको उदय र अस्तसँग जोडिएको छ । यो घडीले हाम्रो हर्मोन, मेटाबोलिज्म र पाचन प्रणालीलाई नियन्त्रण गर्छ । सूर्यास्तपछि मेटालोनिन हर्मोनको उत्पादन बढ्छ, जसले शरीरलाई निद्रा लगाउँछ । यो समयमा शरीरको उर्जा पाचनमा भन्दा कोशिका मर्मत, प्रतिरक्षा प्रणालीको सदृढीकरण र मानसिक विश्राममा केन्द्रित हुन्छ ।

जब हामी सूर्यास्तपछि भारी खाना खान्छौँ, तब पाचन प्रक्रियाले मेलाटोनिको प्रभावलाई कम गर्छ र निद्राको चक्रमा अवरोध उत्पन्न हुन्छ । रातको समयमा आन्द्राको गति सुस्त हुने भएकाले पचाउनमा बढी समय लाग्छ ।

के भन्छ आयुर्वेद ?

आयुर्वेदले सूर्यास्तपछि खाना खाने कुरालाई निरुत्साहित गरेको छ । आयुर्वेदले मानव शरीरलाई प्रकृतिसँग जोडेर हेर्छ र दिनको समयलाई तीन दोषहरू वात, पित्त र कफसँग जोड्छ ।

सूर्यास्तपछि कफ दोषको प्रभाव बढ्छ, जसले शरीरलाई भारी, सुस्त र निस्क्रिय बनाउँछ । आयुर्वेदमा सूर्यास्तलाई सन्यकाल मान्छ, जुन ध्यान, प्रार्थना र मानसिक शान्तिका लागि उपयुक्त समयमा हो । यो समयमा भारी खाना खान नहुने बताइन्छ ।

आयुर्वेद र आधुनिक विज्ञान दुवैले सूर्यास्तभन्दा अगाडि नै खाना खानु उपयुक्त हुने निचोड निकालेको छ । स्वस्थ्य जीवनशैलीका लागि यो एक अनुशासित खानपानको तालिकाभित्र पर्ने कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?