+
+
Shares

मेला–महोत्सवले जगाउँदैछन् पर्यटन र अर्थतन्त्र

नयाँ वर्षकै अवसर पारेर देशैभरि विभिन्न मेला–महोत्सव आयोजना भइरहेका छन् । यसले पर्यटन गतिविधि र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ वैशाख १ गते २१:४०
पोखरामा आयोजित बेलुन महोत्सव/फाइल तस्वीर

१ वैशाख, काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले सोमबार नयाँ वर्षको दिन सामाजिक सञ्जाल फेसबुकमा फोटो राखेर पोस्ट गरिन्, ‘आज नयाँ वर्षको अवसरमा भोजपुरको साल्पासिलिछो गाउँपालिका चौकीडाँडामा हुने सांस्कृतिक कार्यक्रममा मेरो सांगीतिक प्रस्तुति रहने छ, पायक पर्ने सबैजना आउनुहोला है !’

नयाँ वर्ष २०८२ का अवसरमा आयोजना गरिएको कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन उनी त्यहाँ पुगेकी हुन् ।

नयाँ वर्षकै अवसर पारेर देशैभरि विभिन्न मेला–महोत्सव आयोजना भइरहेका छन् । यसले पर्यटन गतिविधि र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ ।

स्थानीय खाना, स्थानीय उत्पादन प्रवर्द्धन गर्दै पर्यटन उद्योग चलायमान बनाउन यस्ता मेला–महोत्सवको योगदान उल्लेख्य हुने गरेको छ । स्वदेशी पर्यटक यस्ता गतिविधिमा बढी सहभागी हुने गरेका छन् ।

आर्थिक गतिविधि बढाउन स्थानीय स्तरमा आयोजना हुने मेला–महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको पाइन्छ । यस्ता मेला–महोत्सवमा ठाउँ अनुसार लाखौंदेखि करोडौं रुपैयाँ बराबरको कारोबार हुने गरेको छ ।

स्थानीय खाना, स्थानीय उत्पादन प्रवर्द्धन गर्दै पर्यटन उद्योग चलायमान बनाउन यस्ता मेला–महोत्सवको योगदान उल्लेख्य हुने गरेको छ । स्वदेशी पर्यटक यस्ता गतिविधिमा बढी सहभागी हुने गरेका छन् ।

नयाँ वर्षको अवसरमा अधिकांश पर्यटन गन्तव्यमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढेको होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए ।

उनका अनुसार देशभरिका होटलमा न्यूनतम ४० प्रतिशतदेखि कुनै ठाउँमा शतप्रतिशतसम्म ‘अकुपेन्सी’ पुगेको छ ।

‘अहिले आन्तरिक पर्यटकहरूको चहलपहल धेरै राम्रो छ,’ अध्यक्ष शाहले अनलाइनखबरसँग भने, ‘काठमाडौं लगायत देशैभरि नयाँ वर्ष लक्षित विभिन्न मेला–महोत्सव चलिरहेका छन् । यसले पर्यटनलाई थप चलायमान बनाएको छ । अन्तर्राष्ट्रिय पर्यटक भने सामान्य नै छन् ।’

पर्यटन राजधानी पोखरामा भने भारतीय पर्यटकको चहलपहल अलि बढी देखिएको उनी बताउँछन् । ‘अहिले मौसमले पनि साथ दिएको छ,’ उनले भने, ‘विदेशी पर्यटक नेपाल आउन समस्या पारेको महँगो टिकटले हो । फ्लाइट फ्रिक्वेन्सी धेरै नभएको हुँदा र हवाई खर्च नै ६० देखि ६५ प्रतिशत हुँदा पनि अलि समस्या परेको छ ।’

देशका प्रमुख पर्यटन गन्तव्य पोखरा, बन्दीपुर, लुम्बिनी, चितवन, सौराहा, पाथीभरा, इलाम, तीनजुरे, धरान, भेडेटार, सगरमाथा आधारशिविर लगायतमा आन्तरिक तथा वाह्य पर्यटक पुगेका छन् ।

त्यस्तै काठमाडौं उपत्यका नजिकैका पर्यटन गन्तव्य कालिञ्चोक, चरिकोट, शैलुङ, जिरी, पाँचपोखरी, हेलम्बु, पनौती, पलाञ्चोक भगवतीमा पनि पर्यटक चहलपहल बढ्दो छ ।

नयाँ वर्ष मनाउन पोखरामा आन्तरिक तथा वाह्य पर्यटक ठूलो मात्रामा पोखरा भित्रिएपछि पोखराका होटल भरिभराउ भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने बताउँछन् ।

उपत्यकाका नगरकोट, धुलिखेल, लाकुरीभञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, कुुलेखानी, चित्लाङ, शिवपुरी, ककनी, जर्सिङपौवा लगायत पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको भीडभाड रहेको हान अध्यक्ष शाह बताउँछन् ।

नयाँ वर्षको अवसरमा पर्यटन राजधानी पोखराको पर्यटन पनि चलायमान बनेको छ । नयाँ वर्ष मनाउन पोखरामा आन्तरिक तथा वाह्य पर्यटक ठूलो मात्रामा पोखरा भित्रिएपछि पोखराका होटल भरिभराउ भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने बताउँछन् ।

‘पोखरामा सबैभन्दा ठूलो इभेन्ट फेवा महोत्सव आयोजना हुँदा यसले पोखराको पर्यटन चलायमान नै बनाएको छ,’ उनी भन्छन्, ‘यहाँका होटलहरूले पनि पर्यटक आकर्षित गर्न विभिन्न प्याकेजसँगै छुट अफर पनि ल्याएका हुँदा चहलपहल बढी छ ।’

२५औं पोखरा सडक महोत्सव कार्यक्रम उदघाटन अघि निकालिएको शोभा यात्रा । 

उनका अनुसार त्यहाँका होटलहरूले ‘पब्लिक ट्यारिफ’ मा १० प्रतिशत छुट दिएका छन् । सडकमा पनि साना ठूला इभेन्टहरूले थप रौनक थपेको छ । होटलहरूले आफ्नै विभिन्न इभेन्ट सञ्चालन गरिरहेका छन् ।

‘यहाँको होटल संघले जानकारी दिए अनुसार ठूला होटलहरू सबै प्याक छन्, अन्य होटलमा पनि पोहोरभन्दा एकदम राम्रो अकुपेन्सी छ,’ उनले भने, ‘यसको कारण मौसम राम्रो भयो । सडक मार्गको स्तरोन्नति पनि हुँदै जाँदा पर्यटक आवागमन बढेको हो ।’

नयाँ वर्षको अवसरमा काठमाडौं र पोखरापछि तेस्रो प्रमुख गन्तव्य चितवन सौराहामा पनि पर्यटक चहलपहल बढेको छ । सौराहाका अधिकांश होटल भरिभराउ छन् ।

होटल एसोसिएसन नेपाल चितवन च्याप्टरका पूर्वअध्यक्ष सुमन घिमिरे सौराहा आन्तरिक पर्यटकले भरिएको बताउँछन् ।

‘नयाँ वर्षमा वाह्यभन्दा पनि आन्तरिक पर्यटकको चहलपहल बढी छ,’ उनले भने, ‘होटलहरूको अकुपेन्सी शतप्रतिशत छ । ३–४ दिनदेखिको चहलपहल एकदमै राम्रो छ । बिदा अझै नसकिएकाले केही दिन अझै चहलपहल रहन्छ ।’

‘सडकमा खाऔं, सडकमै रमाऔं’

नयाँ वर्ष २०८२ का अवसरमा दोलखा चरिकोटमा ‘सडकमा खाऔं सडकमा रमाऔं’ भन्ने नारासहित रैथाने खाना प्रवर्द्धन गर्न सडक खाना महोत्सव सुरु भएको छ ।

आइतबारदेखि सुरु भएको महोत्सव तीन दिनसम्म चल्ने छ । यो महोत्सवमा रैथानेदेखि अन्य परिकारको स्वाद चाख्न पाइने छ ।

चेम्बर अफ कमर्स दोलखा र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा भएको महोत्सव संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले रैथाने खानाको स्वाद लिएर सुरु गरेका थिए ।

दोलखामा नयाँ वर्ष मनाउन आएका पर्यटक लक्षित गरेर खाना महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

यसैबीच नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकले चरिकोट लगायत अन्य पर्यटन गन्तव्यका होटल भरिभराउ भएको व्यवसायीहरू बताउँछन् ।

पोखराका होटलमा २० प्रतिशत छुट

होटल संघ पोखराले नयाँ वर्ष लक्षित गर्दै शनिबारदेखि ‘२०औं फेवा महोत्सव’ सञ्चालन गरिरहेको छ । महोत्सव आजसम्म चल्ने छ ।

नयाँ वर्षमा पोखरा घुम्न आउने पर्यटक लक्षित गरी होटलले आफ्ना भाडादरमा २० प्रतिशत छुट पनि दिएका छन् ।

बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिएका छन् । पोखरा खहरेचोकदेखि ड्यामसाइटबीचको तीन किलोमिटर सडकमा आयोजना गरिने महोत्सवमा निःशुल्क प्रवेश गर्न पाइन्छ छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण हुन् ।

महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित भाडादरमा २० प्रतिशत छुट दिएका छन् । अहिले पोखराका होटलमा पर्यटकको ‘अकुपेन्सी’ ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघको अपेक्षा छ ।

महोत्सवको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका छन् ।

नयाँ वर्षमा मात्र फुल्ने सुनाखरी हेर्न महोत्सव

सिरहाको लहान नगरपालिकास्थित सलहेश फूलबारीमा पनि मेलाको रौनक छाएको छ । नयाँ वर्षका दिनमात्र फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न यो फूलबारीमा भारतदेखि भक्तजन आउने गर्छन् ।

प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटन गन्तव्य सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर पश्चिम–दक्षिणमा पर्दछ । सलहेश मन्दिरका पुजारी जितेन्द्र धामीका अनुसार १४औं शताब्दीका राजा सलहेशको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरूको सम्झना स्वरूप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको छ ।

११ लाख पर्यटक ल्याउन नगरकोट भ्रमण वर्ष

नयाँ वर्षको दिन पारेर ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सुरु भएको छ । काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रूपमा प्रसिद्ध पर्यटन गन्तव्य नगरकोटलाई केन्द्रबिन्दुमा राखेर भ्रमण वर्ष सञ्चालन गरेका हुन् ।

आज पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र र्‍याली प्रदर्शन गरिएको छ ।

चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रूपमा सञ्चालन गरेको यो कार्यक्रमले नगरकोटमा १ लाख विदेशी र १० लाख स्वदेशी गरी कुल ११ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको आयोजकको भनाइ छ ।

चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले भ्रमण वर्षले नगरकोटको मात्र नभई देशकै आर्थिक विकासमा मद्दत पुग्ने बताए ।

महोत्सवमा घरेलु उत्पादनका मात्रै ६० स्टल राखिएका छन् । नगरकोट आउने पर्यटकहरूको बसाइ अवधि लम्ब्याउने उद्देश्यले भ्रमण वर्ष कार्यक्रम सुरु गरिएको हो ।

स्थानीय परिकार पर्यटकलाई चखाउने योजना अनुरूप गाउँ–गाउँमा नमुना होमस्टे समेत सञ्चालनमा ल्याइएको छ ।

नगरकोट भ्रमणमा आउने पर्यटकलाई बनेपा चण्डेश्वरी मन्दिरसम्म पदयात्रा गराउन सकिने, त्यहाँका जात्रा परम्परामा पर्यटकलाई जोड्ने, जलजले ताल, गुम्बा लगायत घुमाउन सकिने छ ।

लुम्बिनीमा पनि मेला

धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा २९ चैतदेखि पूर्णिमा मेला सुरु भएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्ध जन्मस्थलमा चलिरहेको परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देई माई मेला भोलि मंगलबारसम्म जारी रहने छ ।

बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध धर्मावलम्बीका लागि मात्र नभई विभिन्न धर्म एवं समुदायलाई समेत आकर्षित गर्ने एक विशेष अवसर पनि हो ।

नयाँ वर्षमा घुम्न लुम्बिनी जाने वाह्य तथा आन्तरिक पर्यटकले यो मेलाको अनुभव गर्न पाउनेछन् । यो मेलाले पर्यटनमा केही सुधार ल्याउने अपेक्षा गरिएको छ ।

मेड इन नेपाल एक्स्पो

नयाँ वर्ष २०८२ का अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टिभल’ आयोजना गरेको छ ।

शनिबारदेखि सुरु भएको यो मेला भोलिसम्म चल्ने छ । एक्स्पोमा दैनिक नेपाली उत्पादन प्रदर्शनी हुनेछ । यस्तै फुड फेस्टिभलसँगै कन्सर्ट पनि हेर्न पाइनेछ । एक्स्पोमा १ सयभन्दा बढी स्टल छन् ।

एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एन्ड बेभरेज, ग्रिन इन्डस्ट्री, रियल इस्टेट, टेक्नोलोजी तथा इनोभेसन लगायत क्षेत्रमा क्रियाशील व्यवसायी सहभागी छन् ।

चौँरी महोत्सव

त्यसैगरी नयाँ वर्ष २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आइतबारदेखि ‘चौँरी महोत्सव’ सुरु भएको छ ।

लोपोन्मुख अवस्थामा पुगेको चौँरीको संरक्षण मार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

त्यसैगरी फालेलुङ गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजंघा चौँरीपालन तथा संरक्षण संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा ६ सयभन्दा बढी चौँरी प्रदर्शन गरिनुका साथै चौँरीजन्य सामग्री, स्थानीय घरेलु उत्पादन, हिमाली संस्कृति झल्काउने सामग्री तथा दृश्य प्रदर्शनमा राखिएको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले जानकारी दिए ।

रैथाने खाना महोत्सव

पर्यटकीयस्थल बन्दीपुरमा ‘नयाँ वर्ष २०८२ तथा १२औं मौलिक रैथाने खाना एवं सांस्कृतिक महोत्सव’ सुरु भएको छ ।

बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय बन्दीपुरको आयोजना र बन्दीपुर गाउँ पालिकाको प्रवर्द्धनमा शनिबारदेखि महोत्सव सुरु भएको हो । यो महोत्सव भोलि मंगलबारसम्म चल्ने छ ।

यस महोत्सवले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?