+
एनएसएल २०२५ :

धनगढी र ललितपुर क्वालिफायरमा, प्लेअफ पुग्ने दुई टिमको टुङ्गो लाग्न बाँकी

२०८२ वैशाख  १ गते २२:३६ २०८२ वैशाख १ गते २२:३६
धनगढी र ललितपुर क्वालिफायरमा, प्लेअफ पुग्ने दुई टिमको टुङ्गो लाग्न बाँकी

१ बैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को लिग चरणका २१ मध्ये १८ खेल सकिएका छन् ।

तीन खेल मात्र बाँकी रहँदा प्लेअफ पुग्ने दुई टिमको टुङ्गो लागेको छ भने दुई टिमको अझै निर्णय हुन बाँकी छ ।

सोमबार भएको दुई खेलपछि प्लेअफ पुगेका दुवै टिमले क्वालिफायर वान नै खेल्ने पक्का भएको छ । तिन दुई टिम हुन् साविक विजेता ललितपुर एफसी र साविक उपविजेता धनगढी एफसी ।

यी दुवै टिम अपराजित छन् र ५ खेलबाट समान ११ अंक जोडेका छन् । गोलअन्तरमा धनगढी अघि छ । लिग चरणमा यी दुईले गोलरहित बराबरी खेलेका थिए ।

धनगढी शनिवार नै प्लेअफ पुगिसकेको थियो । सोमबारको पहिलो खेलमा काठमाडौं रेजर्सले एफसी चितवनलाई पराजित गरेपछि ललितपुरको शीर्ष दुईमा स्थान पक्का भएको थियो । यसको अर्थ ललितपुरले क्वालिफायर वान खेल्ने निश्चित भएको थियो ।

ललितपुरको सोमबार खेल नभएपनि अरुको नतिजाबाट भाग्य खुलेको हो ।

उता धनगढीले भने सोमबार झापा एफसीलाई हराएपछि शीर्ष स्थानमा उक्लँदै प्लेअफसहित क्वालिफायर वानमा स्थान पक्का गरेको हो ।

धनगढी र ललितपुरले अब फाइनल प्रवेशका लागि क्वालिफायर वान खेल्नेछन् । यसको अर्थ गत वर्षको दुई फाइननिस्टमध्ये एक टिम यसपटक पनि फाइनल पुग्ने पक्का छ ।

त्यसअघि लिग चरणमा दुवै टिमले आ-आफ्नो अन्तिम खेल खेल्न बाँकी नै छ । क्वालिफायरअघि लिगको खेल दुवै टिमलाई थप तयारीको रुपमा रहनेछ ।

झापालाई जितेर शीर्ष दुईमा रहने पक्का भएपछि धनगढीका कप्तान देवेन्द्र तामाङले खुशी व्यक्त गरे । उनले अब क्वालिफायर वानमा ललितपुरसँग खेल्नुअघि तयारीको समय हुने र प्रशिक्षकसँग योजना बनाएर खेलको लागि तयारी गर्ने बताए ।

काठमाडौंको सम्भावना कायम

पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सले सोमबार लिग चरणमा आफ्नो अन्तिम खेलमा एफसी चितवनलाई २-० ले हराएपछि प्लेअफको सम्भावना जिवितै बनाएको छ । बराबरी वा हारले पनि काठमाडौंको सम्भावना लगभग सकिन्थ्यो ।

तर अन्तिम खेलमा आफ्नो पक्षमा नतिजा आएपछि अंकतालिकामा चितवनलाई नै पछि पार्दै काठमाडौं ६ खेलबाट ८ अंक जोडेको तेस्रो स्थानमा उक्लियो ।

काठमाडौंका लागि अब प्लेअफ पुग्न अन्य टिमको नतिजामा भर पर्नुपर्नेछ । यदी मंगलबार पोखरा थण्डर्स बुटवल लुम्बिनीसँग पराजित भएमा काठमाडौंको प्लेअफ यात्रा छिटै तय हुनेछ ।

यदी पोखरा विजयी भएमा गोल अन्तरमा पोजिसन निर्धारित हुनेछ । अहिले काठमाडौं र पोखरा दुवैको माइनस १ गोल अन्तर छ । पोखरा कम्तीमा एक गोल अन्तरले विजयी भए काठमाडौलाई पछि पार्नेछ ।

यस्तै हेड टु हेडमा पनि काठमाडौंलाई पोखराले हराएको थियो । पोखरा विजयी भएको अवस्थामा भने काठमाडौंले अन्तिम खेलमा चितवनको हारको कामना गर्नुपर्नेछ ।

सोमबार चितवनलाई हराएपछि खुशी देखिएका काठमाडौंका बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डले अब अर्को खुशीका लागि बाँकी खेलको नतिजा कुर्नुपर्ने बताएका छन् ।

चितवनको भाग्य आफ्नै हात

काठमाडौंसँग हारपछि ५ खेलबाट ७ अंकसहित चितवन चौथो स्थानमा झरेको छ । यस हारपछि चितवनलाई प्लेअफ पुग्न अन्तिम खेल जित्नैपर्ने जस्तो अवस्था बनेको छ । तर त्यसअघि अरु खेल पनि हुने भएकोले ति खेलको नतिजापछि चितवनलाई कस्तो नतिजा चाहिन्छ थाहा हुनेछ ।

चितवन भन्दा पछि रहेको पोखरा थण्डर्सको ५ अंक छ भने झापाको ४ अंक छ । यस्तै प्लेअफ होडबाट बाहिरिसकेको बुटवल लुम्बिनीको १ अंक मात्र छ ।

चितवनले लिगकै अन्तिम खेलमा धनगढीसँग खेल्नेछ । अबको दुई खेलको नतिजा आफू अनुकल आएमा चितवनले अन्तिम खेल बराबरी खेलेमा पनि प्लेअफ पुग्नेछ । यदी पोखरा बुटवलसँग पराजित भएमा चितवनको प्लेअफ यात्रा सहज बन्नेछ ।

पोखरा विजयी भएमा भने चितवनले अन्तिम खेलमा जित्नैपर्ने अवस्था आउनेछ ।

सुरुवाती दुई खेल जित्नै सानदार सुरुवात गरेपनि त्यसपछि तीन खेलमा चितवन जितविहिन छ भने सम्भावित ९ अंकमा जम्मा १ अंक मात्र जोड्न सक्यो । झापासँग अन्तिम समयमा बराबरीमा रोकिएको चितवन पछिल्लो दुई खेलमा ललितपुर सिटी र काठमाडौं रेजर्ससँग लगातार पराजित भयो ।

काठमाडौंसँग हारपछि चितवनका प्रशिक्षक नविन न्यौपानेले अब अन्तिम खेल महत्वपूर्ण हुने बताएका छन् । उनले धनगढी विरुद्ध खेल ‘डु अर डाई’ जस्तै हुने प्रतिक्रिया दिए ।

पोखराको पनि सम्भावना

अब मंगलबार पाँचौ स्थानको पोखरा थण्डर्स र बुटवल लुम्बिनी बीचको खेल हुनेछ । यदी पोखरा विजयी भएमा ८ अंक हुनेछ । ६ खेल खेलिसकेको काठमाडौंको ८ अंक छ । काठमाडौं र पोखराको अहिले माइनस १ गोल अन्तर छ । पोखरा विजयी हुँदा गोल अन्तर पनि सुधारिनेछ । यस्तोमा पोखरा अघि रहनेछ । पोखराले हेड टु हेडमा काठमाडौंलाई पछि पार्नेछ । त्यसो भए पोखराको पनि प्लेअफ पुग्नेछ । तर बराबरी वा हारले भने पोखराको प्लेअफ सम्भावना सकिनेछ । यस्तो नतिजा आए फाइदा चितवनलाई हुनेछ ।

पोखरा विजयी भएमा झापा एफसी आफ्नो अन्तिम खेल खेल्नुअघि नै प्लेअफ होडबाट बाहिरिनेछ ।

झापाको झिनो आश

लगातार चार खेल बराबरी खेलेको झापा एफसी शुक्रबार धनगढीसँग पराजित भएपछि प्लेअफको सम्भावना कमजोर बनेको छ । ५ खेलबाट जम्मा ४ अंकसहित झापा छैटौं स्थानमा छ । झापाले आफ्नो अन्तिम लिग खेल बुधबार ललितपुर सिटीसँग खेल्नेछ ।

झापाका प्रशिक्षक प्रवेश कटुवालले पाएको अवसरमा फिनिसिङ गर्न नसक्दा खेल गुमाउनुपरेको बताए । ‘हामीले काउन्टरमा धनगढीको हिजाजीलाई रोक्नुपर्छ भनेका थियौँ तर त्यही मिस्टेक भयो ।’ कटुवालले भने । ‘हामीले पनि धेरै अवसर पाको हो तर सदुपयोग भएन ।’

कटुवालले अब प्लेअफ पुग्ने सम्भावना अरुको नतिजामा निर्भर रहने बताए । ‘आज ३ अंक ल्याउन सकेको भए चान्स थियो । तर अब चान्स न्युन छ । पोखराको पनि म्याच छ उनीहरुले जितेमा हाम्रो चान्स किनेछ ।’

झापाको प्लेअफ पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । त्यसका लागि झापाले ललितपुरसँगको खेल राम्रो स्कोरमा जित्नुपर्नेछ । त्यसअघि मंगलबार बुटवलले पोखरालाई हराउनुपर्नेछ भने बिहीबार अन्तिम लिग खेलमा चितवन धनगढीसँग ठूलो स्कोरले हार्नुपर्नेछ । त्यसो भएमा झापा र चितवनको समान ७ अंक हुनेछ । यी दुईले बराबरी खेलेकोले झापाले गोलअन्तरमा चितवनला२ पछि पारेर प्लेअफ पुग्ने सम्भावना रहन्छ । तर त्यसका लागि अब बाँकी तीनवटै खेलको नतिजा झापाको अनुकुलमा आउनुपर्नेछ ।

एनएसएल २०२५ एफसी चितवन काठमाडौं रेजर्स झापा एफसी धनगढी एफसी पोखरा थण्डर्स ललितपुर सिटी
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय