फिजियोथेरापी एक स्वायत्त आधुनिक चिकित्सा प्रणाली हो।भौतिक चिकित्सा भनेर चिनिने यस विषयमा डिप्लोमा देखि विद्यावारिधिसम्म अध्ययन, अध्यापन हुन्छ । अध्ययन पश्चात फिजियोथेरापी सहायक वा फिजियोथेरापिस्टले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भइ सेवा दिन सक्छन् ।
यद्यपि, नेपालमा फिजियोथेरापिस्टहरूको पदनामको स्पष्टता छैन । यो समस्या एक गम्भीर पहिचान संकटको रूपमा देखा परेको छ। सरकारी तथा निजी क्षेत्र दुवैमा कार्यरत फिजियोथेरापिस्टहरूको पहिचान सम्बन्धी अस्पष्टताले पेशाको दिगोपन, सेवाग्राहीको विश्वास तथा पेशागत स्तरीकरणमा नकारात्मक असर पुर्याइरहेको छ।
नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ अनुसार फिजियोथेरापी सेवाका विभिन्न पदनाम र तहगत संरचना उल्लेख गरिएको छ । तर, पनि यसमा विशेषज्ञता अनुसारको परिमार्जन र निजी क्षेत्र वा गैरसरकारी क्षेत्रमा कार्यरत फिजियोथेरापिसष्टहरूले प्रयोग गर्ने विभिन्न किसिमका पदनामहरू र तहगत विविधतामा एकरुपता हुनु आवश्यक छ।
नेपाल सरकार नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार फिजियोथेरापी सेवा अन्तर्गत निम्न पदनाम र तहगत संरचना उल्लेख छन्स्
१.सहायक स्तर
फिजियोथेरापी सहायक – पाँचौं तह
२.अधिकृत स्तर
-फिजियोथेरापी निरीक्षक – छैठौं तह
-बरिष्ठ फिजियोथेरापी निरीक्षक – सातौं तह
-फिजियोथेरापिस्ट– सातौं तह
-बरिष्ठ फिजियोथेरापिस्ट– आठौं तह
-उपप्रमुख फिजियोथेरापिस्ट – नवौं तह
-सहप्रमुख फिजियोथेरापिस्ट– दशौं तह
-प्रमुख फिजियोथेरापिस्ट– एघारौं तह
हालसम्म नेपाल सरकारको स्वास्थ्य सेवा संरचनामा फिजियोथेरापीका लागि विशेषज्ञ पदको व्यवस्था छैन। अन्य स्वास्थ्य सेवाहरू जस्तै मेडिकल, नर्सिङ, फार्मेसी र आयूर्वेद चिकित्सकलाई नवौं वा सोभन्दा माथिल्लो तहलाई विशेषज्ञ तह उपलब्ध गराइएको छ । तर, फिजियोथेरापिस्टका लागि स्पष्ट रूपमा ‘कन्सन्टेन्ट फिजियोथेरापिस्ट’ वा ‘स्पेशालिस्ट फिजियोथेरापिस्ट’ पदनामको व्यवस्था गरिएको छैन।
फिजियोथेरापी विषयमा विभिन्न विशेषज्ञता अनुसारको अध्ययन, अध्यापन हुने भए पनि नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ मा फिजियोथेरापी समूह अन्तर्गत उपसमूह उल्लेख नभएकाले विशेषज्ञ पदनाम पनि नरहेको अवस्था छ। फिजियोथेरापी छुट्टै सिद्धान्तमा अधारित स्वायत्त चिकित्सकीय प्रणाली भएता पनि विशिष्ट श्रेणीको पदनाम मेडिकल ल्याब टेक्नोलोजी र रेडियोग्राफीबाट साभार गरिएको जस्तो देखिन्छ ।
नेपालमा नेपाल स्वास्थ्य व्यवसायी परिषद् अन्तर्गत फिजियोथेरापी पेशालाई निम्न तहमा देहाए बमोजिम को शैक्षिक योग्यता प्राप्त गरेपछि दर्ता गरिन्छस्
-विशिष्ट तह : स्नातकोत्तर वा सो सरह
-प्रथम तह : स्नातक वा सो सरह
-द्वितीय तह : प्रमाणपत्र तह वा सो सरह
-तृतीय तह : कम्तिमा एक वर्षको तालिम लिएको
हाल विशिष्ट तह अन्तर्गत १० भन्दा बढी विभिन्न विधामा दर्ता प्रक्रिया र छुट्टाछुट्टै लाइसेन्स परीक्षा हुनेगरेको छ भने तृतीय तहमा दर्ता हुन छाडेको छ। विद्यावारिधि लगायत अन्य विशेषज्ञता जस्तै-: ‘डक्टरेट इन फिजियोथेरापी’, पोस्ट-ग्राजुएट डिप्लोमा, फेलोसिप गरेपछिको हकमा भने हालसम्म नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले दर्ता प्रक्रिया वा छुट्टै तह निर्धारण गरेको छैन।
निजी क्षेत्रमा प्रयोग हुने विभिन्न पदनामहरू
एक सर्वेक्षण र वस्तुस्थिति अवलोकन अनुरुप गरिएको आधारमा गैरसरकारी संस्था जस्तै निजी अस्पताल, क्लिनिक, पुनर्स्थापन केन्द्रहरूमा निम्न पदनामहरू प्रयोग गरेको देखिन्छ ।
-फिजियोथेरापी सहायक
-फिजियोथेरापिस्ट
-सिनियर फिजियोथेरापिस्ट
-कन्सल्टेन्ट फिजियोथेरापिस्ट
-फिजियोथेरापी अफिसर
-मेनुअल थेरापिस्ट
यद्यपि, यी पदनामहरूको कानुनी आधार कमजोर छ । साथै शैक्षिक योग्यता वा कार्यविभाजनका आधारमा फिजियोथेरापिस्टको पदनाम के रहने भन्नेमा एकरूपता छैन। गैरसरकारी सेवामा कार्यरत फिजियोथेरापी जनशक्तिको स्पष्ट वर्गीकरण नगरिसकेको हालको स्थितिमा संस्थाअनुरुपको विविध पदनाम प्रयोग गरिएको छ ।
यस्तो प्रयोगले सेवाग्राही तथा अन्य सम्बन्धित निकायमा अन्योलता र फिजियोथेरापी सेवा प्रदायकबीच पहिचानको संकट देखिएको छ । एकरूपता नहुँदा हालको स्थितिमा व्यक्ति परक पदनाम प्रयोग गर्ने र नामका पछाडि विभिन्न डिग्री राख्नाले सेवाग्राही थप अन्योलमा परेको गुनासोहरू पनि पाइएको छ।
समाधानका उपायहरू
नेपालमा फिजियोथेरापिस्टहरूको पदनामको पहिचान संकट समाधान गर्न निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ:-
-फिजियोथेरापी सेवाको कानुनी आधारमा संशोधन
स्वास्थ्य सेवा ऐन वा सो सम्बन्धित अन्य कानून संशोधन गरी, अन्य चिकित्सा पेशासरह विशिष्ट तहमा दर्तावाल फिजियोथेरापिस्टलाई विशेषज्ञता अनुसारको पदनाम दिइनुपर्दछ। स्वास्थ्य सेवा नियमावली, २०५५ लाई परिमार्जन गरी, विशेषज्ञ फिजियोथेरापिस्टहरूका लागि विशेषज्ञता अनुसारको पदनाम जस्तै-: ‘कन्सल्टेन्ट मस्कुलोस्केलेटल फिजियोथेरापिस्ट’, ‘कन्सल्टेन्ट न्यूरोलोजिकल फिजियोथेरापिस्ट’ थप गर्नु आवश्यक छ।
यसका लागि स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची–३ मा पदनामको हेरफेर र अनुसूची – ४ मा फिजियोथेरापी समूहको उपसमूह थप गर्नुपर्ने आवश्यकता छ। उपसमूह थप गर्ने आधार नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भए अनुसारको विशिष्ट तहको विषयलाई लिन सकिन्छ ।
-निजी क्षेत्रका लागि एकरूप मापदण्ड
स्वास्थ्य मन्त्रालय तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद् र अन्य सरोकारवाला निकायले निजी क्षेत्रमा प्रयोग गरिने पदनामहरूका लागि निश्चित मापदण्ड तय गरिनुपर्दछ।यसका लागि शैक्षिक योग्यता र कार्य-विवरण अनुरुप स्पष्ट तह छुट्टिने गरी पदनामको प्रयोग गरिनुपर्दछ । नामको पछाडि राखिने शैक्षिक डिग्रीका लागि पनि निश्चित मापदण्ड बनाइनुपर्ने देखिन्छ।
-छुट्टै काउन्सिल गठन
फिजियोथेरापिस्टहरूको पेशागत मान्यता, अचारसंहिता पालना, पदनाम व्यवस्थापन, दर्ता तथा प्रमाणिकरणको प्रक्रिया, लाइसेन्स नवीकरण प्रभावकारी बनाउन नेपाल स्वास्थ्य व्यवसायी परिषद् अन्तर्गत फिजियोथेरापी समर्पित निकाय वा छुट्टै काउन्सिल स्थापना गर्न आवश्यक छ।
अन्त्यमा,
फिजियोथेरापी पेशाको पहिचान संकट समाधान नगरेमा यसले पेशागत उन्नति र सेवाग्राहीमा पर्ने प्रभावलाई नकारात्मक रूपमा असर पार्ने देखिन्छ। सरकारी तथा निजी क्षेत्र दुवैमा एकरूपता ल्याई कानुनी संरचना परिमार्जन गर्न सकेमा मात्र यो समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्छ। तसर्थ, नेपाल सरकार, सम्बद्ध निकायहरू तथा फिजियोथेरापी समुदाय मिलेर यस विषयमा ठोस पहल गर्नुपर्ने समय आएको छ।
प्रतिक्रिया 4