
काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालको दोस्रो विवाह पनि संकटमा परेको छ । विवाहको एक वर्ष नपुग्दै लम्सालले पति युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।
केही युट्युब अन्तर्वार्तामा बोल्दै उनले डिभोर्सको मुद्दा दायर गरेको बताइन् । विवाहअघि युवराजले गरेका अधिकांश वाचा झूठा भएको उनको आरोप छ । आफूले गलत व्यक्ति चयन गरेको पनि उनको भनाई छ ।
‘विवाहअघि जे सुनिएको थियो, त्यो सबै राम्रो थियो । तर पछि सबै गलत मात्रै सुनियो । यस्तो झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिंगल नै बस्छु भनेर यो निर्णय लिएँ’ उनले भनिन् ।
उनले ५ महिनादेखि युवराजसँग कुराकानी नभएको पनि बताइन् । युवराजले आफूसँग विवाह गर्नुको उद्देश्य अमेरिका जानुमात्र रहेको आरोप उनको छ ।
हरेक विवाहलाई लिएर आफू इमान्दार हुने गरेको उनको भनाइ छ । उनी भन्छिन्- ‘मैले विवाह सँधै राम्रो हुने सोचेर नै गरेको हुन्छु, चाहे त्यो पहिलो होस्, दोस्रो होस् या तेस्रो । म सँधै सकारात्मक नै हुन्छु ।’
२०८१ सालको भदौ ३ गते काठमाडौंको राम मन्दिरमा उनीहरूले धार्मिक विधिअनुसार विवाह गरेका थिए । त्यसअघि सुनसरी जिल्ला अदालतमा कानूनी विवाह गरेका थिए ।
छोटो समयको चिनजानपछि परिवारको पहलमा भएको यो विवाहको केही दिनमै अरुणिमा अमेरिका फर्किएकी थिइन् । विवाहपछि पनि आफू अहिलेसम्म युवराजको मूल घरमा समेत नगएको अरुणिमा बताउँछिन् ।
अमेरिकी नागरिक भएकाले अरुणिमाले नेपालमा वारेसमार्फत मुद्दा दायर गरेकी हुन् । कानुनअनुसार, पति पत्नी दुवैको सहमति भएमा तुरुन्तै डिभोर्स प्रक्रिया टुंग्याउन सकिन्छ । तर, सहमति भएन भने मुद्दा दायर भएको मितिबाट एक वर्षपछि स्वतः अदालतले सम्बन्धविच्छेदको आदेश दिन सक्छ ।
युवराजले भने अहिलेसम्म यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । अमेरिकामा स्थायी बसोबास गर्दै आएकी लम्साल दुई हप्ता अघि नेपाल फर्किएकी थिइन् ।
प्रतिक्रिया 4