+
+
Shares

तीनकुने घटना : रवीन्द्र र धवलको सुरु भयो बयान

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १७:३१
१५ चैतमा काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनकारीहरूका साथमा राप्रपा नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर ।

२ वैशाख, काठमाडौं । १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद डा. धवल शमशेर राणाको बयान सुरु भएको छ ।

उनीहरु दुवै जनालाई सरकारी वकिल कार्यालयमा उपस्थित गराएर बयान लिने काम सुरु गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर उनीहरूको बयान लिने काम भइरहेको छ । बयानका लागि आज मंगलबार पनि दुवै जनालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो ।

पक्राउ परेका यी दुवै नेताहरू विरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान गरिएको छ । यीनै दुई घटनाका विषयमा उनीहरूमाथि बयान लिने काम सुरु भएको स्रोतले बतायो ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १ मा राज्यविरुद्धको कसुरसम्बन्धी व्यवस्था छ । राज्यविरुद्धको कसुर अन्तर्गतको राजद्रोहको कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

संहिताको दफा ५० राजद्रोहको कसुरबारे उल्लेख छ । जसमा ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षडयन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन गर्न हुँदैन,’ उल्लेख गरिएको छ ।

यदि कसैले यस्तो कसुर गरेमा भने २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संहितामा उल्लेख छ । अब राजद्रोहको कसुरमा म्याद लिएपछि प्रहरीले उनीमाथि यसका प्रमाणहरू जुटाउनुपर्ने हुन्छ । यसका लागि काम भइरहेको प्रहरीको भनाइ छ ।

योसँगै अहिले उनीहरुविरुद्ध संगठित अपराधको कसुर पनि लगाइएको छ । संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति लिएको हो । तीन जनाभन्दा बढीको समूह बनाएर तीन वर्षभन्दा बढी कैद सजाय हुने अपराध गरेमा संगठित अपराध हुने कानुनी व्यवस्था छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका तर्फबाट दुर्गा प्रसाईं र ८६ वर्षीय पूर्वपञ्ज नवराज सुवेदी समेतले संयुक्त रूपमा प्रदर्शन गरेका थिए । त्यसको कमान्डर भने प्रसाईंलाई बनाइएको थियो ।

यो प्रदर्शन हिंसात्मक बनेपछि कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान समेत गएको थियो ।

प्रदर्शनकारीहरूले व्यक्तिका घर तोडफोड गर्नेदेखि आगजनीसम्म गरेका थिए । यो प्रदर्शनमा मिश्र र राणा समेत आफैं तीनकुनेमा उपस्थित भएका थिए ।

प्रदर्शन हिंसात्मक बनेपछि उनीहरू दुवै जनालाई प्रहरीले ललितपुरबाट १५ चैतकै राति पक्राउ गरेको थियो । त्यसपछि परिसर कामठाडौं हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?