+
+
Shares

दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु

ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको भन्दै उनीविरुद्ध ड्युटीमा खटिएका प्रहरीहरूले सामूहिक निवेदन दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १८:००
प्रहरी भ्यानमा दुर्गा प्रसाईं ।

२ वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

१५ चैतमा तीनकुनेमा भएको राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको आरोप उनीमाथि छ । गृहमन्त्रीले समेत सार्वजनिक रूपमा प्रसाईंले सुरक्षाकर्मीलाई ज्यान मार्ने नियतले गाडी कुदाएको बताएका थिए ।

ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको भन्दै उनीविरुद्ध ड्युटीमा खटिएका प्रहरीहरूले सामूहिक निवेदन दिएको प्रहरी स्रोतले बतायो । ‘त्यस दिन ड्युटीमा खटिएका प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा निवेदन दिएका छन् । योसँगै उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान सुरु भएको छ,’ परिसर स्रोतले भन्यो ।

ज्यान मार्ने उद्योगको कसुर प्रसाईंविरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताइएको छ । सार्वजनिक भएको भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस क्रममा उनले अपशब्द समेत बोलेको भिडिओमा सुनिन्छ ।

यसका साथै आपराधिक उपद्रवको कसुरमा पनि प्रसाईंविरुद्ध अनुसन्धान अघि बढाइएको छ । अहिलेसम्म प्रसाईंविरुद्ध एक साथ चार वटा कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोहको कसुर, संगठित अपराधमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिइएको थियो । यसमा ज्यान मार्ने उद्योगको कसुर र आपराधिक उवद्रव पनि थपिएसँगै चार वटा कसुरमा एक साथ अनुसन्धान अघि बढाइएको हो ।

तीनकुने घटनाको १५ दिनपछि प्रसाईं भारतको आसामबाट पक्राउ परेका थिए । २८ चैतमा आसामका पक्राउ परेका उनलाई २९ चैतमा काठमाडौं ल्याइएको थियो ।

पूर्वी नाकाबाट नेपाल ल्याइएका प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले पहिलो पटक उनलाई १२ दिन हिरासतमा राख्न म्याद दिएको थियो ।

झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गर्दै थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो ।

राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रर्दशन भयो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो । व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । सवारीसाधन जलाइए । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको ज्यान गयो ।

प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं भने गाडी चढेर भागेका थिए । त्यसैदिन प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवल शमशेर राणालाई पक्राउ गरेको थियो । प्रसाईं भने लामो समय फरार हुन भए । अन्ततः उनी अहिले कानुनी दायरामा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?