+
+
Shares

प्रधानमन्त्री ओली र निलम्बित एमाले नेतृ पाण्डेबीच ४५ मिनेट भेट

‘स्पष्टीकरण सोधिएको ६ महिना भइसक्यो, न निलम्बनकै चिठी पाइयो, न फुकुवाकै,’ पाण्डेले प्रधानमन्त्री ओलीसँग राखेको विषय सुनाउँदै एमाले स्रोतले भन्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते २२:४६

२ वैशाख, काठमाडौं । पार्टीका अध्यक्षलाई स्थायी कमिटीका नेताले भेट्नु कुनै समाचारको विषय होइन, तर एमालेमा मंगलबार यस्तै भयो ।

सोमबार, अर्थात् नयाँ वर्षको पहिलो दिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कतिपय नेताहरुलाई आफैंले फोन गरेर शुभकामना दिएथे । ओलीको फोन उठाउनेमध्ये एक थिइन्, विन्दा पाण्डे ।

एमाले मुख्यालय निर्माणका लागि भनेर विवादित पात्रहरुबाट जग्गादान लिएको प्रकरणको विरोध गरेवापत स्थायी कमिटीबाट ६ महिनाअघि अर्था कात्तिक पहिलो साता स्पष्टीकरण सोधिएको थियो पाण्डेलाई । पुसमा उनी निलम्बित भइन्। उनीसँगै केन्द्रीय सदस्य उषाकिरण तिम्सेना पनि निलम्बित थिइन् । तर पाण्डेको नाममा निलम्बनको चिठी नै गएनछ । अध्यक्ष ओलीले यो तथ्य थाहा पाउन पनि ६ महिना नै लाग्यो ।

ओलीले डायल गरेको वैशाख १ को फोनले पाण्डेलाई वैशाख २ अर्थात् भोलिपल्ट मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुर्‍यायो । दिउँसो १ बजे एक्लै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भेट्न पुगेकी उनले ४५ मिनेट बिताइन् ।

‘६ महिना भइसक्यो, न निलम्बनकै चिठी पाइयो, न फुकुवाकै,’ पाण्डेले प्रधानमन्त्री ओलीसँग राखेको विषय सुनाउँदै एमाले स्रोतले भन्यो ।

ओलीले अहिलेसम्म यसबारे जानकारी नगरिएकामा अनौठो माने । उनले पुरानो वर्षका तितामिठा विर्सेर पार्टी काममा लाग्न आग्रह गरे ।

‘विन्दाजीले जग्गादान स्वीकार्ने निर्णय गलत थियो भन्नुभयो, तर अध्यक्षज्यूले त्यसमा गल्ती नै भनेर खास केही नभएको भन्दै अडान राख्नुभयो,’ स्रोतले भन्यो, ‘तर अब यस कुरामा थप नलाग्ने, बरु पार्टीको काममा सक्रिय बन्ने भन्ने खालको कुरा भयो ।’

पाण्डे र तिम्सेनाले अनुशासन मिचेको भन्दै पार्टी सचिवालयमा छलफल हुँदा केही नेताले विरोध गरेका थिए । पार्टीले औपचारिक निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरे पनि पाण्डेलाई चिठी नगएको पुष्टि भएको छ ।

४५ मिनेटको गफका क्रममा पाण्डेले एउटा पुस्तक उपहार दिइन् । पन्चायतकालीन भूमिगत दिनहरुमा नेताहरुलाई सेल्टरमा जोगाउने कार्यकर्ता, समर्थक र आम शुभेच्छुकबारे यसबीचमा आफूले तयार पारेको पुस्तक ‘भुइँमान्छे’ दिँदै पढेर सुझाव दिन आग्रह गरिन् ।

ओलीले पाण्डेको किताब आएकामा हर्ष व्यक्त गरे । पहिल्यै पढ्न पाएको भए पाण्डुलिपिमै सुझाव दिन्थें भन्ने चाहना पनि राखे । तर आफूले अध्यक्षलाई किताब दिने मौका र समय नपाएको भन्दै उनले उल्टो गुनासो गरिन् ।

‘मैले सुखानीमा लगेर किताब विमोचन गरौं भनी झापा जिल्ला कमिटीलाई भनेकी थिएँ, तर जिल्लाका साथीहरुले पहिले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागबाट किताब पास गराएर ल्याउनुस् भन्नुभयो,’ पाण्डेले ओलीसँग आक्रोश पोखिन्, ‘पन्चायतकालमा समेत नभएको सेन्सरसिप पार्टीमा कहाँबाट छिर्‍यो ?’

ओलीले आफूलाई यस्तो थाहा नभएको भन्दै जसले भनेको भए पनि त्यो गलत हो भन्दै आलोचना गरे । पार्टीभित्र अनुशासन राख्दै आफ्ना विषय राख्ने स्वतन्त्रता जहिले पनि सुरक्षित हुने भन्दै गलत प्रवृत्तिलाई निरुत्साहित गर्ने बताए । ओलीले विगत संघर्षका बेला योगदान दिएका जिल्ला–जिल्लाका व्यक्तिहरुलाई सम्झेर किताब लेखेकामा पाण्डेलाई धन्यवाद पनि दिए ।

पाण्डेले आगामी संस्करणमा सच्याउनुपर्ने केही छन् भने मार्गदर्शन गर्न अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अनुरोध पनि गरिन् । ओलीले हुन्छ भनेका थिए ।

पाण्डेले अनलाइनखबरसँग कुरा गर्दै आफू पार्टी अध्यक्षसँग भेट्न गएको कुरा स्वीकारिन् । ‘उहाँले हिजो फोन गरेर नयाँ वर्षको शुभकामना दिनुभएको थियो, त्यसै क्रममा भेट्ने सल्लाह पनि भएको थियो,’ पाण्डेले भनिन्, ‘नेतासँग भेट्दा कुराकानीहरु पक्कै भइहाल्छन्, तर यसबारे विस्तृत विवरण पार्टीबाटै लिँदा बेस होला ।’

पार्टीमा राख्नुपर्ने असन्तुष्टि सामाजिक सन्जालमा राखेको भन्दै अनुशासन कारबाहीमा परेकी पाण्डेले मंगलबार दिएको प्रतिक्रिया आफैंमा निलम्बन फुकुवाको अनौपचारिक संकेत थियो, जसबारे एमालेले औपचारिक रुपमा धारणा सार्वजनिक गर्न भने बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?