
२ वैशाख, काठमाडौं । चैत ३१ गते आइतबार शिक्षक महासंघ र शिक्षा मन्त्रालयको टोलबीच संवादको तयारी थियो । महासंघबाट शिक्षा मन्त्रालय जाने टोलीको नाम गेटमा टिपाइएको पनि थियो । तर त्यस दिन महासंघको टोली संवादमा गएन ।
‘संवादको लागि आउन लागेको महासंघको टोलीको नाम गेटमा टिपाएका थियौं । आउँछु भन्नुभएको थियो । तर बीचबाटै उहाँहरू कता जानुभयो, थाहा भएन,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने ।
शिक्षा मन्त्रालयको टोली अबेरसम्म महासंघको टोलीलाई कुरिरहेको थियो । ‘मन्त्रालयमा शिक्षकको टोलीलाई कुरेर बस्नुभयो । तर उहाँहरू आउनुभएन,’ ती अधिकारीले भने । मन्त्रिपरिषद् र मन्त्रालयले गर्नसक्ने निर्णयको बुँदा लिएर मन्त्रालयको टोली बसेको थियो । संवादमा नबस्नुको कारण महासंघले तीन दिनपछि खुलाएको छ ।
मन्त्रालयले तयार पारेको बुँदाले पनि शिक्षकको माग सम्बोधन नहुने भएकाले वार्तामा नबसेको शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।
शिक्षा मन्त्रालयले केही बुँदा देखाएर आन्दोलन रोकेमा मन्त्रिपरिषद्मा लैजान्छौं भनेर शर्त राखेकाले वार्तामा नगएको सहअध्यक्ष पराजुलीले बताइन् । ‘उपलब्धि नहुने ठाउँमा बस्ने कुरा भएन । आन्दोलन रोकेमा मन्त्रिपरिषद्मा लैजान्छौं भन्नुभयो, हामीलाई त्यो मान्य छैन,’ उनले भनिन् ।
मन्त्रालयले ल्याएको प्रस्तावलाई महासंघले अस्वीकार गरेर वार्तामा नगएको बताएको छ । ‘क्याबिनेटले गर्नसक्ने केही प्रस्ताव शिक्षा मन्त्रालयबाट आएको छ । अहिले बाल विकासका शिक्षकले १७ हजार रुपैयाँ पाइरहेका छन् । अहिले ३ सय थप गरेर १७ हजार ३ सय रुपैयाँ दिने भनियो । त्यो पनि संघबाट दिन हुँदैन रे,’ पराजुलीले भनिन् । विगतमा सहमतिभन्दा थप बाझिने गरी मन्त्रालयबाट प्रस्ताव आएको उनले बताइन् ।
भइरहेको संवादलाई पनि शिक्षक महासंघले वार्ता भन्न चाहेको छैन । यसलाई सामान्य छलफल भएको बताउँदै आएको छ । महासंघले भने अब मन्त्रालयसँग वार्तामा नबस्ने चेतावनी दिएको छ ।
‘ऐन मन्त्रालयले जारी गर्ने होइन, संसद्ले हो । यसको चाबी प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र सभामुख देवराज घिमिरेसँग छ । उहाँहरूको इच्छाशक्ति हुने हो भने गर्न सक्नुहुन्छ । उहाँ चार जनाको छलफल भयो र बोलाउनुभयो भने हामी वार्तामा जान्छौं,’ उनले भनिन् । वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन वा अध्यक्षदेशबाट ऐन जारी गर्ने विकल्प महासंघले दिएको छ ।
शिक्षकका माग सम्बोधन गर्ने विषयमा मंगलबार अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईबीच छलफल भयो । तर निष्कर्ष निस्कन सकेको छैन ।
यसअघि बारम्बार शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि महासंघ जान तयार भएको थियो । तर शिक्षा सचिव दीपक काफ्लेले महासंघलाई पत्र पठाएपछि संवादमा बस्न महासंघ तयार भएको थियो । फेरि शिक्षक र सरकारबीचको संवाद पातलिएको छ ।
यद्यपि, मन्त्रालयका अधिकारीहरू महासंघका पदाधिकारीसँग औपचारिक र अनौपचारिक संवादमा रहेको बताउँछन् । शैक्षिक हड्ताल गरेर शिक्षक महासंघ २० चैतदेखि सडक आन्दोलनमा छन् ।शिक्षकको आन्दोलनले शैक्षिकसत्र प्रभावित भएको छ ।
प्रतिक्रिया 4