
२ वैशाख, काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरो प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर भएको छ ।
२५ करोडसँगै पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको फुच्चे भनिने कुसाङ लामा र २५ करोडका मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल विरुद्ध मुद्दा दायर भएको हो ।
राजस्व अनुसन्धान विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर भएको हो । दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको श्रेष्ठको भनाइ छ ।

उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत मागदाबी गरिएको छ । मुद्दा दायर गरिएका मध्ये पौडेल भने फरार छन् । बरामद ट्रकलाई कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन अनुसार जतफका लागि मागदाबी गरिएको छ ।
कुसाङ यसअघि यस्तै सुन प्रकरणमा पक्राउ परेर छुटेका व्यक्ति भएकाले थप सजाय समेत मागदाबी गरिएको छ ।
गत ४ चैत राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीन तर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक लामालाई पक्राउ गरेको थियो ।
भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर उक्त रकम लैजाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4