+
+
Shares

सम्पत्ति शुद्धीकरणमा सोनियाँ र राहुल गान्धीविरुद्ध अभियोगपत्र दर्ता

नेशनल हेराल्ड अखबारसँग जोडिएको एक सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिलामा भारतको प्रवर्तन निर्देशनालयले सोनिया र राहुलविरुद्ध अभियोगपत्र दर्ता गराएको हो । यसलाई भारतीय कंग्रेसले राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते २१:२२
भारतीय कंग्रेसका पूर्वसभापतिहरू सोनिया गान्धी र राहुल गान्धी ।

२ वैशाख, काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले भारतीय राष्ट्रिय कंग्रेसका पूर्वसभापतिहरू सोनिया गान्धी र राहुल गान्धीविरुद्ध अभियोगपत्र दर्ता गराएको छ ।

नेशनल हेराल्ड अखबारसँग जोडिएको एक सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिलामा ईडीले मंगलबार सोनिया र राहुलविरुद्ध अभियोगपत्र दर्ता गराएको हो । यो मामिलामा छानबिनको माग गर्दै १२ वर्षअघि सन् २०१२ मा उजुरी परेको थियो ।

लोकसभाका सांसद रहेका सोनिया र राहुल आमा–छोरा हुन् । राहुल लोकसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत हुन् ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले ईडीको यो कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । र, प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहले अनधिकृत रूपमा दिएको धम्कीको रूपमा लिएको जनाएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार ईडीले यो मामिलामा जोडिएको अनुसन्धानपछि पछि कंग्रेसका यी दुई वरिष्ठ नेताविरुद्ध अभियोगपत्र दर्ता गराएको हो । विशेष न्यायाधीश विशाल गोग्नेले ९ अप्रिलमा ईडी कार्यालयले दिएको अभियोगपत्र दायर गर्दै २५ अप्रिलका लागि सुनुवाइको समय तोकेका छन् ।

अभियोगपत्रमा कंग्रेस नेता सैम पित्रोदा र राजीव गान्धी फाउन्डेशनका ट्रस्टी सुमन दुबेलाई पनि अभियुक्त बनाएको छ ।

नेशनल हेराल्ड अखबारका प्रकाशन एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल)ले प्रकासन गर्दै आएको छ । यसको स्वामित्व हक यङ इंडियन प्राइवेट लिमिटेडसँग छ । सो कम्पनीमा सोनिया र राहुलको पनि साझेदारी छ ।

नेशनल हेराल्डको प्रकाशन सन् १९३८ मा नेहरूले सुरु गरेका थिए । सन् १९३७ मा एसोसिएटेड जर्नल्स लिमिटेड स्थापना भएको थियो । यसमा करिब पाँच हजार सेयर होल्डर्स थिए । यो कम्पनीले नेशनल हेराल्डका अलावा कौमी आवाज र नवजीवन नामका अन्य दुई अखबार पनि प्रकाशित गर्ने गरेको थियो ।
सन् १९४७ मा नेहरू प्रधानमन्त्री बनेपछि उनले बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । प्रकाशन सुरु भएको ७० वर्षपछि २००८ मा आर्थिक संकटको कारण अखबार बन्द भएको थियो । त्यसको ८ वर्षपछि सन् २०१६ मा त्यसको अनलाइन संस्करण पुनः सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?