विश्व स्वास्थ्य सङ्गठनको तथ्याकं अनुसार सडक दुर्घटनामा हरेक करिब वर्ष ८ हजार ५०० जनाको मृत्यु हुने गरेको छ । मृत्यु हुनेमा लगभग ५५ प्रतिशत केशमा दुईपाङ्ग्रे सवारी साधन चालक वा पछाडि बस्ने यात्रु रहेको देखिन्छ ।
नेपालमा ४० लाखको हाराहारीमा सवारी साधन छन् । त्यसमा लगभग ३२ लाख अर्थात ८० प्रतिशत दुईपाङ्ग्रे सवारी साधन छन् । यसमा पनि आधार दुईपाङ्ग्रे सवारी त काठमाडौँ उपत्यकामा मात्रै छन् । त्यसैले काठमाडौँ उपत्यकामा सडक दुर्घटना धेरै हुने गरेको पाइन्छ ।
मैले मेरो रेजिडेन्सी पाकिस्तानको लाहोरमा किङ एडवर्ड मेडिकल युनिभर्सिटीबाट गरेको थिएँ । जुन नेपालको वीर अस्पताल जस्तै हो । मैले रेजिडेन्सी गर्ने बेला त्यहाँ सडक दुर्घटनाका धेरै केसहरू आउँथे ।
दुर्घटनाको कारण टाउकोमा चोट लागेर आउने दैनिक ४ केसको टाउकोको शल्यक्रिया गर्नु पर्ने हुन्थ्यो । अझै शल्यक्रिया गर्न नपर्ने बिरामी त १५ जना जति नै हुन्थे । त्यो बेला पाकिस्तानमा दुईपाङ्ग्रे सवारी चलाउँदा हेलमेट लगाउन अनिवार्य थिएन । एउटै बाइकमा ४ जना सम्म बसेर हिँड्ने गर्थे ।
जब २०१८ मा इमरान खान पाकिस्तानको प्रधानमन्त्री भए उनले हेलमेट लगाउनै पर्ने नियम ल्याए र कडाइका साथ लागू गराए । त्यसपछि सडक दुर्घटनाका कारण टाउकोमा चोट लागेर शल्यक्रिया गर्नुपर्ने केस महिनामा चार वटा मात्र हुन्थ्यो ।
पछाडि बस्ने बढी जोखिममा
दुई पाङ्ग्रे सवारी साधनको कुरा गर्दा मोटरसाइकल चालकले त हेलमेट लगाएका हुन्छन् त्यसैले उनीहरूलाई टाउकोमा चोट लाग्ने सम्भावना कम हुन्छ । तर, नेपालको सन्दर्भमा पछाडि बस्ने व्यक्तिले हेलमेट लगाएका हुँदैनन् त्यसैले पछाडि बस्ने व्यक्तिको टाउकोमा चोट लाग्ने सम्भावना धेरै हुन्छ ।
सवारी साधन चलाउने व्यक्तिलाई त सवारी साधन असन्तुलन भएको तथा दुर्घटना हुन आटेको कुराको सङ्केत हुन्छ, त्यसैले ऊ दुर्घटना हुँदासम्म सतर्क भइसकेको हुन्छ। तर, पछाडि बस्ने व्यक्तिलाई त त्यो सम्भावित दुर्घटनाको सङ्केत हुँदैन ऊ सचेत हुन पाउँदैन । र, हेलमेटको प्रयोग पनि गरेको हुँदैन त्यसैले अगाडि बस्ने व्यक्तिलाई भन्दा पछाडि बस्नेलाई चोटपटक लाग्ने सम्भावना बढी हुन्छ ।
विश्वको तथ्याकं हेर्दा हेलमेटको प्रयोग गर्दा टाउकाको चोटबाट ७५ प्रतिशत जोगिन सकिन्छ । हेलमेटको प्रयोगले मृत्युदर पनि ६ प्रतिशत घटाएको देखिएको छ ।
चार पाङ्ग्रे सवारी साधनमा त सिट बेल्ट बाँधिन्छ, गाडी एक ठाउँमा अडिन्छ । त्यसैले साइडमा बस्ने र पछाडि बस्ने व्यक्तिहरू सुरक्षित नै हुन्छन् । तर, बाइकमा चालकको तुलनामा पछाडि बस्ने धेरै असुरक्षित हुन्छ । त्यसैले उनीहरूलाई हेलमेटको बढी आवश्यकता हुन्छ ।
दुर्घटनाले टाउकोमा पर्ने समस्या
दुर्घटनाका कारण टाउकोमा लाग्ने चोटहरूको कुरा गर्दा सबैभन्दा पहिले त टाउकोको बाहिरी भागमा लाग्ने चोटहरूको कुरा गरौँ । सामान्य चोटपटक लाग्दा टाउकाको छाला काटिएर, टुटुल्को उठेर, छाला भन्दामुनि रगत जमेर बिरामी आउने गर्छन् । त्यसलाई सामान्य उपचार गरे पुग्छ । केही अवस्थामा टाउकोको हड्डी फुट्ने पनि हुन्छ । त्यो फुटेको हड्डीले दिमागलाई प्रेस गरेको हुन्छ, त्यस्तो अवस्थामा हड्डीलाई माथि उठाउने शल्यक्रिया गरिन्छ ।
साथै कहिलेकाहीँ हड्डी भन्दा मुनि र दिमाग भन्दा माथिकाे तहमा रगत जम्न सक्छ । कतिपयमा गिदीभित्रै रगत जमेको हुन्छ । यस्ता कतिपय केसमा शल्यक्रिया गर्न सकिन्छ भने कतिपयमा गर्न सकिँदैन । शल्यक्रिया गर्न नमिल्ने अवस्थामा औषधिमार्फत उपचार गरिन्छ ।
कतिपय केसमा भने सिटीस्क्यान हेर्दा ठिकै जस्तो देखिन्छ तर बिरामीको चेतनाको स्तर खासै राम्रो हुँदैन । यस्तोमा आँखाले देख्न नसकिने स-साना नसाहरू चुँडिएर बिरामी कोमामा जान्छन् ।
सामान्य भाषामा भन्दा टाउकाको हड्डीलाई स्टिलको कचौरा सम्झिऊँ र दिमागको तरलतालाई जमेको दहीको रुपमा लियौँ । यस्तोमा कचौरा कुच्चियो भने जसरी दही छचल्किन्छ, त्यसरी नै टाउकाको हड्डीमा चोट लाग्यो भने दिमागमा भित्रसम्म असर पर्न, चोट लाग्न सक्छ ।
हेलमेटको प्रयोग नै उत्तम विकल्प
सडक दुर्घटनामा परेर टाउकोमा लाग्ने चोटबाट बच्ने सर्वोत्तम उपाय हेलमेटको प्रयोग नै हो । त्यसैले दुईपाङ्ग्रे सवारी साधनमा चालक र पछाडि बस्ने व्यक्ति दुवैले हेलमेटको प्रयोग गर्नुपर्छ ।
दुर्घटनामा टाउकाको चोटबाट बच्न हेलमेट त लगाउने तर कस्तो हेलमेट लगाउने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । बजारमा विभिन्न प्रकारका हेलमेट पाइन्छ । यस्तोमा सुरक्षाको मापदण्ड पूरा गरेको हेलमेट रोज्नुपर्छ । साथै फुल फेस हेलमेट प्रयोग गर्नु राम्रो हुन्छ र हेलमेटको फित्ता लगाउन बिर्सनु हुँदैन । हेलमेट लगाइयो तर फित्ता बाँधिएन भने मोटरसाइकल अनसन्तुलन हुने बित्तिकै हेलमेट टाउकोबाट उछिट्टिएर झर्न सक्छ, अनि टाउकोमा चोट लाग्छ ।
कतिपयले भने टाउकोको सुरक्षाका लागि भन्दा पनि स्टाइलका लागि हेलमेट लगाउने गर्छन् । कसैले हेलमेटमा सिङ राखेर, कसैले कपाल राखेर त कसैले विभिन्न स्टिकर टाँसेर लगाउँछन् । यो उहाँहरूको इच्छा होला त्यो त ठिक छ तर त्यसो गर्दै गर्दा हेलमेटको गुणस्तरमा भने सम्झौता गर्न हुँदैन ।
हेलमेट लगाउँदा कतिपयले टाउको भन्दा माथि लगाउने, उल्टो लगाउने पनि गरेको पाइन्छ । त्यसरी हेलमेट लगाउँदा पूर्णरुपमा सुरक्षित नहुन सक्छ । त्यसैले हेलमेटको गुणस्तरमा र लाउने तरिकामा विशेष ध्यान दिनुपर्छ ।
हेलमेट छान्दा ध्यान दिनुपर्ने कुरा
आफ्नो देशको सडकको अवस्था, भूगोललगायतका विविध पक्षलाई आधार मानी हरेक देशले हेलमेटको आफ्नै मापदण्ड बनाएर लागू गर्दै आएका छन् । तर नेपालमा भने सरकारले आफ्नै मापदण्ड बनाउन सकेको छैन । यसकारण प्रयोग गर्नेहरूले पनि सुरक्षाका लागि भन्दा ट्राफिकलाई देखाउन हेलमेट लगाएका हुन्छन् ।
नेपाली बजारमा विदेशबाट आयातीत नक्कली हेलमेट छ्यापछ्याप्ती पाइने हुँदा कुन हेलमेट कस्तो भन्ने ख्याल गर्नुपर्छ । नेपालमा हेलमेटको गुणस्तरमा कुनै मापदण्ड नभए पनि भारत, युरोप तथा अमेरिकामा भने सर्टिफिकेसनको तह निर्धारण गरिएको हुन्छ ।
हेलमेट सर्टिफिकेसनमा भारतको ‘आइएस सर्टिफाइड’, अमेरिकाको डर्ट सर्टिफाइड तथा युरोपको ईसीई सर्टिफाइड हुनेगर्छ ।
ट्राफिक नियम पालना पनि महत्वपूर्ण
दुईपाङ्ग्रे सवारी साधन चलाउँदा दुर्घटनाबाट हुने क्षतिबाट बच्न हेलमेट लगाउनुका साथै ट्राफिक नियम पालना गर्नु पनि उत्तिकै जरुरी हुन्छ । ट्राफिक नियमविपरीत तीब्र गतिमा बाइक चलाउने, जथाभावी ओभरटेक गर्ने, लेन मिचेर चलाउने गर्ला दुर्घटना बढी भइरहेको देखिन्छ । साथै यसरी नियम मिचेर सवारी साधन चलाउँदा अन्य सवारी साधन चालक र पैदल यात्रीको जीवन पनि जोखिममा पर्न सक्छ ।
पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने कानुनी व्यवस्था
नयाँ सवारी ऐन आउन लागेकाले उक्त ऐनमा मोटरसाइकलको पछाडि बस्नेले हेलमेट अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्न लागिएको छ । यसभन्दा अगाडि पनि मोटरसाइकलमा पछाडि बस्नेले हेलमेट लगाउने कुरा बारम्बार उठ्ने गरेको थियो ।
वि.सं. २०५९ देखि २०६१ सम्म दुईपाङ्ग्रे सवारी साधनमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम लागू भएको थियो । त्यति बेलाको केही तथ्याङ्कले पनि टाउकाको चोट र त्यसको कारण मृत्यु हुनेको सङ्ख्या घटेको देखिन्छ । त्यसैले आफ्नै सुरक्षाका लागि हो भनेर दुईपाङ्ग्रे सवारी साधनमा पछाडि बस्ने व्यक्तिहरूले आफैँ हेलमेटको प्रयोग गर्न सक्छन् ।
ट्राफिक जरिवानाबाट बच्नका लागि मात्रै हेलमेट प्रयोग गर्ने बानी कतिपयमा छ । जस्तो मुख्य रोडमा जानुपर्यो भने मात्रै हेलमेट लगाउने र भित्री सडकमा कतै नजिकै जाँदा हेलमेट नलगाउने गरेको पाइन्छ । तर, त्यसो गर्नु गलत हो दुर्घटना जहिले पनि जहाँ पनि हुनसक्छ । चाहे त्यो टोलको गल्लीमा होस् वा मेन रोड । त्यसैले जहिले, जहाँ पनि दुईपाङ्ग्रे सवारी साधन चलाउँदा हेलमेटको अनिवार्य प्रयोग गर्नुपर्छ ।
‘राइड सेयरिङ’ सवारी साधनबाट यो नियम कार्यान्वयन गर्दा राम्रो
भियतनाममा ग्र्यब भन्ने एउटा राइड सेयरिङ एप प्रचलित छ । त्यहाँ त्यस्तो एपमार्फत सेवा दिने चालकले पछाडि बस्ने व्यक्तिका लागि हेलमेट बोकेर हिँड्छन् । आजभोलि नेपालका प्रमुख शहरहरूमा पठाओ, इनड्राइभजस्ता राइड सेयरिङ एप प्रचलित छन् । यसमार्फत सेवा दिने दुईपाङ्ग्रे सवारी साधन धेरै छन् । यस्ता सेवा दिने चालकबाट पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियमको कार्यान्वयन सुरु गर्नु राम्रो हुन्छ ।
नेपालले सन् २०२१ देखि २०३० बीचको अवधिमा सडक दुर्घटनामा हुने मृत्यु ५० प्रतिशतले कम गर्ने लक्ष्य लिएको छ । तर, सडक दुर्घटनामा हुने मृत्यु घट्नुको सट्टा हरेक वर्ष बढेको छ । जसलाई कम गर्न सम्बन्धित निकाय कडाइका साथ लाग्नुपर्ने देखिन्छ ।
दुईपाङ्ग्रे सवारी साधनमा पछाडि बस्ने व्यक्तिहरूले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम एक्कासी लागू गर्नु भन्दा बिस्तारै लागू गर्दै जानु राम्रो हुन्छ होला जस्तो लाग्छ । पहिले ‘राइड सेयरिङ’ चालकबाट लागू गर्दै बिस्तारै सर्वसाधारणलाई लागू गर्न सकिन्छ । एक्कासी यो नियम लागू गर्न खोज्दा बजारमा हेलमेटको अभाव हुने, अभाव देखाएर कालो बजारी गर्ने, गुणस्तर कायम गर्न नसकिने समस्या हुनसक्छ ।
प्रतिक्रिया 4