
बिहान उठ्नासाथ एक कप ग्रीन टीको चुस्की लिनेहरू धेरै छन् । दिउँसो पनि यो पिउनेहरूको संख्यामा कमी छैन ।कोही तौल घटाउन, कोही स्वास्थ्य सुधार्न, त कोही सौन्दर्यका लागि ग्रीन टी पिउँछन् । ग्रीन टी विश्वभर लोकप्रिय छ ।
तर, यो हरियो चिया कसरी हाम्रो कपसम्म आइपुग्यो, र किन यति लोकप्रिय भयो ? यो कथा पनि कम रोचक छैन ।
चियाको उत्पत्ति हजारौं वर्षअघि चीनको हरियाली पहाडमा भएको मानिन्छ ।
कथनअनुसार एक सम्राटले तातो पानीमा चियाको पात खस्दा त्यसको सुगन्ध र स्वादमा जादु भेटे । त्यहीँबाट ग्रीन टीको यात्रा सुरु भयो ।
त्यसबेला देखि नै यो चिया औषधीय र साँस्कृतिक रूपमा प्रयोग हुँदै आएको छ।
नेपालमा भने ग्रीन टी खाने चलन केही वर्ष यता मात्र सुरु भएको हो । छोटो समयको अन्तरालमा नै यो चिया खानेको संख्या निकै छ ।
यो चिया बनाउन चियापत्तीलाई हल्का तताएर सुकाइन्छ, जसले यसको प्राकृतिक गुण र हरियो रङ जोगाउँछ । अन्य चियाको तुलनामा कम प्रशोधन हुने भएकाले यसका प्राकृतिक गुणहरू जस्ताको तस्तै रहन्छन् । यही गुणले यो चियालाई अरु भन्दा खास बनाउँछ ।
ग्रीन टीमा के पाइन्छ ?
ग्रीन टीमा एन्टिअक्सिडेन्ट (क्याटेचिन), क्याफिन, थिनाइन, भिटामिन सी, र खनिजको मात्रा भरपुर हुन्छ ।
यी तत्त्वहरूले संयुक्त मिश्रणले मेटाबोलिज्म बढाउन, तौल नियन्त्रण गर्न, मुटुको स्वास्थ्य सुधार गर्न र क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छ ।
ग्रीन टी कति खाने ?
ग्रीन टीको उचित मात्रा व्यक्तिको स्वास्थ्य अवस्था, उमेर, जीवनशैली र सहनशीलतामा भर पर्छ ।
केही अध्ययनहरूले स्वस्थ वयस्कका लागि दैनिक २ देखि ३ कप (लगभग २४० देखि ७२० एमएल) ग्रीन टी उपयुक्त हुने सुझाव दिन्छ । यो मात्राले ग्रीन टीबाट हुने फाइदाहरू लिन सकिन्छ । र, साइड इफेक्टहरूको जोखिम कम गर्छ ।
हार्वर्ड मेडिकल स्कूलका अनुसार दैनिक २ देखि ३ कप ग्रीन टीले मुटुरोगको जोखिम कम गर्न र मस्तिष्कको कार्यक्षमता बढाउन सहयोग गर्छ ।
ग्रीन टीमा रहेको एन्टिअक्सिडेन्टले रक्तनली सुन्निन दिदैँन वा सुन्निएमा कम गर्छ । जसले रक्तसञ्चार सुधार गर्ने र कोलेस्ट्रोल घटाएर मुटुरोगको जोखिम कम गर्छ ।
साथै, क्याटेचिन र एल–थियानिनले स्नायु स्वास्थ्यलाई सुधार गरी स्मरणशक्ति तथा एकाग्रता वृद्धि गर्छ ।
अन्य के फाइदा गर्छ ?
– एन्टिअक्सिडेन्टहरूले कोषहरूलाई हानिबाट जोगाइ क्यान्सर हुन सक्ने जोखिम कम गराउँछ ।
– यसमा पाइने एपिगलोकेटेसिन–३ ले क्यान्सरको कोषहरूलाई बढ्न दिदैँन ।
– छालालाई स्वस्थ र चम्किलो बनाउँछ ।
– शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
एक कप ग्रीन टीमा औसतमा २० देखि ४५ मिलिग्राम क्याफिन हुन्छ । यदि क्याफिनले गाह्रो बनाउँछ भने दैनिक २ कपभन्दा बढी नखानु राम्रो हुन्छ।
गर्भवती महिला, उच्च रक्तचाप भएका व्यक्ति वा पेटसम्बन्धी समस्याहरू भएकाहरूले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।
धेरै खान हुँदैन
फाइदा गर्छ भन्दैमा धेरै मात्रामा ग्रीन टी (दैनिक ५ कपभन्दा बढी) खाँदा क्याफिनको अधिकताले अनिद्रा, चिन्ता र पेट गडबड हुने सम्भावना हुन्छ ।
साथै, ग्रीन टीमा रहेको ट्यानिनले आइरनको अवशोषणमा बाधा पुर्याउन सक्छ, जसले रक्तअल्पताको जोखिम बढाउन सक्छ ।
ग्रीन टी अत्याधिक पिउँदा मुटुमा पनि असर पार्न सक्छ ।
कसरी खाने ?
ग्रीन टीको सेवन गर्ने तरिका पनि यसको प्रभावकारितामा महत्वपूर्ण हुन्छ । गलत तरिकाले तयार गर्दा यसको स्वाद र स्वास्थ्य फाइदा दुवै कम हुन सक्छ ।
– ग्रीन टी बनाउन ७५ देखि ८५ डिग्री सेल्सियस तापक्रमको पानी उपयुक्त हुन्छ ।
– ग्रीन टी अन्य चिया जस्तो पकाउनु पर्दैन । कपमा ग्रीन टी राखेर त्यसमाथि तातोपानी राख्ने । दुई–तीन मिनेट छोप्ने । त्यसपछि ग्रीन टी पिउन सकिन्छ ।
– पानी उम्लिएपछि १ देखि २ मिनेट चिसो हुन दिनुपर्छ । तर, उम्लिएको पानी (१०० डिग्री सेल्सियस) प्रयोग गर्दा ग्रीन टीको स्वाद तितो हुन सक्छ । र, यसका एन्टिअक्सिडेन्टहरू नष्ट हुन सक्छन् ।
चिया पकाउने समय
ग्रीन टीको पात वा टी–ब्यागलाई पानीमा १ देखि ३ मिनेटसम्म डुबाउनुपर्छ । धेरै समय राख्दा चिया तितो हुन्छ ।
पहिलो पटक पकाउँदा १ मिनेट राखेर स्वाद लिनुहोस्, त्यसपछि आफ्नो स्वादअनुसार समय थपघट गर्नुहोस् ।
ग्रीन टीको स्वाद बढाउन के गर्ने ?
ग्रीन टीमा कागतीको रस, मह वा अदुवा थप्दा स्वाद र स्वास्थ्य फाइदा दुवै बढ्छ ।
कागतीमा पाइने भिटामिन सीले पनि चियाको अक्सिडेन्ट अवशोषणलाई सहज बनाउँछ ।
चिनी वा कृत्रिम चिनीको प्रयोग गर्नुको सट्टा मिश्री प्रयोग गर्न सकिन्छ ।
ग्रीन टी कति बेला खाने ?
ग्रीन टी खाने समयले पनि यसको प्रभावमा फरक पार्छ । दिनको विभिन्न समयमा ग्रीन टी खाँदा फरक–फरक फाइदा प्राप्त गर्न सकिन्छ ।
बिहान खाना खाएपछि
बिहानको समयमा ग्रीन टी खाँदा मेटाबोलिज्म बढ्छ । र, दिनभर ऊर्जावान् महसुस हुन्छ । क्याफिन र थिनाइनको संयोजनले एकाग्रता र सतर्कता बढाउँछ ।
खाली पेटमा खान मिल्छ ?
खाली पेटमा नखाएको राम्रो । किनभने यसले पेट पोल्ने हुनसक्छ । किनकी, ग्रीन टीमा रहेको ट्यानिन र क्याफिनले खाली पेट हुँदा अम्लता बढाउन सक्छ, जसले ग्यास्ट्रिक वा अल्सरको समस्या निम्त्याउन सक्छ ।
त्यसैले, बिहानको खाजा वा खाना खाएको ३० देखि ६० मिनेटपछि ग्रीन टी खानु राम्रो हुन्छ । यद्यपि, बिहान मनतातो पानी पिइसकेपछि मात्र ग्रीन टी पिउनुपर्छ ।
दिउँसो खाना वा नास्तापछि
दिउँसो २ देखि ३ बजेको समयमा ग्रीन टी खाँदा थकान कम हुन्छ र मस्तिष्कको कार्यक्षमता बढ्छ । यो समयमा क्याफिनको हल्का मात्राले ऊर्जा प्रदान गर्छ ।
यदि व्यायाम गर्नुहुन्छ भने व्यायाम गर्नुभन्दा ३० देखि ४५ मिनेटअघि ग्रीन टी खाँदा बोसो खपत हुने प्रक्रिया तीव्र हुन्छ ।
साँझ सीमित मात्रामा
साँझ ६ बजेपछि ग्रीन टी खानु उपयुक्त हुँदैन । किनभने क्याफिनले अनिद्रा निम्त्याउन सक्छ ।
साँझको खाना खाएको १ देखि २ घण्टापछि हल्का ग्रीन टी पिउन सकिन्छ, जसले पाचनमा सहयोग गर्छ ।
विशेष अवस्थामा
तौल घटाउने उद्देश्यले ग्रीन टी खानुहुन्छ भने, बिहान र दिउँसोको समयमा खान सकिन्छ । खाना खानुभन्दा ३० मिनेटअघि वा पछिको समय उपयुक्त हुन्छ ।
यदि तनाव वा चिन्ता छ भने, थिनाइनको प्रभावका लागि दिउँसो शान्त वातावरणमा ग्रीन टी पिउन सकिन्छ ।
गुणस्तरीय ग्रीन टी कसरी छनोट गर्ने ?
बजारमा विभिन्न प्रकारका ग्रीन टी उपलब्ध छन् तर हामीले किन्दा अर्गानिक र उच्च गुणस्तरको ग्रीन टी छनोट गर्नुपर्छ । किनभने सस्तो चियामा रसायनको मात्रा बढी हुन सक्छ ।
सकेसम्म खुला ग्रीन टि लिनु उपयोगी हुन्छ । पानीमा भिजाएपछि चियाका पत्ताहरु पुनः हरियो देखिन्छ । यसले चिया अग्यार्निक प्रमाणित हो वा होइन बुझ्नु जरुरी छ ।
ग्रीन टीको ताजापन कायम राख्न यसलाई हावा नछिर्ने भाँडोमा, सूर्यको प्रकाश र आर्द्रता टाढा राख्नुपर्छ ।
सावधानी जरुरी
यदि रक्तचाप, रगत पातलो पार्ने वा अन्य औषधि खानुहुन्छ भने, चिकित्सकसँग परामर्श लिनु आवश्यक छ । ग्रीन टी खाना खानेबित्तिकै खानुहुँदैन । किनभने यसले आइरन अवशोषणमा बाधा पुर्याउँछ ।
प्रतिक्रिया 4