
३ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकका माग सम्बोधन गर्न सरकारले संसदको वर्षे अधिवेशन छिट्टै आह्वान गर्ने निर्णय गरेको बताएकी छन् ।
मन्त्री भट्टराईले बुधबार भिडियो सन्देश जारी गर्दै शिक्षकका माग सम्बोधन गर्न संसद बैठक आह्वान गर्ने निर्णय गरेको बताएकी हुन् । ‘विधेयक छिटो पारित गरियोस् भन्ने मागलाई सम्बोधन गर्न हिजोको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते त्यही विषलाई सम्बोधन हुनुगरी संसद बैठक आह्वान गरेको छ,’ मन्त्री भट्टराईले भनेकी छन् ।
शिक्षकका अरु माग सम्बोधन गर्न पनि मन्त्रालयले सहजीकरण समिति बनाएर संवाद गरिरहेको उनले बताइन् । ‘शिक्षकसँग संवादमा छौं । मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर संवादमा लागेका छौं,’ उनले भनिन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । सरकार र शिक्षक महासंघबीच पटक पटक संवाद भए पनि सहमति जुटेको छैन ।
सरकारले मन्त्रिपरिषद बैठकबाट शिक्षकहरुलाई आन्दोलन बन्द गरेर विद्यालय फर्किन आह्वान गरे पनि शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरु छन् ।
शिक्षक तथा कर्मचारीमैत्री शिक्षा ऐन छिटो जारी गर्नुपर्ने उनीहरुको मुख्य माग छ ।
शिक्षामन्त्री भन्छिन् : आन्दोलनरत शिक्षकका माग पूरा गर्न संसद अधिवेशन बोलाइयो | Bidya Bhattarai pic.twitter.com/2gsIJYJwPk
— Onlinekhabar (@Online_khabar) April 16, 2025
प्रतिक्रिया 4