
३ वैशाख, काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका नगर प्रहरीहरूले आफ्नो व्यवहार नसुधारेको भन्दै पुनः आलोचना भएको छ । बालुवाटारमा कवाडी संकलन गर्न हिँडेका एक जना मजदुरको साइकल नै खोसेर अमर्यादित ढंगले व्यवहार गरेको भन्दै नगर प्रहरीको आलोचना भइरहेको हो ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, स्थानीयको गुनासोपछि हिजो (मंगलबार) नगर प्रहरी सो क्षेत्रमा खटिएको थियो । बिहानैदेखि कवाडी संकलनकर्ताले हल्ला गरेर हिंड्ने गरेको भन्दै स्थानीयले लिखित र मौखिक उजुरी दिएको पाण्डे बताउँछन् ।
सोही क्रममा नगर प्रहरीको टोलीले साइकल खासेको उनको भनाइ छ ।
‘बिहान डिस्ट्रब हुनेगरी टिना/फलाम, कापी/किताब भन्दै हल्ला गरेको भनेर बारम्बार गुनासो आएको थियो । सोही सम्बोधन गर्न इन्सपेक्टर शम्भु विष्टको टोली खटिएको थियो,’ पाण्डेले अनलाइनखबरसँग भने ।
उनले साइकल खोस्न खोजेको पनि तत्काल कवाडी संकलनकर्ता मजदुरलाई फिर्ता दिएको बताए । ‘हाम्रो इन्सपेक्टरले राम्रो व्यवहार नगरेको सत्य हो । उसले गुड ह्यान्डलिङ गर्न सकेन,’ पाण्डे भन्छन्,
‘उसलाई कारबाही गरेर फिल्डबाट अफिसमा तानिसकेको छौं । मजदुरलाई साइकल फिर्ता पनि दिइसकेको छौं । आधिकारिक रुपमा हाम्रो धारणा पनि आउँछ ।’
कार्यशैलीमा निरन्तर प्रश्न
यसो त काठमाडौं महानगर प्रहरीको कार्यशैलीमा प्रश्न उठेको पहिलो पटक भने होइन ।
फुटपाथ व्यवसायीलाई गरेको धरपकड, कवाडी संकलनकर्ताहरूलाई गरेको व्यवहार, ठेलागाडामा सामान बेच्नेमाथि गरेको व्यवहारदेखि सडकमा माग्न बसेकहरूलाई समेत अमानवीय व्यवहार यसअघि पनि गर्दै आएको छ ।
महानगर प्रहरीको कार्यशैलीमाथि सामाजिक अभियान्ता ईःले उभिएर आन्दोलन समेत गरेका थिए । संघीय संसद्देखि महानगरको कार्यपालिकासम्म नगर प्रहरीको व्यवहारबारे टिप्पणी हुने गरेको छ ।
प्रतिक्रिया 4