+

मासु पच्न समय लाग्छ, सत्य कि भ्रम ?

२०८२ वैशाख  ३ गते १४:०० २०८२ वैशाख ३ गते १४:००
मासु पच्न समय लाग्छ, सत्य कि भ्रम ?

हामीले विभिन्न व्यक्तिबाट धेरै पटक सुनिरहेका हुन्छौँ नि, ‘मान्छे मासु खाने जाति नै होइन, मासु खाने खालका दाँत र पचाउन सक्ने क्षमता मान्छेसँग छँदैछैन । जसले जे तर्क गरेपनि मान्छेले धेरै खाने खानेकुरामै पर्छ मासु ।

के मान्छेको शरीरले मासु सजिलै पचाउँछ  ? कति समय लाग्छ मासु पच्न  ? के मासु साँच्चै पच्न धेरै समय लिन्छ  ? वैज्ञानिक अनुसन्धानले यसबारे के भन्छन् त  ?

पाचन प्रणाली

पाचन प्रक्रिया मुखबाट सुरु हुन्छ र ठूलो आन्द्रासम्म चल्छ। खाना खाएपछि, यो विभिन्न चरणहरूबाट गुज्रिन्छ ।

जब खाना मुखमा हालिन्छ, चपाउँदा साना टुक्रामा टुक्रिन्छ र लारमा रहेको एमाइलेज इन्जाइमले कार्बोहाइड्रेटलाई तोड्न थाल्छ ।

मुखबाट निलेपछि भोजननली हुँदै पेटमा खानेकुरा पुग्छ । यहाँ हाइड्रोक्लोरिक एसिड र पेप्सिनजस्ता इन्जाइमले खानालाई थप मसिनो बनाउँछन् । पेट अर्थात आमाशयमा खानेकुरा २ देखि ६ घण्टासम्म रहन्छ ।

पेटमा यी प्रक्रिया पूरा गरेपछि खाना सानोआन्द्रामा प्रवेश गर्छ । यहाँ प्यानक्रियाटिक इन्जाइम र पित्तले प्रोटिन, चिल्लो र कार्बोहाइड्रेटलाई थप मिहिन बनाउने काम गर्छ । पोषक तत्त्वहरू यहाँ अवशोषित हुन्छन् ।

बाँकी रहेको तत्त्व ठूलो आन्द्रामा प्रवेश गर्छ । ठूलो आन्द्राले त्यसमा भएको पानीलाई सोस्ने काम गर्छ अनि काम नलाग्ने फोहोर मलद्वार हुँदै बाहिर निस्किन्छ । यो प्रक्रिया १२ देखि ४८ घण्टासम्म चल्न सक्छ।

सामान्यतया, सम्पूर्ण पाचन प्रक्रियालाई २४ देखि ७२ घण्टा लाग्न सक्छ, तर यो खानाको प्रकार, व्यक्तिको मेटाबोलिज्म, र स्वास्थ्य अवस्थामा निर्भर रहन्छ।

मासुको पच्न किन समय लाग्छ ?

-मासु प्रोटिन र फ्याटको प्रमुख स्रोत हो, जसमा रातो मासु, सेतो मासु र प्रशोधित मासु पर्छन् ।

-उच्च प्रोटिन सामग्री भएकाले मासुमा जटिल प्रोटिनहरू जस्तै- कोलाजन, मायोसिन हुन्छन्, जसलाई पचाउन पेप्सिन र ट्रिप्सिनजस्ता इन्जाइमहरूले धेरै समय लिन्छन् ।

-रातो मासु र प्रशोधित मासुमा स्याचुरेटेड फ्याट धेरै हुन्छ, जसलाई पचाउन पित्त र लाइपेज इन्जाइमले लामो समय लिन्छ ।

-मासुको मांसपेशी तन्तुहरू घना हुन्छन्, जसले पाचन प्रक्रियालाई ढिलो बनाउँछ ।

पकाउने तरिकाले पनि मासु छिटो पच्ने र नपच्नेमा फरक पर्छ । बोसोयुक्त वा कम पकाइएको, डीप फ्राइ गरेर कडा बनाइएको, सुकुटी बनाइएको मासु पचाउन झन् धेरै समय लाग्छ ।

अनुसन्धानले के भन्छ ?

वैज्ञानिक अध्ययनहरूले मासुको पाचन समय र अन्य खानाहरूसँग तुलना गरेर विभिन्न निष्कर्षहरू निकालेका छन् ।

पेटमा रहने समय

प्रोटिनयुक्त खानाहरू मासुलगायत पेटमा २ देखि ४ घण्टासम्म रहन्छन्, जबकि कार्बोहाइड्रेटयुक्त खानाहरू चामल, रोटी आदिले १ देखि २ घण्टामा पेट छाडिसक्छन् ।

धेरै बोसोयुक्त मासु छ भने त्यो पेटबाट बाहिरिन ४ देखि ६ घण्टासम्म लाग्न सक्छ । सेतो मासु, चराको मासु, माछा आदिमा फ्याट र कोलाजन कम हुने भएकाले छिटो पच्ने तथ्य अमेरिकी जर्नल अफ फिजियोलोजीमा प्रकाशित एक अध्ययनले देखाएको छ ।

पूरा पाचनको समय

मासुको सम्पूर्ण पाचनका लागि २४ देखि ७२ घण्टा लाग्न सक्छ । ‘जर्नल अफ ह्युमन न्यूट्रेसन एण्ड डाइटेटिस’ मा प्रकाशित एक अध्ययनले भनेको छ-मासुको पाचन समय व्यक्तिको पाचन प्रणालीको स्वास्थ्य, आन्द्राको माइक्रोबायोम, र खानाको संयोजनमा निर्भर रहन्छ ।

सागसब्जी र फलफूलजस्ता फाइबरयुक्त खानाहरूले आन्द्राको गतिशीलता बढाएर मासु छिटो पच्न भूमिका खेल्छ ।

मासुको प्रकार

रातो मासु, खसी, राँगा, भेडा, सुँगुरलगायतको मासुमा फ्याट र प्रोटिन धेरै हुने भएकाले पाचनलाई ढिलो बनाउँछ । रातो मासुलाई पचाउन सेतो मासुको तुलनामा २० देखि ३० प्रतिशत बढी समय लाग्ने एक अध्ययनले देखाएको छ ।

पकाउने तरिका

उमालेको वा हल्का पकाएको मासु छिटो पच्ने जर्नल अफ फुड साइन्समा प्रकाशित एक अध्ययनको निष्कर्ष छ । तारेको वा ग्रील गरेको मासुमा बोसो र कडा प्रोटिन बढी हुने र पाचनका लागि समय लाग्ने उल्लेख गरिएको छ ।

काँचो वा कम पकाइएको मासुमा परजीवी वा ब्याक्टेरियाको जोखिम हुन्छ, तर पकाइएको मासुको तुलनामा यो छिटो पच्छ ।

व्यक्तिको पाचन क्षमता

प्रत्येक व्यक्तिको पाचन प्रणाली फरक हुन्छ । मेटाबोलिज्म, पेटको अम्लता, इन्जाइमको उत्पादन, र आन्द्राको माइक्रोबायोमले पाचन समयलाई प्रभावित गर्छ । तनाव वा ग्यास्ट्रोइन्टेस्टाइनल जस्ता समस्याले पनि मासुको पाचनलाई ढिलो बनाउने अध्ययनले देखाएको छ ।

पाचन मासु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय