+
+
Shares

सभामुख–सरकार कुरा बाझिँदा आश्वस्त भएनन् शिक्षक, आन्दोलन थप सशक्त बनाउने

‘वर्षे अधिवेशनमा बजेट प्राथमिकतामा पर्ने हुँदा तुरुन्तै शिक्षा ऐन जारी हुने सम्भावना नरहने सभामुखको अभिव्यक्तिले आन्दोलनरत शिक्षक सरकारसँग झस्किएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १६:१५
प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ।

३ वैशाख, काठमाडौं । विद्यालय शिक्षा ऐन पारित गर्ने उद्देश्यसहित सरकारले १२ वैशाखमा संसद्को वर्षे अधिवेशन बोलाउने निर्णय गर्‍यो । मुख्यतः शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गरेपछि माग सम्बोधनकै लागि भनेर मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन आह्वान गरेको हो ।

तर, बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले वर्षे अधिवेशनमा बजेटलाई प्राथमिकता दिनुपर्ने भएकाले शिक्षा ऐन जारी गर्नु पर्ने शिक्षकका माग सम्बोधन गर्न नसकिने बताएपछि आन्दोलित शिक्षक सरकारसँग झस्किएका छन् ।

मंगलबार बेलुकी मन्त्रिपरिषद् बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले भनेकी थिइन्, ‘विधेयक छिटो पारित गरियोस् भन्ने मागलाई सम्बोधन गर्न मन्त्रिपरिषद् बैठकले १२ वैशाखमा संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।’

बुधबार प्रतिनिधिसभाका सभामुख घिमिरेले भने, ‘अब आह्वान भएको अधिवेशनले पनि शिक्षा विधेयकलाई तुरुन्तै एक नम्बरको बुँदामा राखेर टुंग्याएर अर्को विषयमा जानु सम्भव छैन । किनभने, बजेट अधिवेशनले बजेटसँग सम्बन्धित विषयलाई नै प्राथमिकता दिनुपर्छ ।’

सभामुख घिमिरेले थपेका छन्, ‘संविधानतः पनि १५ जेठमा बजेट प्रस्तुत हुनैपर्छ र असार मसान्तसम्ममा पारित भइसक्नुपर्छ । कानुनी प्रक्रियाको सीमाभित्रै बसेर काम गर्नुपर्ने बाध्यता हुन्छ ।’

जेठ महिनाभर पनि विधेयक पारित भएर ऐनको रुप लिन नसक्ने दाबी सभामुख घिमिरेको छ । ‘शिक्षा ऐनको लागि विधेयक संसदमा पुग्नुपर्छ । संसद्ले विधेयक पास गर्नुपर्छ । संसद्मा विधेयक पुग्नका लागि सम्बन्धित समिति छलफल गरी संसदमा पठाउनुपर्छ ।

जेठ महिनाभर पनि विधेयक पारित भएर ऐनको रुप लिन नसक्ने दाबी सभामुख घिमिरेको छ ।

सभामुख घिमिरेकाअनुसार शिक्षा उपसमितिले विधेयकबारे छलफल गरी समितिमा पठाउन १५ वैशाखसम्मको समय सीमा छ । ‘त्यसपछि पनि समितिमा छलफल हुन्छ । समितिले पास गरेर विधेयक संसद्मा पठाउने हो । फेरि बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमले प्राथमिकता पाउँछ । यो हिसाबमा जेठ महिनाभर पनि विधेयक पारित भएर ऐनको रुप लिन नसक्ने देखिन्छ ।’

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ।

शिक्षकहरूले ऐन जारी गर्न सरकारसमक्ष तीनवटा उपाय रहेको बताउँदै आएका थिए । छिटो वर्षे अधिवेशन बोलाउने, विशेष अधिवेशन बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्ने ।

सरकारले शिक्षा विधेयकलाई लक्षित गरेर छिटै वर्षे अधिवेशन बोलाएको बताएको छ । तर सभामुख घिमिरेले वर्षे अधिवेशनमा शिक्षकको माग सम्बोधन गर्न असम्भव रहेको बताएपछि शिक्षकहरू थप सशंकित भएका छन् ।

शिक्षक भन्छन्– विश्वासिलो आधार बनेन

शिक्षकका मागका विषयमा सरकार र संसदबीच कुरा बाझिएपछि शिक्षकहरू ऐन जारी हुने विश्वासिलो आधार नबनेको बताउँछन् । शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुली सभामुखले मात्र होइन शिक्षा समिति सभापति अम्बरबहादुर थापाले पनि विधेयक टुंगो लगाउन अझैं डेढ महिना लाग्ने बताएकाले विश्वासको आधार बन्न नसकेको बताइन् ।

‘विषयगत समितिको सभापति टुंगो लगाउन अझै डेढ महिना लाग्छ भन्नुहुन्छ,’ पराजुलीले शंका व्यक्त गर्दै भनिन्, ‘सरकार ठिक्क पारेर अधिवेशन बोलाउने । तर यो अधिवेशनमा पेस हुन्छ भन्ने ग्यारेन्टी छैन ।’

सरकारसँग आश्वस्त नभएको नेपाल शिक्षक महासंघले ‘निर्णायक मोडमा’ आइपुगेको भन्दै थप शिक्षक तथा कर्मचारीहरुलाई देशभरबाट काठमाडौं बोलाएको छ ।

सरकारले शिक्षा ऐन नचाहेको टिप्प्णी गर्छिन् शिक्षक आन्दोलनको परिचालन समितिको संयोजसकेत रहेकी पराजुली । ‘सरकारको विश्वास गर्ने आधार छैन । सरकार रित्तै घर फर्काउन चाहन्छ,’ उनले भनिन्, ‘सरकारको योजना त्यस्तो हो । सरकार जिम्मेवार छैन । सरकारलाई ऐन चाहिएको छैन,’ उनले भनिन् ।

सरकारसँग आश्वस्त नभएको महासंघले देशभरबाट थप शिक्षकलाई आन्दोलनका लागि काठमाडौं बोलाएको छ । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले ‘निर्णायक मोडमा’ आइपुगेको भन्दै थप शिक्षक तथा कर्मचारीहरुलाई काठमाडौं बोलाएको हो ।

‘अब हामी निर्णायक मोडमा आइपुगेका छौं । त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

शैक्षिक हड्ताल गरेर शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

आन्दोलनरत शिक्षकहरूले बुधबार गरेको प्रदर्शन । तस्वीर : अनलाइनखबर ।

ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने अडान शिक्षकहरूको छ । तर, शिक्षकको आन्दोलनका कारण ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

१ वैशाखबाट २०८२ को शैक्षिकसत्र सुरु भए पनि सरकारी विद्यालय ठप्प छ । एसईई परीक्षाको परीक्षापत्र परीक्षण हुन सकेको छैन भने १२ वैशाखबाट हुने कक्षा १२ को परीक्षासमेत प्रभावित हुने जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?