+
+
Shares

डा. कोइरालाको अभियान : सुधारको नारा कि पुनर्जागरणको आरम्भ ?

नेपाली कांग्रेसले अपनाएको नीति, नेतृत्व र आन्दोलनले देशमा भएका सबै राजनीतिक परिवर्तनलाई निष्कर्षमा पुर्याएको हो। तर आज यही पार्टी गहिरो नैतिक, वैचारिक र संस्थागत संकटमा फसेको छ।

देवराज चालिसे देवराज चालिसे
२०८२ वैशाख ३ गते १६:२३

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै ‘स्वच्छ राजनीतिका लागि अभियान’ को आह्वान गर्नुभयो। यो अभियान केवल सुधारको नारा हो वा लोकतन्त्र, नैतिक उत्तरदायित्व र संस्थागत पुनर्जागरणमा आधारित एक राजनीतिक आन्दोलनको आरम्भ हो, यसको उत्तर समयले दिनेछ।

नेपालमा हाल देखिएको राजनीतिक संकट केवल कुनै एक पार्टीमा सीमित नभई समग्र दलहरूको नैतिक र व्यावहारिक संकट हो। तर नेपाली कांग्रेस जेठो, अग्रणी र अभिभावक दलको हैसियतले अरु दलमा समेत प्रभाव पार्छ। हाम्रो समाज र राजनीतिक संस्कारले कांग्रेसलाई ‘दाजु’, एमालेलाई ‘भाइ’, माओवादीलाई ‘साहिँलो’ र राप्रपालाई ‘काका’ बनाएको छ।

नेपाली कांग्रेसले अपनाएको नीति, नेतृत्व र आन्दोलनले देशमा भएका सबै राजनीतिक परिवर्तनहरूलाई निष्कर्षमा पुर्याएको हो। तर आज यही पार्टी गहिरो नैतिक, वैचारिक र संस्थागत संकटमा फसेको छ। विशेषतः अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वले सुधार, आत्मसमीक्षा र संगठनात्मक पुनर्संरचनाभन्दा सत्ता प्राप्ति र संरक्षणलाई प्राथमिकता दिएको देखिन्छ। यसले पार्टीभित्र व्यापक असन्तोष जन्माएको छ।

युवापुस्तामाथि आशा गरिएको थियो, तर उनीहरू पनि सत्ताको दौड, मिडियामुखी बयानबाजी र व्यक्तिगत छवि निर्माणमै केन्द्रित देखिए, जसले उनीहरूलाई सुधारक हैन, सत्ताको नयाँ आकांक्षी बनाइदियो। जिम्मेवारी सधैँ प्राप्त हुँदैन, ‘हर्षोल्लास र आशा’ को समय अब दक्षता र परिणामको क्षणमा आइपुगेको छ। पार्टी नेतृत्वमा व्यवस्थापन, समन्वय र दीर्घकालीन रणनीति निर्माणमा दक्षता देखिनु आवश्यक थियो, त्यो देखिएन। नेतृत्व केवल लोकप्रियता बढाउने, तिखा अभिव्यक्ति दिने र गुटगत प्रतिस्पर्धामा सीमित रहन थालेको छ भने कांग्रेसको भविष्य असुरक्षित बन्न सक्छ।

बीपी कोइरालाले प्रतिपादन गरेको ‘ज्ञान, प्रज्ञान र विवेक’ को सूत्र अहिले कांग्रेस नेतृत्वमा क्षीण हुँदै गएको छ। ज्ञानले योजना दिन्छ, प्रज्ञानले दिशा देखाउँछ र विवेकले सही–गलत छुट्याउँछ। त्यसैले पार्टीमा अनुभव र ऊर्जाबीच समन्वय अपरिहार्य हुन्छ। तर हालको आत्मकेन्द्रित सोचले पार्टीको मूल आत्मा खण्डित बनाएको छ। पार्टीमा शक्ति केन्द्रीकरणको सट्टा सामूहिक चिन्तन र संवाद आवश्यक छ।
‘ए थेउरी अफ जस्टिस’ पुस्तकमा लेखक जोन रल्सले भनेझैँ न्याय सामाजिक संस्थाहरूको पहिलो गुण हो। जब देशको राजनीति र पार्टीभित्र न्याय मर्छ, नैतिक आधार नभएको राजनीति संस्थागत हुँदै जान्छ वा नैतिकताद्वारा अनुप्राणित नभएको लोकतन्त्र हुन्छ भने त्यो लोकतन्त्र होइन, केवल शक्ति- व्यवसाय हुन्छ।

यही सन्दर्भमा डा. कोइरालाले सुरु गर्नुभएको ‘स्वच्छ राजनीतिका लागि अभियान’ केवल पार्टी सुधारमा सीमित नराखी, समग्र राष्ट्रिय राजनीतिको नीति र मूल्य पुनर्स्थापनाको आन्दोलन हुनुपर्छ। डा. कोइरालाको अभियान नीति, पारदर्शिता र सहभागितालाई नेतृत्वको केन्द्रमा राख्दै अगाडि बढ्न खोजेको छ।

कोइरालाकै शब्दमा ‘हामीले देश र जनतालाई आफू र पार्टीभन्दा माथि राख्यौं भने मात्र संकटबाट मुक्त हुन सक्छौं।’ त्यसैले न्यायको सिद्धान्तसँग गहिरो संवाद अपरिहार्य छ।

शक्ति नै उद्देश्य बनेको राजनीति नैतिकताको सत्रु हुन्छ। कांग्रेसमा बढ्दो सत्तामुखी प्रवृत्ति र विचारहीन गुटगत राजनीतिप्रति डा. कोइरालाले प्रस्तुत गरेको नैतिक प्रतिरोध स्वागतयोग्य छ। लोकतन्त्रको आत्मा संवाद हो। निर्णय प्रक्रिया पारदर्शी, सार्वजनिक संवादमा आधारित नभएसम्म नेतृत्वको वैधता स्थापित हुन सक्दैन। कोइरालाले समयमै महाधिवेशन, आन्तरिक संवाद र साझा निर्णय प्रणालीको माग गर्दै व्यवहारमा संवादमूलक राजनीति अवलम्बन गर्ने प्रयास गर्नुभएको छ।

राजनीति केवल प्रक्रिया हैन, यसले नागरिक गुण र मूल्यको विकास पनि गर्नुपर्छ। आज कांग्रेसमा लोकप्रियतावादको होड छ, विचार र मूल्य अर्थहीन बन्दै गएका छन्। अहिलेको आवश्यकता विवेकशील नेतृत्वको हो, जसले नाराभन्दा पनि नैतिकतामा विश्वास गरोस्।

कांग्रेसको राजनीतिक पहिचान अहिले ‘आइडेन्टिटी पोलिटिक्स’ सँग विचलित देखिन्छ। म्याकियाभेलीयन प्रवृत्तिअनुसार सत्ता नै अन्तिम लक्ष्य भएको जस्तो देखिन्छ। विचार, दर्शन र उद्देश्य छायामा परेको अवस्था छ। रूसोले भनेझैँ ‘जन-इच्छा’ हराएको छ। कांग्रेसको पुनर्जागरण भनेको यिनै संकटको तात्त्विक उत्तर हो, जसले विचार, मूल्य र उत्तरदायित्वलाई पुनःस्थापित गरोस् ।

अमर्त्य सेनले भनेझैँ ‘सार्वजनिक तर्क–विमर्श’ नै लोकतन्त्रको मापदण्ड हो। यही विमर्श डा. कोइरालाले फेरि उठाएका छन्। नियुक्ति, जिम्मेवारी बाँडफाँट, बजेट वितरण र नीतिगत प्राथमिकतामा पारदर्शिता रहेछ भने मात्र सेवा–केन्द्रित राजनीति सम्भव हुन्छ।

डा. कोइरालाले यदि स्वच्छ राजनीतिका लागि अभियानलाई सेवा, न्याय र नैतिकताको आन्दोलन बनाउनुभएको हो भने, यो नेपाली कांग्रेसको नैतिक आत्माको पुनरुत्थान हुनेछ। यो अभियान राजनीतिक मात्र होइन, दार्शनिक र संरचनागत दृष्टिमा आधारित पूर्ण राजनीतिक पुनर्जागरणको बीज बन्न सक्छ।

तर, यदि यो अभियान पनि केवल नारामा सीमित रह्यो वा सत्ताको नयाँ अस्त्र बनेर सकियो भने, त्यो अर्को दुर्भाग्य हुनेछ।

यस अभियानलाई प्रभावकारी बनाउने केही रणनीतिक योजनाहरू अवलम्बन गर्नु आवश्यक छ । यसका लागि सर्वप्रथम सम्पूर्ण नेताहरूद्वारा हस्ताक्षर गरिएको ‘नैतिक आचारसंहिता’ सार्वजनिक गर्नुपर्छ। यसले भ्रष्टाचार, अनैतिक गठबन्धन र अराजनीतिक चरित्रको गुटबन्दीमा संग्लन हुनेहरूलाई पार्टीको मूल सिद्दान्त विरुद्धको व्यवहार ठहर गर्न सक्नुपर्छ।

नेतृत्व व्यक्तित्वबाट होइन, ज्ञान, दृष्टि र आचरणबाट बन्छ भन्ने सन्देश दिन हालको कर्मकाण्डी प्रशिक्षण विभाग खारेज गर्दै ‘कांग्रेस लोकतन्त्र विद्यालय’ स्थापना गरी युवालाई राजनीतिक दर्शन, सार्वजानीक नीति र नेतृत्व कौशलमा नव-प्रशिक्षण मोडलहरू तयार गरी प्रशिक्षण दिइनुपर्छ।

प्रत्येक प्रदेश, जिल्ला र वडास्तरमा पार्टी-जनता संवाद केन्द्र स्थापना गरी नीति निर्माणमा आमजनको विचार समावेश गर्नुपर्छ ।यसले जनतामा कांग्रेसको निर्णयप्रति अपनत्व पैदा गर्छ।

अप्राकृतिक जस्तो देखिने गठबन्धन जनताको निराशाको स्रोत हो । संविधानमा व्यवस्था गरिएको निर्वाचन प्रणाली यसको कारण हो, यसको निरन्तरताले लोकतन्त्रलाई कुरूप बनाएको छ । सत्ता केन्द्रित बनाएको छ।

पार्टीले राजनीतिका विवादित विषयहरूबाट लोकतन्त्रको रक्षा गर्दै आवश्यकता अनुसार संविधान संशोधनका अजेन्डाहरू सार्वजनिक गरी जनतालाई सहमत गराउन सक्नुपर्छ। समस्याको जडमा प्रवेश नगरी मात्र लोकप्रिय बन्ने प्रचारको उद्देश्यले यस्ता नीतिहरूबाट उम्कन सजिलो छैन ।

पार्टी नेतृत्वले प्रत्येक वर्ष ‘पार्टी प्रदर्शन प्रतिवेदन’ सार्वजानिक गर्न सक्नुपर्छ, जसमा उपलब्धि, कमजोरी, सुधार योजना र प्रतिवद्दता स्पष्ट रूपमा उल्लेख भएको हुनेछ।

नागरिकले समान अवसर खोजेका छन्, जनताबाट प्राप्त शक्ति शोषण र रवाफ होइन, सेवा बन्नुपर्छ। राजनीति जनतासँगको नैतिक सम्बन्ध हो, यसको पारदर्शिता सुधार र विकासको पूर्वसर्त हो। यी सबै विषयले कुराले डा. कोइरालाको अभियानसँग प्रत्यक्ष सरोकार रख्छन्। यसले स्वच्छ राजनीतिलाई केवल राजनीतिज्ञहरूको सपना होइन, दार्शनिक र व्यावहारिक परियोजनाको रूपमा प्रस्तुत गर्छ।

नेपाली कांग्रेसले यदि आफ्नो ऐतिहासिक उत्तरदायित्व सम्झन सकेन, केवल नेतृत्व र चुनावी रणनीतिमा सीमित हुन चाह्यो भने, त्यसले लोकतन्त्र मात्र होइन, आम नागरिकको सपना पनि तोड्नेछ।

डा. शेखर कोइरालाको ‘स्वच्छ राजनीतिका लागि अभियान’ एउटा ऐतिहासिक अवसर हो। यो अभियानले पार्टीले आफ्ना गल्ती स्वीकार्दै सुधारको बाटो रोज्न प्रेरित गर्छ। समकालीन राजनीतिक दर्शनद्वारा पुष्टि गरिएका मूल्यहरू- न्याय, पारदर्शिता, संवाद, सेवा र विवेक अब राजनीतिमा केवल विमर्शको विषय होइन, कार्यान्वयनको अनिवार्यता हो।

यदि यो देशमा साँचो अर्थमा लोकतन्त्र बाँचोस् भन्ने चाहना छ भने, कांग्रेसको नयाँ पुनर्जन्म यिनै सिद्धान्तहरूमा आधारित हुनुपर्छ। राजनीति जनतासँगको नैतिक सम्बन्ध हो, जसमा पारदर्शिता, समान अवसर र सेवा केन्द्रित सोच अनिवार्य शर्त हुन्।

डा. शेखर कोइरालाको ‘स्वच्छ राजनीतिका लागि अभियान’ आजको दिनमा कांग्रेसका लागि ऐतिहासिक मोड हो। यसलाई पार्टीको केन्द्रीय दस्तावेजको रूपमा स्थापित गरिनुपर्छ, जसले राजनीति केवल सत्ताको साधन नभई, न्याय, सेवा र उत्तरदायित्वको यात्राको रूपमा पुनः परिभाषित गर्नसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?