३ वैशाख, काठमाडौं । ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा ‘बागमती वारियर्स– बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता २०२५’ यही वैशाख पहिलो साता हुने भएको छ ।
आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख ५ र ६ गते त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सञ्चालन हुने जानकारी दिएको हो ।
प्रदेशस्तरिय प्रतियोगिता भनिए पनि बागमती प्रदेशभित्र कुनै पनि जिममा आवद्ध भएका सबै खेलाडीहरुले यस प्रतियोगिता भाग लिन पाउने आयोजक ललितपुर जिल्ला पावरलिफ्टिङ संघका अध्यक्ष विजय देउलाले जानकारी दिए ।
प्रतियोगितामा कूल १३ विधामा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुषतर्फ ५ र महिलातर्फ ४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने मास्टर्स र उमेर समूहमा पनि प्रतिस्पर्धा गराइनेछ ।
पुरुषतर्फ ५९ केजी मुनि, ६६ केजी मुनि, ७४ केजी मुनि, ८३ केजी मूनी र ८३ केजी माथि तथा महिलातर्फ ५७ केजी मुनि, ६३ केजी मुनि, ६९ केजी मुनि र ६९ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुने संघका अध्यक्ष देउलाले जानकारी दिए ।
यसैगरी उमेर समूमा पुरुष ५० वर्ष माथि, महिला ४० वर्ष माथि, सब जुनियर पुरुष १८ वर्ष मुनि र जुनियर पुरुष २३ वर्ष मुनि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा करिब १५० भन्दा बढि खेलाडीको सहभागिता हुने आयोजकको अपेक्षा छ । यस्तै खेल अफिसियल तथा भोलेन्टियर करिब ८० जना रहने र दर्शकहरु करिब एक हजार देखि एक हजार पाँच सय सम्म उपस्थित हुने अनुमान गरिएको छ।
प्रतियोगितामा प्रत्येक तौल वर्गका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई क्रमशः नगद रू. २० हजार, १५ हजार र १० हजार प्रदान गरिनेछ ।
प्रत्येक उमेर समूह (मास्टर, सब जुनियर, जुनियर) का पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई क्रमशः नगद रू. ३० हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी पुरुष र महिला ओपनतर्फ ओभरअल विजेताले नगद १ लाख पुरस्कार र ट्रफी पाउनेछन् ।
विजेताहरूलाई नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रायोजकहरूबाट उपहार गिफ्ट ह्याम्पर समेत प्रदान गरिनेछ ।
प्रतियोगितामा पुरस्कार राशी ८ लाख २५ हजार बराबरी रहेको र कार्यक्रमको अनुमानित बजेट २५ लाख रहेको आयोजनकले जनाएको छ ।
यस प्रतियोगितामा उत्कृष्ट पावरलिफ्टरहरूबीच प्रतिस्पर्धा हुने र यो प्रतियोगिताबाट आगामी अगस्टमा काठमाडौंमा आयोजना हुने एशियन पावरलिफ्टिङ प्रतियोगिताका लागि खेलाडी छनोट समेत गरिने आयोजकले जनाएको छ ।
पावर लिफ्टिङमा संलग्न खेलाडीहरुको विकासका लागि यो प्रतियोगिता आयोजना गरिएको नेपाल पावर लिफ्टिङ संघका अध्यक्ष सुन्दर भुषालले जानकारी दिए ।
प्रतिक्रिया 4