+
+
Shares

चौरी मेला : उँभौलीमा फालेलुङसम्म (फोटोकथा)

मिलन मुखिया मिलन मुखिया
२०८२ वैशाख ३ गते १८:०३

एक–दुई ठाउँमा बाटो बिरायौं । सोधीखोजी गर्दै अगाडि बढ्यौं । उकालै उकालो । लेकको बाटो । अलि माथि पुगेपछि ‘भैँसे पोखरी’ भन्ने ठाउँ रहेछ ।

नाम अनुसार ठाउँ भन्नुजस्तो । त्यस नजिकैको घरको आँगनमा भैंसी देखियो ।

कहिल्यै नहिँडेको बाटो पहिल्याउन गाह्रै हुन्छ । अगाडि कस्तो छ ? के छ ? थाहा नहुने । केही माथिसम्म उक्लिएपछि हाम्रो बाइकले तान्न छाड्यो । हामी मात्र हो र ? अरु पनि बाइकवालाहरू सुस्केरा हाल्न थाले । अनि बाइक छाडेर थ्याच्च भुँइमा बसेँ । गाडी कुदाउनेहरूको दसा पनि त्यस्तै ।

गाडीलाई पनि ‘लेक लाग्छ’ ?

सामान्यत लेकको हावापानीमा बस्न नसक्ने मान्छेलाई त्यो उचाइमा पुग्दा सास फेर्न गाह्रो हुने, हातखुट्टा गल्ने जस्ता समस्या हुन्छ । यसैलाई ‘लेक लागेको’ भनिन्छ ।
मेरा सहयात्री सोम सुनुवारलाई कसो लेक लागेन । बाइकबाट झर्दै, पछिपछि दौडँदै । त्यो उचाइ र त्यो उकालोमा धेरैबेर दौडन सके पो ?
अलिकति दौडन्छन्, स्याँ–स्याँ गर्छन् । छाती मुसार्छन् । ‘हैट दुख्यो’ भन्छन् ।

यसरी नै दुःखजिलो गर्दै हामी उक्लिन भने छाडेनौँ । पाँचथरको फिदिम बजारबाट हिँडेको करिब ३ घण्टापछि हामी एउटा फराकिलो खर्कमा पुग्यौं । अनन्तसम्मको घाँसे मैदान । स–सना थुम्काथुम्की । आजको हाम्रो गन्तव्य यहीँसम्म थियो ।

प्रवेशद्वारमा लेखिएको थियो, ‘फालेलुङ चौरी पर्यटन महोत्सव ।’

फालेलुङ बल्लतल्ल पुगिएको थियो । यो त्यही ठाउँ थियो, जसको नाम हामीलाई बाल्यकालदेखि नै कण्ठ थियो । किनभने हाम्रोतिर तिहारमा देउसी खेल्दा ‘उँभौलीमा फालेलुङसम्म’ भनी भट्याउने गरिन्छ । सानो छँदा फालेलुङ के हो, कहाँ हो ? थाहापत्तो हुँदैनथ्यो । वास्तवमा यो इलाम–पाँचथरको उच्चतम् विन्दुमा अवस्थित लेकाली खर्क रहेछ ।

चौरी महोत्सव । यही वाक्यले हामीलाई यहाँसम्म तानेको थियो । त्यसैले त जसबीरेस्थित घरबाट बिहान ३ नबज्दै हिँडिएको थियो । त्यहाँबाट इलाम, इलामबाट फिदिम हुँदै फालेलुङसम्म आइपुग्दा करिब ७ घण्टा लामो यात्रा छिचोलिएछ ।

शरीर थाकेको थियो । तर मन थाकेको थिएन । किनभने त्यहाँको दृश्यहरुले मनलाई जाँगरिलो बनाइदिन्थ्यो । चौरीको बथान देखेपछि हामी यसै रोमाञ्चित भयौँ । दिनभर त्यहाँको रमाइलोमा भुलेर चौरी किसान तथा होमस्टे व्यवसाय निरबहादुर खपाङ्गीको घर गयौँ । केही बेरमै असिना बर्सिन थाल्यो ।

केही क्षण त्यहाँ बसेर हामी फेरी अर्को बाटोबाट ओर्लन थाल्यौँ । उस्तै हिलो, उस्तै साँघुरो बाटो । लड्दै पड्दै हामीले घरको दूरी छोट्याइरह्यौं । छोट्याइरह्यौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?