
३ वैशाख, काभ्रेपलाञ्चोक । बाढीपहिरो गएको करिब ७ महिनापछि मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन थालिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाको आयोजनामा मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आकलन थालिएको हो । रोशी गाउँपालिका–२ नारायणटारमा गृहमन्त्री रमेश लेखक बस्तीमै पुगेर क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलनको सुरूवात गरेका छन् ।
गृहमन्त्री लेखकले स्थानीय धनसिंङ लामा, राजन बोहरा क्षेत्री र समित्रा सेन्चुरीलाई गृहमन्त्रालय राष्ट्रिय विपदजोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकारणमार्फत विपद प्रभावित परिवारको लागत संकलन सम्पन्न भएको निस्सा हस्तान्तरण गरेर उक्त कार्यको सुरूवात गरे ।
उनले मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आंकलन शुभारम्भसँगै पुननिर्माणको काम सुरु भएको बताए । बाढीपहिरोबाट पूर्ण क्षति भएका सबै निजी आवास एक वर्षमा पूरा गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
‘केही नीति, कानुन र कार्यविधि’ का कारण बाढीपहिरोबाट भएको क्षतिको पुननिर्माणमा ढिलाइ भएको स्वीकार्दै गृहमन्त्री लेखकले विस्तृत क्षति संकलनको काम सम्पन्न भए लगत्तै अस्थायी र स्थायी आवासको काम सुरु भएको बताए ।
काभ्रेपलाञ्चोकमा रहेका बाढी-पहिरो पीडित परिवारका लागि अस्थायी आवास निर्माण गर्न हिजो (बुधबार) मात्र ७ सात करोड ३५ लाख रुपैयाँ रकम निकाशा भएको जानकारी दिए । काभ्रेमा मात्र नभई विपद्बाट क्षति पुगेका सबै जिल्लामा सरकारले रकम निकासा गर्ने जानकारी दिए ।
सरकारले अस्थायी आवासका लागि २५ हजारका दरले दुई किस्तामा ५० हजार रुपियाँ र स्थायी आवासको लागि चार लाख रुपियाँ उपलब्ध गराउने उनको भनाइ थियो। गृहमन्त्री लेखकले स्थानीय तहले विपद् पोर्टलमा प्रभावितको तथ्याङ्क समावेश गर्ने काममा ढिलाई र बजेट लगायतका विविध कारणले पुनर्निर्माणको काममा ढिलाइ भएको बताए ।
यस्तै प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ, नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईं र गणेश लामा, प्रदेशसभा सदस्य तीर्थ लामाले बाढीपहिरोबाट क्षति भएका निजी आवास, सार्वजनिक पूर्वाधार निर्माणका लागि सबै एकजुट भएर छिटोभन्दा छिटो काम सुरु गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेश भट्टले बाढीपहिरोका कारणबाट क्षति भएका निजी आवासको विस्तृत आंकलनको काम सकिएसँगै स्थायी आवास निर्माणको काम सुरु गरिने बताए। उनले भने, ‘पहिले विस्तृत आंकलन गर्छौ, त्यसपछि मात्र पुर्ननिर्माणको काम हुन्छ।’
कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले निजी आवासमा साथै सार्वजनिक पूर्वाधारको पुनर्निर्माणको काम कसरी सुरु गर्ने भन्ने चुनौती रहेको बताए।
नीजि निवास सँगै सार्वजनिक सम्पत्तिहरुमा पनि धेरै क्षति पुगेको जानकारी गराउँदै बाढीपहिरोका कारण गाउँपालिकाभित्रको सयौ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएकोले खाद्य सङकटको अवस्था समेत देखिने जोखिम रहेको उनले बताए ।
बाढीपहिरोको क्षति आंकलन लागि १८ जना प्राविधिक खटिनेछन् । तीन समूहमा खटिएका टोलीले क्षतिग्रस्त घरुहरुको मुल्याङ्कन गरेर पूर्ण, आशिंक क्षति भएको विवरण संकलन गर्नेछन् ।
रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवकुमार वान्तवाले पालिकाका ५ सय ६३ लाभग्राहिको घर आंशिक, पूर्ण र स्थानान्तरण गर्ने बारेमा डाटा संकलन गरिने जानकारी दिए। ‘नीजि निवासहरु प्रवलीकरण वा पुननिर्माण गर्नुपर्ने के हुन्छ, त्यसलाई पूर्ण, आशिंक, सामान्य र स्थानान्तरण भनेर छुट्याउँछौ, त्यसपछि पुर्ननिर्माणको काम गर्छौ ।’–भान्तवाले भने।
काभ्रे जिल्लामा ३ हजार ३ सय २८ निजी आवासमा क्षति पुगको छ भने १२ सरकारी भवन पूर्णरुपमा तथा १ सय ३५ वटामा आंशिक क्षति पुगेको छ । आठ सार्वजनिक भवन पूर्णक्षति भएका छन् भने १ सय ३४ वटामा आंशिक क्षति पुगेको जनाइएको छ ।
सहरी विकास तथा भवन कार्यालय काभ्रेका अनुसार कूल क्षति पुगेको निजी आवासमध्ये २ हजार ५ सय ७७ घर पूर्णरुपमा क्षति भएका छ भने ७ सय ५१ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी जिल्लाका विभिन्न स्थानका ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् । जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी बेथानचोक तथा सबैभन्दा कम क्षति महाभारत गाउँपालिकामा छ ।
बेथान्चोक गाउँपालिकामा ६ सय २९, रोशी गाउँपालिकामा ५ सय ६३ घर, नमोबुद्ध नगरपालिकामा ४ सय ८९, तेमालमा ४ सय ३९ घर पूर्ण रुपमा क्षति भएका छन् । चौरीदेउराली गाउँपालिकामा १ सय ३४, भुम्लु गाउँपालिकामा १ सय २२ वटा घर क्षति भएका छन् ।
धुलिखेलमा ८०, पाँचखालमा ७६, खानीखोलामा ४५, महाभारतमा २३, बनेपामा ४७, पनौतीमा ५९ र मण्डनदेउपुर नगरपालिकामा ८४ वटा घर पूर्ण रुपमा क्षति भएका छन् ।
त्यस्तै बेथान्चोक गाउँपालिकामा १५ सय २०, नमोबुद्ध नगरपालिकामा ११ सय २४ र रोशी गाउँपालिकामा ७ सय १० घर, तेमालमा ५ सय ३४ घर चौरीदेउराली गाउँपालिकामा ३ सय ७, भुम्लु गाउँपालिकामा ८४ वटा घर, धुलिखेलमा ५ सय ७२, पाँचखालमा ४ सय २४, खानीखोलामा ५६, महाभारतमा १०, बनेपामा ७९, पनौतीमा २ सय ७२ र मण्डनदेउपुर नगरपालिकामा ६ सय १३ वटा घर आँशिक रुपमा क्षति भएका छन् ।
त्यस्तै जिल्लामा ६८ घर परिवार स्थानान्तरण गर्नु पर्ने छन् । खानिखोलामा ५, मण्डनदेउपुरमा १३, चौरीदेउरालीमा २३, पाँचखालमा १३, रोशीमा ९ र बेथान्चोकमा ५ घर परिवार स्थानान्तरणका लागि आवेदन परेको छ ।
अस्थायी आवासका लागि बनेपा, तेमाल र भुम्लु बाहेकका १० वटा पालिकाका नागरिकहरुका लागि पहिलो किस्ता बापतको ७ करोड ३५ लाख निकासा भएको छ । तीनवटा पालिकाका स्थानीय विपद ब्यवस्थापन समितिले गर्नु पर्ने निर्णय नगरी सिधै विवरण मात्रै भरेकाले अस्थायी आवासको पहिलो किस्ता बापतको रकम निकासा माग नगरिएको हो ।
पहिलो चरणमा महाभारतमा १७, बेथान्चोकमा २ सय ३९ र नमोबुद्धमा ८ सय २४ घर परिवारका लागि २ करोड ७० लाख रुपैया निकासा माग गरिएको थियो । चैत्र २१ गते दोश्रो चरणमा जिल्लाका ७ वटा पालिकाको रकम निकासा माग गरिएको थियो ।
पनौती ६ सय ३४, पाँचखाल ८८, धुलिखेल ८६, मण्डनदेउपुर १ सय ३३, खानीखोला ४६, चौरीदेउराली २ सय ८०, रोशी ५ सय ४८ घर परिवार गरी ४ करोड ५३ लाख ७५ हजार रुपैया निकासा माग गरिएको थियो ।सीमापार पर्यटन प्रवर्द्धनमा अझ सक्रिय भई सहकार्य विस्तार गर्ने लक्ष्य लिएको उनले बताए ।
प्रतिक्रिया 4