
३ वैशाख, काठमाडों । नयाँ वर्ष सुरु नहुँदै कांग्रेस र एमालेबीच सतहमा देखिन थालेको मनोमालिन्य समाधान गर्न उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस एमाले बैठकमा नेताहरुले यस बीचमा उठेका विभिन्न विषयहरुलाई साझा संवादबाट निप्टारा लगाउने समझदारी गरे ।
सत्तारुढ दलभित्रैबाट नेताहरुले सरकार र प्रधानमन्त्रीको कार्यशैलीबारे आलोचना गरिरहेको भन्दै बैठकमा कुरा भएको थियो । सहभागी एक नेताका अनुसार सरकारले गरिरहेका प्रगतिका सूचकहरुलाई तथ्यांकमै हेर्ने, अनुमान र आकलनका भरमा बोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने छलफल भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँगको सहकार्य राष्टिय राजनीतिक आवश्यकताले भएको भन्दै ०८४ को चुनाव नहुँदासम्म यसले आफ्नो उद्देश्यमा अविच्छिन्न अघि बढिराख्ने बताएका थिए । एक नेताले देउवाको भनाई उद्धृत गर्दै भने, ‘एउटै पार्टी हुँदा त कतिवटा कुराहरुसँग डिल गर्नुपर्छ यो त दुईवटा ठूला पार्टीको सरका हो । सानातिना कुरा बीचमा आउँछन्, छलफल गर्दै जानुपर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रका नेताहरुसँग पार्टी उच्च तहले गरेको समझदारीकै स्पिरिटमा आम जनतासमक्ष विचार लैजानुपर्ने बताए । केही नियुक्तिहरुलाई, अनि बढुवाहरुलाई लिएर अनावश्यक प्रचार भएको भन्दै उनले सत्तारुढ नेताहरुसँग असन्तोष जनाएका थिए ।
कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतले सरकारको धिमा तथा सुस्त शैलीको आलोचना गरिरहेका छन् । नेताहरुले दिएका तिखा अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले सरोकार राखेका थिए ।
बैठकमा एमालेबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, अनि कांग्रेसबाट देउवासहित गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा थिए ।
गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा कुनै समस्या नभएको प्रष्ट पारे ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ । यस्तो कुनै समस्या छैन,’ उनले भने ।
संयन्त्रले आन्दोलनरत शिक्षकहरुलाई माग सम्बोधन संसदमार्फत चाँडै हुने भन्दै काममा फर्किन आग्रह गरेको छ ।
प्रतिक्रिया 4