रोगसँग लड्न सिपाहीको काम गर्ने रक्षा तन्त्र हो, प्रतिरक्षा प्रणाली । प्रतिरक्षा प्रणाली विभिन्न कोषहरू, तन्तु, अङ्ग र रासायनिक तत्त्वहरूको एक सञ्जाल हो, जसले शरीरलाई हानिकारक बाहिरी र भित्री खतराहरूबाट जोगाउँछ ।
यसको मुख्य काम नै रोगसँग लड्ने, सङ्क्रमणलाई सकेसम्म हाबी हुन नदिने र बाहिरी हानिकारक तत्वहरू जस्तै ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीहरूबाट जोगाउनु हो ।
यो प्रणालीमा के कस्तो संरचनाले काम गर्छ त ?
सेतो रक्त कोष
प्रतिरक्षा प्रणालीमा हुने सेता रक्त कोषहरू पनि प्रमुख हुन् । लिम्फोसाइट्स, न्यूट्रोफिल्स, म्याक्रोफेज लगायत प्रतिरक्षा प्रणालीका आधार हुन् । यिनीहरूले हानिकारक तत्वलाई आक्रमण गर्छन् ।
प्रतिरक्षा प्रणाली अन्तर्गत लिम्फ नोड्स, लिम्फ भेसल्स र लिम्फ तरलले रोगजन्य जीवाणु तथा किटाणुलाई फिल्टर गर्छन् । प्रतिरक्षा कोषिकाहरूलाई सक्रिय बनाउँछ ।
बोन म्यारो
बोन म्यारोले नै सेतो रक्त कोषिका उत्पादन गर्छ । जसले रोगसँग लड्न र शरीर स्वस्थ राख्न मद्दत गर्छ ।
थाइमस
यो अङ्गले टी–लिम्फोसाइट्स कोषिकालाई परिपक्व बनाउँछ ।
स्पिलिन
यसले रगतलाई छानेर हानिकारक सूक्ष्म जीवलाई हटाउन सघाउँछ ।
प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ ?
यो प्रणालीले दुई तरिकाबाट काम गर्छ । पहिलो जन्मजात अर्को विस्तारै स्वअनुकुल हुने प्रणाली ।
जन्मजात प्रतिरक्षा प्रणाली
जन्मजातबाटै हुने शरीरको पहिलो सुरक्षाकवच हो, जन्मजात प्रतिरक्षा प्रणाली । यो प्रणालीले तुरुन्तै रोगजन्य वस्तुलाई आक्रमण गर्छ ।
जस्तो, हाम्रो शरीरमा हुने म्यूकस मेम्ब्रेनले हानिकारक जीवलाई शरीरमा प्रवेश गर्नबाट रोक्छ ।
उदाहरणका लागि, म्यूकसले नाक र घाँटीमा प्रवेश गरेका किटाणुलाई मार्छ ।
न्यूट्रोफिल्स र म्याक्रोफेजजस्ता कोषिकाहरूले यस्ता किटाणुलाइ छिटो निलेर नष्ट गर्छन् ।
इन्फ्लेमेटरी रेस्पोन्सः प्रतिरक्षा प्रणालीले साइटोकाइनजस्ता रासायनिक तत्त्वहरू उत्पादन गर्छ, जसले सन्निने समस्या र रक्त प्रवाह बढाउँछ ।
जन्मजात प्रतिरक्षा प्रणालीले तुरुन्तै काम गर्छ, तर यो दीर्घकालीन समाधान होइन।
अनुकूल प्रतिरक्षा प्रणाली
यो प्रणाली विशेष प्रकारको रक्षा कवच हो, जुन समयसँगै विकसित हुन्छ । जब हाम्रो शरीर कुनै नयाँ रोगका कारक अर्थात जस्तै-: भाइरसको सम्पर्कमा आउँछ, यो प्रणालीले काम गर्न केही समय लिन्छ, तर यो धेरै प्रभावकारी हुन्छ ।
जब हामीले खोप लगाउँछौं, हाम्रो शरीरले त्यस रोगको कमजोर रूपलाई पहिचान गर्छ र त्यसविरुद्ध एन्टिबडी बनाउँछ । यदि हामीलाई एकपटक रुघाखोकी लागिसकेपछि फेरि त्यही भाइरसले आक्रमण गर्छ भने, हाम्रो प्रतिरक्षा प्रणालीले त्यसलाई छिट्टै परास्त गर्छ ।
उदाहरणका लागि, फ्लू भाइरस र ब्याक्टेरियल सङ्क्रमणविरुद्ध फरक–फरक एन्टिबडी उत्पादन हुन्छ ।
प्रतिरक्षा प्रणालीले कसरी रोगबाट बचाउँछ ?
प्रतिरक्षा कोषिकाहरूले हानिकारक तत्व रहेको एन्टिजनलाई पहिचान गर्छ । एन्टिजन विशिष्ट प्रोटिन हो ।
म्याक्रोफेज र न्यूट्रोफिल्सले रोगका कारकलाई शरीरबाट निल्छन्, जब कि टी–सेल्सले सङ्क्रमित कोषहरूलाई नष्ट गर्छ ।
बी–सेल्सले उत्पादन गरेको एन्टिबडीले रोगजनक हानिकारक तत्वलाई निष्क्रिय बनाउँछ ।
प्रतिरक्षा प्रणालीले शरीरको स्वस्थ कोशिकाहरूलाई हानि नपुर्याइ रोगका कारक तत्वहरूलाई मात्र आक्रमण गर्छ ।
कहिलेकाहीँ यो प्रणालीले गल्ती गर्छ, जसले अटोइम्यून रोगहरू निम्त्याउँछ । उदाहरणका लागि बाथलाई लिन सकिन्छ ।
प्रतिरक्षा प्रणालीलाई प्रभावित गर्ने कारकहरू
– अपर्याप्त निद्राले प्रतिरक्षा कोषहरूको उत्पादन कम गर्छ ।
– दीर्घकालीन तनावले कोर्टिसोलको स्तर बढाउँछ, जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ ।
– मध्यम व्यायामले प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ, तर अत्याधिक व्यायामले यसलाई कमजोर बनाउन सक्छ ।
– उमेर बढ्दै जाँदा प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, जसले वृद्धहरूमा सङ्क्रमणको जोखिम बढाउँछ ।
प्रतिरक्षा प्रणाली सधैँ पूर्ण हुँदैन । कहिलेकाहीँ यो अति सक्रिय भएर अटोइम्यून रोगहरू निम्त्याउँछ, जहाँ शरीरले आफ्नै कोषहरूलाई आक्रमण गर्छ ।
साथै, एलर्जी र हाइपरसेन्सिटिभिटी पनि प्रतिरक्षा प्रणालीको असन्तुलनको परिणाम हो ।
प्रतिरक्षा प्रणाली कमजोर हुँदा
यदि प्रतिरक्षा प्रणाली कमजोर भयो भने हाम्रो शरीरले हानिकारक तत्वहरूसँग लड्न सक्दैन । यसले बारम्बार रुघाखोकी, संक्रमण वा गम्भीर रोगहरू निम्त्याउन सक्छ ।
प्रतिरक्षा प्रणाली कमजोर हुने कारण
-अस्वस्थ खानपान
– तनाव
-अनिद्रा
-व्यायामको कमी
-दीर्घकालीन रोगहरू (जस्तै मधुमेह, एचआईभी)
-बुढ्यौलीपन
कसरी बलियो बनाउने ?
– फलफूल, सागसब्जी, र प्रोटिनयुक्त खानेकुरा खाने ।
– मध्यम व्यायामले प्रतिरक्षा कोशिकाहरूलाई सक्रिय बनाउँछ ।
– कम्तिमा ७ देखि ८ घण्टा सुत्ने
– ध्यान, योग गर्ने
-भिटामिन सी, डी, र जिङ्कले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
प्रतिक्रिया 4