+

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

२०८२ वैशाख  ४ गते १७:५३ २०८२ वैशाख ४ गते १७:५३
Shares
डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

गत फागुनको अन्त्यतिर, हिँउले ढाकिएको डोल्पाको सानो शहर दुनैमा पुगेका थियौं हामी । सिलसिला थियो, निःशुल्क स्वास्थ्य शिविरको । र यसको बन्दोबस्ती मिलाइदिएको थियो ब्याक टु लाइफ इभीले ।

त्यही शिविरमा एउटी सानी नानी मेरो अघिल्तिर आइपुगिन् । मायालु र अबोध । उनको नाम रहेछ, बिमला कुलाल । आफ्नी ६३ वर्षीया हजुरआमाले उनलाई त्यहाँसम्म ल्याएकी थिइन् । ती मावली हजुरआमा आफैँमा अपाङ्ग थिइन्, जो चार घण्टासम्मको पैदल हिँडेर अस्पतालसम्म आइपुगेका थिए । काँधमा झोला, आँखामा पीडा र मनमा आशा बोकेर उनले नातिनीलाई शिविरसम्म डोर्‍याएकी रहिछन् । उनीहरूकै साथमा गाउँका एक शिक्षक पनि थिए ।

बिमला मेरो नजिक आइन् । उनको कानबाट गन्ध आइरहेको थियो । पिप बगिरहेको थियो । यसले गर्दा उनी एक्लिएकी रहिछन् । किनभने कानको गन्ध र पिपले गर्दा धेरैजसो उनको नजिक पर्न घिनाउने रहेछन् ।

न उनी आफ्नो पीडा सुनाउन सक्थिन्, न आफ्नो व्यथा लुकाउन । बिजोग थियो । उनलाई देखेर मेरो आँखा रसायो ।

मैले जाँच गरें । लागेको थियो, यो सामान्य समस्या हो । तर, कानको भित्री संरचना परीक्षण गरिरहँदा मेरो मन चिसो भयो । म स्तब्ध भएँ । किनभने त्यो संक्रमण निकै जटिल थियो र त्यसले मस्तिष्कसम्म असर गर्ने छनक देखिएको थियो । यो स्थिति रहेमा उनलाई तुरुन्तै मेनिन्जाइटिस हुने खतरा थियो ।

मैले बिमलाको आँखामा हेरेँ । उनले पनि निर्निमेष मलाई हेरिरहेकी थिइन् । उनको आँखामा पीडा थिएन, डर थिएन केवल निःशब्द आग्रह थियो, ‘मलाई के भयो ? मलाई बचाउनु न ।’

मैले बिमलाको पारिवारिक पृष्ठभूमि बुझ्न खोजेँ । परिवारको कथा अझ बिजोग रहेछ । बुबा दुवै कान नसुन्ने, बोल्न नसक्ने । आमा यो संसारबाटै बिदा भइसकेकी रहिछन् । मावली पनि आफ्नै समस्यामा थिए । त्यसैले बिमलालाई सरकारी छात्राबासमा राखिएको रहेछ ।

मैले आयोजक संस्था ‘ब्याक टु लाइफ’लाई बिमलाको गम्भीर अवस्थाबारे जानकारी गराएँ । हाम्रो निचोड थियो, ‘बिमलालाई जतिसक्दो चाडो काठमाडौं ल्याएर शल्यक्रिया गर्नुपर्छ ।’

ब्याक टु लाइफले मेरो आग्रह टारेनन् । उनीहरूले बिमलालाई काठमाडौं ल्याउने र उपचार गर्ने सम्पूर्ण खर्चभार व्यहोर्ने भयो । मन ढुक्क भयो ।

२०८१ चैत १६ गते । बिमला गाउँबाट निस्किइन्, काठमाडौंका लागि ।

कहिल्यै शहर नदेखेका, कहिल्यै लामो दूरी यात्रा नगरेका ती नातिनी र हजुरआमाको काठमाडौं यात्रा रहर नभई बाध्यता थियो । उनीहरू डोल्पाबाट काठमाडौं आए र जीवन संघर्षको अर्को चरणमा पाइला टेके।

चैत १९ गते उनीहरू वीर अस्पताल आइपुगे । उनीहरू आएको खबर पाएर म इएनटी विभागमा पर्खिरहेको थिएँ ।

जसोतसो अस्पतालको भीडमा मिसिएर मेरो सामुन्ने नातिनी–हजुरआमा खडा भए । उनीहरूलाई देखेर मेरो मन भरियो ।अब धेरै ढिलो गर्ने समय थिएन । हामीले तुरुन्तै बिमलालाई भर्ना गर्‍यौँ । सिटी स्क्यान, रगत परीक्षण सबै गरियो । र, शल्यक्रियाको तयारी थालियो । डोल्पामा चाहेर पनि यस्तो शल्यक्रिया गर्न सम्भव थिएन ।

चैत २५ गते । बिहान ।

शल्यकक्षमा मसहित चार सदस्यीय टिमले बिमलाको कानको शल्यक्रिया सुरु गरियो । यता शल्यकक्षभित्र नानीको शल्यक्रिया सुरु भयो । उता ढोकाबाहिर हजुरआमा कुरिरहिन् । तीन घण्टाको शल्यक्रिया चलिरहँदा यी नानी जीवन र मृत्युको दोसाँधमा थिइन् ।

शल्यक्रिया मेरा लागि जटिल थिएन, तर बिमलाको सुन्ने शक्ति फर्कन नसक्ने कुराले मन भारी थियो । हामी उनको प्राण रक्षाका लागि मात्र लडिरहेका थियौँ ।
शल्यक्रिया सफल भयो । संक्रमण रोकियो, मस्तिष्कसम्म पुग्न पाएन। बिमलाको जीवन जोगियो । हामीले सन्तोषको सास फेर्‍यौँ ।

दोस्रो दिन म बिमला राखिएको ठाउँमा पुगें । उनी मुसुक्क हाँसिन् र मलाई नमस्ते गर्न खोजिन् । म खुसीले भरिएँ । चिकित्सकका लागि एउटा बिरामी निको हुनु कम खुसीको अनुभव होइन ।

अस्पतालबाट डिस्चार्ज गर्नुअघि मैले बिमलालाई भनेँ, ‘कानमा पानी पस्न नदिनू, हवाई यात्रा नगर्नू, भारी नबोक्नू, डोल्पा अस्पतालमा नियमित जाँच गराउनू ।’

हजुरआमालाई फोन गरेर उनको अवस्था बुझिरहने वाचा गरेँ । २०८२ वैशाख १ गते, नयाँ वर्षको दिन, वीरका सहकर्मीहरूले सुनाए—बिमला र उनकी हजुरआमा अस्पतालको ढोका पार गर्दै थिए, आँखामा आशा र नयाँ जीवनको आँसु लिएर।

वैशाख ३ गते उनीहरू ९०० किलोमिटरको कठिन बस यात्रा गर्दै गाउँ फर्किंदै छन् ।  बिमलाको कानको दुर्गन्ध हट्यो, संक्रमण हरायो । उनका अगाडि अब स्वस्थ जीवनका ढोका खुला छन् ।

बिमलाको कथा डोल्पाका सयौं नानीहरूको प्रतिनिधि कथा हो । यदि उनी काठमाडौँ वा सुविधा सम्पन्न ठाउँमा थिइन् भने उनको संक्रमण चाँडै पत्ता लाग्थ्यो, सुन्ने शक्ति फर्काउन सकिन्थ्यो  ।

तर यहाँ ढिलो भइसकेको थियो। हामीले उनको जीवन बचायौं, सुन्ने शक्ति होइन । उनको मुस्कान मेरो जीवनको ठूलो पुरस्कार हो ।

हामीले यस्ता बिमलाहरूका लागि काम गर्नुपर्छ। उपचार सहरमा मात्र होइन, हिमालपारिका गाउँसम्म पुग्नुपर्छ ।

हामीले ढिला गर्नुहुन्न, किनभने अर्की बिमला कतै उपचार नपाएर चुपचाप मर्दै होलिन्। सुन्न नसक्ने कान मात्र होइन, सुनिनसकेका चिच्याहटहरू दर्दनाक हुन्छन् ।

प्रत्येक बिमलाको जीवन अमूल्य छ। उनीहरू बाँच्न पाउनुपर्छ। बिमलालाई त जोगाउन सकियो, तर बाँकीलाई ?

डा.अरुण केसी डोल्पा शिविर
डा. अरुण केसी
लेखक
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

डा. केसी वीर अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत छन् । उनले सीएमएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ६४१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय