
५ वैशाख, काठमाडौं । वसन्त ऋतुको आगमनसँगै हिमाली पर्यटन जुर्मुराउँछ । प्रकृतिले नेपाललाई दिएका अनगिन्ती अनुपम उपहारमध्ये बहुमूल्य उपहार सगरमाथा सहितका अग्ला चुचुरा चुम्न, आधारशिविरसम्म पुग्न वा टाढैबाट भए पनि दर्शन गर्न यतिबेला हजारौं पर्यटक नेपाल आइरहेका छन् ।
पर्यटन विभागको तथ्यांक अनुसार, हालसम्म १७ हिमालमा ५४ समूहका ४९७ जनाले हिमाल आरोहणको अनुमति लिइसकेका छन् । यसमध्ये अधिकांश विदेशी पर्यटक हुन् । यसमध्ये २२ समूहका २१४ जनाले सगरमाथा चढ्न अनुमति लिएका छन् । यी सबै विदेशी पर्यटक हुन् । पदयात्राका लागि हजारौं पर्यटकले अनुमति लिइसकेका छन् । यो क्रम जारी छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिले पर्यटकको औसत बसाइ अवधि प्रति पर्यटक १३.२ दिन छ । औसत बसाइ अवधि बढ्नुमा सबैभन्दा ठूलो योगदान हिमाली भेगको घुमफिरमा आउने पर्यटकको छ । पर्वतारोहण र पदयात्राले यसमा सबैभन्दा धेरै भूमिका खेलेको छ ।
नेपालमा हिमाल चढ्न आउने पर्यटकमध्ये सगरमाथा आरोहणमा आउने पर्यटक कम्तीमा ६० दिन बस्ने नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्साल बताउँछन् । यस्तै ८ हजार मिटर भन्दा अग्ला हिमाल चढ्ने आरोहीको न्यूनतम बसाइ ४०–४५ दिन हुन्छ । अन्य साना हिमाल चढ्नेहरू औसत ३० देखि ३५ दिनका लागि नेपाल आउँछन् ।
महासचिव लम्साल भन्छन्, ‘एक हिसाबले भन्ने हो भने हिमाल नै नेपाली पर्यटनको मेरुदण्ड हो, यसले आधा दिन मात्रै नेपाल बसेर फर्कनेको औसत बसाइ पनि १३ दिन देखिने अवस्था बनेको छ ।’ लुम्बिनी क्षेत्रमा भारतीय मार्ग हुँदै आउने पर्यटकको औसत बसाइ कम हुँदा समग्र औसत बसाइ कम हुने अवस्था आएको व्यवसायीहरू बताउँदै आएका छन् ।
नेपालका हिमालबाट राज्यले प्रत्यक्ष पाउने लाभ आरोहण रोयल्टी हो । यस्तो रोयल्टी करोडौंमा उठ्छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्राकृतिक स्रोतहरूबाट कुल ६ अर्ब ३० करोड रुपैयाँ संकलन भएको थियो । जसमध्ये पर्वतारोहण रोयल्टी दोस्रो स्थानमा छ ।
पर्वतारोहणबाट यस वर्ष सरकारले ७७ करोड रोयल्टी प्राप्त गरेको थियो । पर्वतारोहणबाट उठेको रोयल्टी संघ, प्रदेश र स्थानीय तहमा बाँडफाँट हुन्छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा सगरमाथा सहितका हिमाल रहेको गाउँपालिका सोलुखुम्बुको खुम्ब पासाङल्हामु गाउँपालिकाले पाएको छ । सो गाउँपालिकाले यस आवमा १४ करोड ६१ लाख रुपैयाँ रोयल्टी पाएको थियो ।
गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पा हिमाली पर्यटनले स्थानीय तहको अर्थतन्त्र चलायमान बनाउन र रोजगारी सिर्जना गर्न ठूलो योगदान पुगेको बताउँछन् । ‘हाम्रो लागि आरोहण रोयल्टी र रोजगारीमा हिमालको ठूलो योगदान छ’ उनी भन्छन्, ‘प्राकृतिक स्रोत संरक्षण र पर्यटकको सेवा सुविधा तथा सुरक्षामा बढी खटिनुपर्ने भएकाले रोयल्टीमा स्थानीय तहको हिस्सा अझ बढ्नुपर्छ ।’
पर्यटन विभागको पछिल्लो तथ्यांक अनुसार, जारी वसन्त ऋतुमा १७ वटा हिमाल आरोहण अनुमति लिएका पर्यटकबाट मात्रै ३६ करोड ५८ लाख १५ हजार रुपैयाँ रोयल्टी संकलन भइसकेको छ । यसमध्ये सगरमाथाबाट मात्रै ३१ करोड ६९ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । नेपाल पर्वतारोहण संघका महासचिव लम्साल भन्छन्, ‘यो देखिने रोयल्टी हो, हिमाल चढ्ने होस् वा पदयात्रामा जाने, उनीहरूले नेपालमा गर्ने अन्य खर्चको हिस्सा नेपालको पर्यटनमा धेरै ठूलो छ ।’
नेपालमा हिमाल चुचुरोमा मानव पाइला पुगेको ७५ वर्ष पुगिसकेको छ । अन्नपूर्ण चुचुरोमा ३ जून १९५० मा पहिलो सफल आरोहण भएको इतिहास छ । सगरमाथा चुचुरोमा मानव पाइला पुगेको समेत ७२ वर्ष पुगिसकेको छ । २९ मे १९५३ मा न्यूजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा चुचुरोमा सर्वप्रथम पाइला टेकेका थिए ।
त्यसपछि नेपालको ख्याति संसारभर फैलियो । अहिलेसम्म ९ हजार भन्दा बढीले सगरमाथा चुचुरो टेकिसकेका छन् । नेपाल पर्वतारोहण संघका भनाइमा यी चुचुराको आर्थिक योगदान कतै दस्तावेजीकरण नभए पनि समयक्रमसँगै नेपाली अर्थतन्त्रको एक अभिन्न अंगका रूपमा हिमाल अटल रूपमा खडा छन् ।
नेपालमा ४७६ वटा हिमाल आरोहणका लागि खुला गरिएका छन् । यसमध्ये ५७ वटा हिमाल यसै वर्ष मात्रै खुला गरिएको हो । खुला गरिएका हिमालमा सगरमाथा सहित ८ हजार मिटर उचाइका हिमालहरू समेत पर्छन् । खुला भएकामध्ये आरोहण तथा पर्यटकीय गतिविधि भने अझै सीमित हिमालमा केन्द्रित छ । ६८ वटा हिमालमा अहिलेसम्म मानव पाइला पुगेकै छैन । भौगोगिक रूपमा आरोहण असम्भव हुने तथा धार्मिक आस्था जोडिएका हिमाललाई सरकारले बन्द गर्ने गरेको छ ।
विज्ञहरूका अनुसार नेपालमा पर्यटनको जग राख्ने काम नै हिमाल आरोहण र पदयात्राले गरेको हो । ‘त्यो हुँदैनथ्यो भने नेपालको परिचय पर्यटकीय मुलुकका रूपमा सायद नहुन पनि सक्थ्यो’ नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी जिम्बा जाङ्बु शेर्पा भन्छन्, ‘हिमालले पर्यटनको जग राख्यो र यसकै बलमा आजसम्म उभिएको छ ।’
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) को अवधिमा पर्यटन उद्योगका माध्यमबाट मुलुकमा ५६ अर्ब ७० करोड रुपैयाँ बराबर विदेशी मुद्रा भित्रिएको देखिन्छ । पर्यटक आगमनसँगै भ्रमण आय संकलन समेत बढ्दो क्रममा रहेको छ ।
शेर्पा भन्छन्, ‘नेपाल गन्तव्य बनाएर आउने पर्यटक काठमाडौं घुम्न वा यहाँको होटलमा बस्न आउँदैनन्, आए पनि त्यसको हिस्सा कम छ, पदयात्रा वा पर्वतारोहणमा आउने पर्यटक अन्य गतिविधिमा रमाएको हो ।’ यसरी पर्यटनमा प्रडक्ट थपिंदा बसाइ अवधि लम्ब्याउन सहयोग पुग्ने उनको भनाइ छ ।
बढ्दैछ रोयल्टी
सरकारले हिमाल आरोहण दस्तुर बढाएको छ । जारी सिजनसम्म पुरानै दस्तुर तिरेर आरोहण गर्न सकिन्छ । बढेको दस्तुर भने आगामी १ सेप्टेम्बर २०२५ (१६ भदौ २०८२) बाट लागू हुनेछ । सरकारले हालै पर्वतारोहण सम्बन्धी नियमावलीमा संशोधन गर्दै यो व्यवस्था गर्न लागेको हो ।
अहिले सरकारले वसन्तु ऋतुमा सगरमाथा आरोहण गर्न प्रति पर्यटक ११ हजार डलर (करीब १५ लाख ३२ हजार) लिन्छ । यसलाई बढाएर प्रति पर्यटक १५ हजार डलर (२० लाख ९ हजार हाराहारी) पुर्याइँदैछ । यस्तै दरमा सबै हिमालको आरोहण दस्तुर बढ्दैछ ।
पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मी रोयल्टी रकम संकलन बढाउनु भन्दा पनि सगरमाथा सहितका हिमाल आरोहणलाई हरसम्भव सुरक्षित बढाउने उद्देश्यले रोयल्टी बढाउने निर्णय भएको बताउँछन् । हिमाल आरोहण कम जोखिमयुक्त बनाउने, आरोहण व्यवस्थित गर्ने र जलवायु परिवर्तनका चुनौतीसँग हाम्रा सम्पदा जोगाउने उद्देश्य सहित नियमावली संशोधन गरिएको उनको भनाइ छ ।
रेग्मीका भनाइमा, नयाँ नियमावलीले माउन्टेन गाइड अनिवार्य गरेको छ । हिमालमा खट्ने कामदारको सामाजिक सुरक्षा सहितका सुविधा बढाइएको छ । यसबाट हिमाली पर्यटन र यसमा खटिनेहरू बढी लाभान्वित हुनेछन् ।
व्यवसायीहरूका अनुसार आजकै दिनमा पनि सगरमाथा आरोहणमा आउने पर्यटकले औसत ४० लाखभन्दा बढी रकम नेपालमा खर्च गर्छन् । आरोहण दस्तुर बढेसँगै यो रकम अझ बढ्नेछ । पर्यटक काठमाडौं अवतरण गरेसँगै हिमाल आरोहणमा पुग्नु र सफल भई फर्कंदासम्म स्थानीय यातायात, होटल, हवाईजहाज यात्रा र सरकारी रोयल्टी तथा कामदार र एजेन्सी खर्च जोड्दा यो रकम आउँछ । त्यसकारण एक पर्यटक नेपाल आउँदा एकसाथ धेरै क्षेत्र लाभान्वित हुन्छ ।
सरकारले लिने नयाँ आरोहण रोयल्टी (डलरमा)
हिमालचुली | वसन्त ऋतु | शरद ऋतु | शिशिर र वर्षा ऋतु |
सगरमाथा (दक्षिण पूर्वी धार) नर्मल रुट | १५,००० | ७,५०० | ३,७५० |
सगरमाथा (दक्षिण पूर्वी धार बाहेक) | १०,००० | ५,००० | २,५०० |
सगरमाथा बाहेक ८ हजार माथिका हिमाल | ३,००० | १,५०० | ७५० |
मनास्लु | १,५०० | ३,००० | १,५०० |
७५०१ मि.देखि ८००० मि.सम्मको उचाइ भएका | १००० | ५०० | २५० |
७००१ मि.देखि ७५०० मि.सम्म | ८०० | ४०० | २०० |
६५०१ मि.देखि ७,००० मि.सम्म | ५०० | २५० | २०० |
आमादब्लम | १००० | १००० | ५०० |
६,५०० मि. उचाइ भन्दा कम | ३५० | १७५ | १७५ |
वर्षभर धानिन्छन् हवाई कम्पनी
हिमालका कारण लाभान्वित भइरहेको वा धानिइरहेको अर्को उद्योग हो हवाई सेवा । वायुसेवा कम्पनीहरूले आरोहण सिजनमा गर्ने कमाइले वर्षभरको खर्च धान्ने गर्छन् । वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा समिट एअरका प्रबन्ध निर्देशक मनोज कार्की सगरमाथा (खुम्बु) क्षेत्र र अन्नपूर्ण क्षेत्र हवाई उद्योगका लागि बरदान सावित भएको बताउँछन् ।
कार्कीका भनाइमा, यहाँ नियमित उडान गर्ने वायुसेवा कम्पनीदेखि चार्टर्ड उडान गर्ने हेलिकप्टरले समेत राम्रो कमाइ गर्छन् । यसले हवाई कम्पनीमा सयौं रोजगारी सिर्जना र उनीहरूलाई निरन्तर टिकाइराख्न सहयोग गरेको छ ।
‘हाम्रोमा पर्वतारोहण वा पदयात्रा खुम्बुमा अधिक र त्यसपछि अन्नपूर्ण क्षेत्रमा बढी केन्द्रित छ’ उनी भन्छन्, ‘यसले गर्दा आरोहण सिजनमा वायुसेवा कम्पनीले पनि राम्रो बिजनेश पाउँछन् ।’ खुम्बु क्षेत्रमा आरोहण सिजन शुरू हुनुभन्दा १०/१५ दिन अगाडि नै हेलिकप्टरको माग बढ्छ । आधारशिविरमा आवश्यक सामान पुर्याउनेदेखि आरोही र सहयोगीलाई लैजान समेत यसको प्रयोग बढ्ने गर्छ । आरोहण सकिएको १०/१५ दिनसम्म पनि चहलपहल कायम रहने उनी बताउँछन् ।
पछिल्लो समय हेलिकप्टर चढेर सिधै आधारशिविरसम्म पुग्ने होस् वा काठमाडौंबाट माउन्टेन फ्लाइट गरी हिमाल अवलोकन गर्ने नयाँ ट्रेण्ड शुरू भएको छ । यसमा स्वदेशी तथा विदेशी सबैको उत्तिकै आकर्षण देखिन्छ । यसले पनि वायुसेवा कम्पनीलाई अतिरिक्त आम्दानी दिइरहेको कार्की बताउँछन् ।
‘काठमाडौंबाट एभरेष्टसम्म हेलिकप्टर चार्टर्ड गरी घुमफिरमा जाने क्रम बढ्दैछ भने बुझ्नुहोस् नेपालमा खर्चालु पर्यटक पनि बढ्दैछन्’, कार्की भन्छन्, ‘यो प्रडक्टलाई निरुत्साहित नगरौं, किनकि आज पर्यटकसँग बरु पैसा छ, समय छैन ।’
पाँचतारेदेखि चियापसलसम्म
हिमालका कारण धानिएको अर्को क्षेत्र हो आतिथ्य सेवा । काठमाडौंका पाँचतारे होटलदेखि पदयात्रा मार्गमा खोलिएका झुपडीका चियापसलसम्मले यसको लाभ लिएका छन् । ‘खुम्बु क्षेत्रको लुक्ला वा नाम्चेबजार होस् वा अन्नपूर्ण क्षेत्रका पोखरा सहितका बजार हिमालकै कारण धानिएका विश्वचर्चित बजार हुन्’ होटल संघ नेपाल (हान) का कोषाध्यक्ष युवराज श्रेष्ठ भन्छन्, ‘नेपालमा होटल उद्योग स्थापित हुनु र चलायमान बनाउनमा हिमाली पर्यटन मुख्य माध्यम हो ।’
पदयात्रा होस् वा पर्वतारोहण, सिजनमा मुख्य गन्तव्यका होटल भरिभराउ हुन्छन् । यसले रोजगारी सिर्जनामा मात्रै योगदान गरेको छैन, राज्यलाई राजस्वमा पनि उत्तिकै योगदान गरेको छ । साथै स्थानीय उत्पादनको खपतले पर्यटकमाथि गरेको खर्च प्रत्यक्ष रूपमा किसानसम्म पुग्छ ।
‘खुम्बुमा पाक्ने साग सोही गाउँकै शेर्पाले फलाउनुहुन्छ, म्याग्दीमा पाक्ने मासु सोही गाउँकै गुरुङ दाइले पाल्नुहुन्छ’ श्रेष्ठ भन्छन्, ‘होटल त सेवाको माध्यम मात्रै न हो, आम्दानी स्थानीय तहसम्म पुगेको छ ।’
पदयात्रा होस् वा पर्वतारोहण, साहसिक पर्यटकीय गतिविधि हुन् । विदेशीहरू नेपालमा गर्ने यस्ता गतिविधिलाई आफ्नो जीवनकै सबैभन्दा सफल क्षण मानेर ‘सेलिब्रेसन’ गर्छन् । यसले पनि होटलहरूले लाभ पाइरहेको उनी बताउँछन् ।
‘१५ दिन पदयात्रा गरेर फर्किएको पर्यटक १६औं दिनमा घर फर्किंदैन’ श्रेष्ठ भन्छन्, ‘उसले आफ्नो जीवनमा प्राप्त गरेको यो क्षणलाई सेलिब्रेसन गर्छ, सिटीको होटलमा बस्छ, मसाज वा स्पा जान्छ, रिल्याक्स गर्छ र तन्दुरुस्त अवस्थामा घर फर्कन्छ ।’
अर्कोतर्फ पदयात्रा होस् वा पर्वतारोहणमा जाने पर्यटकको साथमा गाइड वा भरिया सँगै हुन्छन् । एक पर्यटक आउँदा कम्तीमा तीन जनाका लागि होटलले बिजनेश पाउँछ । सोही अनुसार आम्दानी हुन्छ । होटल उद्योगको अर्को सकारात्मक पाटो पनि छ । सिजनमा लुक्ला वा अन्नपूर्ण क्षेत्रमा कमाइ गर्ने व्यवसायी ‘अफ सिजन’ मा काठमाडौं वा पोखरा फर्किन्छन् । आफ्नो अर्को बिजनेशलाई निरन्तरता दिन्छन् ।
यस्तै सिजनमा हिमालमा काम पाउने भरियाहरू अफ सिजनमा गाउँमा बेरोजगार बस्दैनन् । उनीहरूको अन्तर्राष्ट्रिय सञ्जाल बनिसकेको हुन्छ । यसले पर्यटकसँगै अन्य मुलुकमा जाने र अवसर प्राप्त गर्ने अवस्था बन्छ । ‘सोही कारण आज धेरै शेर्पा सहयोगीले विकसित मुलुकमा आफूलाई स्थापित गराइसकेका छन् । यो हिमाली पर्यटनकै कारण सम्भव भएको हो’, श्रेष्ठ भन्छन् ।
पदयात्रा होस् वा पर्वतारोहण, दुवै प्राविधिक रूपमा धेरै तयारी गरेर मात्र जानुपर्ने क्षेत्र हुन् । यसका लागि सोही अनुसारका लत्ता–कपडादेखि जुत्तासम्मको जोहो गर्नुपर्छ । काठमाडौंको ठमेल होस् वा पोखरामा सयौं पसल पदयात्री र पर्वतारोहीलाई लक्षित गरी खुलेका छन् । उनीहरूले राम्रो व्यापार पनि गरेका छन् ।
तर, चिन्ता संरक्षण र निरन्तरताको
नेपालको हिमाल अधिक दोहनको शिकार भएको गुनासो व्यापक छ । सगरमाथा सहितका हिमालमा फोहोरका डंगुर थुप्रिएका छन् । हिमाल सरसफाइका नाममा प्रति आरोही लाखौं रुपैयाँ असुल हुन्छ । तर, त्यो औपचारिकतामा सीमित छ । एजेन्सीहरूसँगको मिलेमतोमा कतिपय आरोहीले सगरमाथा चढ्दै नचढी चढेको दाबी गर्ने गरेका खबर पनि सार्वजनिक हुने क्रम बढेको छ ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष जिम्बा जाङ्बु शेर्पा पर्वतारोहण समेत अब भ्रष्टाचारका कारण संकटमा पर्न थालेको बताउँछन् । ‘पैसा तिरेपछि हिमालमा जे गरे पनि हुन्छ भन्ने बनाइयो’ उनी भन्छन्, ‘यहाँ भ्रष्टाचार मौलायो, यो नेपालको हिमाली पर्यटन र समग्र पर्यटन उद्योगका लागि खतराको सुरुवात हो ।’
पदयात्रा मार्गहरू मासिनु, क्याम्पेनहरू मासिएर जहाँतहीं होटल र होम स्टे विस्तार भएपछि यस्तै अनुभवका लागि अब पर्यटक नेपाल नआउन सक्ने चिन्ता उनको छ । ‘नेपाल आउने त दैनिक केही घन्टा हिंडेपछि क्याम्पेनमा रमाउने र आराम गर्ने अनि भोलिपल्ट अर्को गन्तव्यमा पुग्ने लक्ष्य सहित हिंड्न हो’ उनी भन्छन्, ‘गाडी र हेलिकप्टरमा पुगेर होटलमा बसेर विदेशी खाना खान त किन नेपाल आइराख्नु पर्यो र ?’
पर्वतारोहणबाट भइरहेको रोयल्टी संकलन
हिमालचुली | वसन्त ऋतु |
आव २०७५/७६ | ५५ करोड ३४ लाख |
आव २०७६/७७ | ४४ करोड ८२ लाख |
आव २०७७/७८ | ५५ करोड ९८ लाख |
आव २०७८/७९ | ५३ करोड ५३ लाख |
आव २०७९/८० | ८६ करोड १४ लाख |
आव २०८०/८१ | ७७ करोड |
त्यसकारण सरकारले प्रभावकारी नीति बनाएर नेपालको हिमाल, हिमाली संस्कृति र पदयात्रा तथा पर्वतारोहणलाई जीवन्त राख्न ढिला गर्न नहुने उनको सुझाव छ । यसो भएमा अर्को पुस्ताले पनि हिमालबाट लाभ पाइरहने उनी बताउँछन् ।
प्रतिक्रिया 4