५ वैशाख, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोलीले शनिबार महत्वपूर्ण खेलमा अफगानिस्तानको यू-१९ टोलीसँग खेल्दै छ । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम दिनको खेलमा दुई दाबेदार टोली खेल्दा दुवैको नजर आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने यू-१९ विश्वकपमा हुनेछ ।
शनिबारको उक्त महत्वपूर्ण खेल जित्ने टोलीले सन् २०२६ को जनवरी-फेब्रुअरीमा हुने विश्वकपको टिकट काट्ने छ । नेपाल घरेलु मैदानमै खेल्दा लगातार दोस्रोपटक छनोट हुने लक्ष्यमा रहँदा यसअघि सोझै खेल्ने गरेको अफगानिस्तान छनोटमा तानिएको प्रतिशोध साँध्ने दाउमा हुनेछ ।
अघिल्लोपटक २०२४ मा भएको यू-१९ विश्वकपमा अफगानिस्तान नेपालसँग समूह चरणमा पराजित भएर अगाडि बढ्न नसक्दा यसपटक छनोटमा तानिएको हो । सबैभन्दा बलियो टोली तथा टेस्ट राष्ट्र अफगानिस्तानसँग नै नेपालको महत्वपूर्ण खेल हुने भएको हो ।
यस छनोट प्रतियोगिताअघि नेपालले अफगानिस्तानसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा ३ खेलको शृंखला खेलेको थियो जहाँ पहिलो खेल एकतर्फी रूपमा गुमाउँदा दोस्रो खेलमा नजिक पुगेर पराजित भएको थियो भने तेस्रो खेलमा शानदार बलिङ गर्दै जितेको थियो ।
अब शनिबार तल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपालले घरेलु मैदानमा घरेलु दर्शककै अगाडि अफगानिस्तानको चुनौती समाप्त पार्दै विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
नेपालको असली परीक्षा
शनिबार अफगानिस्तानसँग खेल्दै गर्दा नेपालका लागि असली परीक्षा हुनेछ । हालसम्म तीनवटै खेल जितेको नेपालका लागि सबैभन्दा ठुलो चुनौती नै अफगानिस्तान हुनेछ ।
युएईसँग मिल्दो स्तर भएपनि ओमान र हङकङमाथि भने नेपालले दबदबा कायम गर्दै आएको हुन्छ । त्यसकारण ओमान र हङकङसँगको जित अपेक्षित नै थियो । यूएईसँगको पहिलो खेल नै वर्षाका कारण इन्टेन्स बन्दा डिएल पद्दतिमा नेपाल भाग्यमानी साबित भयो ।
उता अफगानिस्तानले पनि यूएईसहित ओमान र हङकङलाई हराइसकेको छ । यूएईमाथि अफगानिस्तानले भने फराकिलो अन्तरको जित निकालेर नेटरनरेट पनि बलियो बनाएको छ । नेपालका लागि अफगानिस्तानसँग जितको विकल्प छैन ।
अफगानिस्तानविरुद्ध नेपालले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । हालसम्म यूएईविरुद्ध मात्र केही संघर्ष गर्नुपरेको नेपालले अफगानिस्तानविरुद्ध भने परिस्थिति अनुसार रणनीति बनाएर प्रेसर पनि ह्यान्डल गर्न सक्नेगरी खेल्नुपर्ने हुन्छ ।
यस्तोमा मुख्य प्रतिस्पर्धा नेपाली स्पीनर र अफगानी ब्याटरको बीचमा हुने देखिन्छ । अफगानिस्तानले नेपालका स्पीनरहरूलाई कसरी खेल्नेछन् वा नेपालले कतिसम्म दबाबमा राख्न सक्छ त्यो महत्वपूर्ण हुनेछ । अर्कोतर्फ शीर्षक्रमबाहेक त्यति भरपर्दो नदेखिएको ब्याटिङमा पनि नेपालले कुन हिसाबको प्रदर्शन गर्छ त्यसमा खेलको नतिजा निर्भर गर्नेछ ।
ब्याटिङ हेर्दा दुवै टोली शीर्ष ४ मा बढी निर्भर देखिएका छन् । अफगानिस्तानको भने मध्यक्रम नेपालभन्दा अझ राम्रो छ भन्न सकिन्छ । पछिल्लो खेलमा यूएईविरुद्ध अफगानिस्तानको मध्यक्रमले पनि आक्रामक ब्याटिङ गर्दै विशाल योगफलसम्म पुर्याएका थिए । यस खेल तल्लो मुलपानीमा भएपनि अफगान ब्याटरको भूमिका उही रहनेछ । समग्रमा दुवै टोलीको बलिङबाट नै खेलको नतिजा तय हुनेछ ।
के भन्छन् कप्तान र प्रशिक्षक
नेपाली टोलीका कप्तान नरेन भट्टले महत्वपूर्ण खेलमा बलियो टोली अफगानिस्तानलाई हराउनेमा विश्वस्त रहेको बताएका छन् । हङकङसँगको सहज जितपछि कुरा गर्दै नरेनले अब हुने महत्वपूर्ण खेलका लागि टिममा सबैको मनोबल उच्च रहेको उल्लेख गरेका थिए ।
‘हामी विश्वस्त छौं, सबैजनाको मनोबल उच्च छ जुन हिसाबले हामी खेलिरहेका छौं, हामी जित्न सक्छौं र विश्कपमा छनोट हुनेछौं,’ नरेनले भने ।
अफगानिस्तानसँग यसअघि खेलेको युथ ओडीआई शृंखलाबाट सिकेका कुराहरूबाट नै रणनीति बनाउने कप्तान नरेनले बताए । ‘अब कसरी खेल्नुपर्छ भन्ने कुरा त त्यही दिन थाहा हुन्छ, ब्याटिङ–बलिङ जे भए पनि आफ्नो बेस्ट दिनेछौं,’ उनले भने ।
त्यस्तै प्रशिक्षक शक्ति गौचनले पनि यो क्षणको लागि लामो समयदेखि तयारी र मेहेनत गरेकाले खेलाडीहरूले सोचेभन्दा राम्रो प्रदर्शन गरिरहेको र अब पनि राम्रो खेलेर विश्वकपमा छनोट हुने कुरा उल्लेख गरेका छन् ।
‘अफगानिस्तान बलियो टोली हो, यहीँ शृंखला पनि खेलेका छौं । अन्तिम खेलमा जित पनि निकाल्यौं, हामी हराउन सक्छौं’ शक्तिले भने ।
हेड टु हेड
नेपाल र अफगानिस्तान सन् २००७ देखि हालसम्म कुल १९ पटक आमनेसामने भएका छन् । तीमध्ये १२ खेल अफगानिस्तानले जित्दा नेपालले ७ खेल जितेको छ ।
सन् २००७ मै नेपालले पहिलोपटक अफगानिस्तानविरुद्ध जित निकालेको नेपालले त्यसयता २०११ मा दुईपटक हराएको नेपालले सन् २०१८ मा एकपटक तथा सन् २०२४ मा दुईपटक र २०२५ मा एकपटक हराएको छ ।
पछिल्लोपटक नेपालले माथिल्लो मुलपानीमा भएको शृंखलामा सान्त्वना जित निकाल्ने क्रममा जित निकालेको थियो । त्यसअघि सन् २०२४ को अन्तिममा एसिया कपमा १ विकेट तथा २०२४ कै जनवरीमा भएको विश्वकपमा पनि १ विकेटको जित निकालेको थियो ।
वर्षाको डर
नेपाल र अफगानिस्तानबीचको खेल हुने दिन शनिबार दिउँसोदेखि वर्षाको सम्भावना देखिएको छ । त्यसअघि बिहीबारदेखि नै अपराह्नको समयमा वर्षा भइरहेको छ ।
खेल हुने दिन मैदानको अवस्था ठीक भएर निर्धारित ५० ओभरकै खेल सुरु भएमा दिउँसो पानी पर्ने सम्भावना देखिएको छ । यदि शुक्रबार पानी परेर शनिबार विहान खेल ढिला सुरु भएमा केही ओभर घटाइन सक्छ ।
वर्षाले खेलमा बाधा पुर्याएर खेल सुरु हुनै नसकेमा वा खेल चल्दै गर्दा डिएल पद्दति प्रयोग गर्न मिल्ने अवस्थामा खेल नपुगेमा नतिजाविहीन हुँदै दुवै टोलीले अंक बाँड्ने छन् र नेट रनरेटमा माथि रहेको अफगानिस्तान विश्वकपमा छनोट हुनेछ ।
नेपाल घरेलु मैदानमै वर्षाका कारण अंक बाँडिएर ‘हार्ट-ब्रेक’ हुने किसिमको नतिजा चाहने छैन । यस्तोमा अब वर्षाले बाधा नपुर्याइकन नेपाल र अफगानिस्तानबीचको खेल पूरै सम्भव भएमा भने यो निर्णायक खेल रोमाञ्चक अवश्य बन्नेछ ।
प्रतिक्रिया 4