
५ वैशाख, जनकपुरधाम । यौन दुर्व्यवहार पश्चात मृत फेला परेकी सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी आनन्दीदेवी सदायको घटना प्रहरीले तीनसदस्य समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो । सदस्यमा कार्यालयकै प्रहरी निरीक्षक विक्रम साह र अन्य एकजना हबल्दार रहेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी लालमणि आचार्यले जानकारी दिए ।
बुधबार नै समिति गठन गरेर अनुसन्धान थालिएको छ । मेडिकल रिपोर्टहरू आएपछि जतिसक्दो चाँडो अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाउन समितिलाई जिम्मेबारी दिइएको उनले बताए ।
गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट पुस ९ गते यौन दुव्र्यवहार भोगेकी आनन्दी गत मंगलबार दिउँसो आफ्नै माइत घरमा मृत फेला परेकी थिइन् ।
उनले न्याय पाउन घटनाकै दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिएपनि प्रहरीको आलटालले न्याय पाउन सकेकी थिइनन् ।
मृतककी आमा बिल्टौनदेवी सदायका अनुसार गाउँमै आरोपित पक्ष र प्रहरीले पनि पीडितलाई गाउँमै मिल्न दबाब दिएको थियो ।
२५ फागुन २५ मा मात्र प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान बढाएपनि घटनामा संलग्न युवकहरू फरार छन् । एकातर्फ न्याय नपाएको र अर्कोतर्फ श्रीमानले समेत उक्त घटना पश्चात बेवास्ता गर्दा तनाबमा आत्महत्या गरेको हुन सक्ने आशंका परिवारजनको छ ।
प्रतिक्रिया 4