
५ वैशाख, काभ्रेपलाञ्चोक । गत असोज १२ गते रोशी खोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बीपी राजमार्गको भकुण्डेबेसी-नेपालथोक सडक चार खण्डमा विभाजन गरी पुनर्निर्माण गरिने भएको छ।
काभ्रेपलाञ्चोकको भकुण्डेबेसीदेखि चारसयबेसीसम्म एक खण्ड, चारसयबेसीदेखि डालाबेसीसम्म एक खण्ड, डालाबेसीदेखि बर्खेखोलासम्म एक खण्ड र बर्खेखोलादेखि सिन्धुलीको नेपालथोकसम्म एक खण्ड गरी चार खण्डमा पुनर्निर्माण हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सुमन योगेशले काभ्रेपलाञ्चोकतर्फ भकुण्डेबेसीदेखि चारसयबेसीसम्म ११ दशमलब ८ किलोमिटर, चारसयबेसीदेखि डालाबेसीसम्म ८ दशमलव ५ किलोमिटर सडक र सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म चार किलोमिटर सडकखण्ड पुनर्निर्माणको लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिए ।
राजमार्गको अलि बढी मोड र अप्ठ्यारो रहेको डालाबेसीदेखि बर्खेखोलासम्मको ५ दशमलव ५ किलोमिटर सडक पुननिर्माणको लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भएको उनले जानकारी दिए । ‘जापान सरकार सकारात्मक छ, जाइकाले स्थलगत अध्ययन गरेर सडक निर्माणको निर्णय गर्नेछ,’ योगेशले भने ।
क्षतिग्रस्त बीपी राजमार्ग पुननिर्माणको लागि काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब गरी सरकारबाट ८ अर्ब ५० करोड बजेटको सुनिश्चितता प्राप्त भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार भकुण्डेबेसीदेखि चारसयबेसीसम्म ११ दशमलब ८ किलोमिटर सडक निर्माणको लागि २ अर्ब ५२ करोड, चारसयबेसीदेखि डालाबेसीसम्म ८ दशमलव ५ किलोमिटर सडकका लागि २ अर्ब ४५ करोड र बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक निर्माणको लागि १ अर्ब रुपैयाँ लागत गरेर ठेक्का आह्वान भएको हो ।
डालाबेसीदेखि बर्खेखोलासम्मको ५ दशमलव ५ किलोमिटर सडक निर्माणको लागि २ अर्ब ५० करोड लागत अनुमान भए पनि यो खण्डको जाइकालाई निर्माणको लागि अनुरोध भएको छ ।
डिभिजन सडकले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माण साविकको सडक ट्र्याकबाट नै गरिने जनाएको छ । राजमार्ग पुनर्निर्माण हुँदा कम्तीमा दुई वटा गाडी सहज रूपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोशी खोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसीसी पर्खाल लगाएर सडक निर्माण गरिने सीडीई योगेशले जानकारी दिए ।
‘भकुण्डेदेखि नेपालथोकसम्मको पुननिर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन सडक बनाउने गरी ठेक्का आह्वान भएको छ,’उनले भने ।
कार्यालयले पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउनेछ । बीपी राजमार्गको खुर्कोटदेखि सिन्धुलीको चियाबारीसम्मको सडकलाई छोटो बनाउनका लागि सुरुङ मार्ग बनाउने विषयमा समेत जाइकाले अध्ययन गर्दै आएको छ ।
निर्माणमा सबैभन्दा जोखिम रहेको बर्खेखोलादेखि डालाबेसी सडकखण्डमा भने साना टनेल (सुरुङ) बनाउने, अग्ला पुल बनाउने खालका नयाँ काम हुनसक्ने भएकोले जाइकासँग छलफल भइरहको छ । सीडीई योगेशका अनुसार उक्त खण्डमा रहेका सडकका मोडलाई सिधा बनाउनका लागि पाँच सय मिटरका छोटा टनेल (सुरुङ) बनाउनुपर्ने बताए ।
सडक पुननिर्माणको लागि सूचना प्रकाशित गरिएका सडकखण्डको जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
बीपी राजमार्गमा बढ्दै गएको सवारी चापलाई समेत मध्यनजर गर्दै पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाइनेछ भने निकट भविष्यमा धुलिखेलदेखि भकुण्डेसम्मको सडकलाई दुई लेन बनाउने लक्ष्य रहेको छ ।
वर्षासँगै आएको बाढीका कारण क्षति भएको बीपी राजमार्गमा आसन्न मनसुनको समयमा समेत यातायात सञ्चालन गर्ने गरी काम भइरहेको छ । डिभिजन सडक भक्तपुरले अस्थायी सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाउने काम गरिरहेको छ ।
सीडीई योगेशले डिभिजन सडक भक्तपुर, काठमाडौँ लगायतका डिभिजनबाट स्काभेटर, रोलर, लोडर, टिप्पर जस्ता उपकरण सञ्चालन गरी रोशी खोलाको बहाव परिवर्तनका साथै खोलामा रहेको निर्माण सामग्री प्रयोग गरेर सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाउने काम गरिरहेको बताए ।
प्रतिक्रिया 4