
सुन्दा सामान्य लाग्छ, तर दाम्पत्य सम्बन्धले परिवारको संगठनलाई धराप वा बलियो बनाउने भन्ने टुंगो गर्छ । दाम्पत्य सम्बन्ध जति सुमधुर हुन्छ, उनीहरूको परिवार उत्तिनै हाँसीखुसी हुन्छ । यसको विपरीत दम्पतीबीचको शंका, मनमुटावले परिवारमा कलह ल्याइरहन्छ ।
त्यसो भए दाम्पत्य सम्बन्धलाई कसरी मिठासपूर्ण बनाउने त ?
केही यस्ता पुस्तक छन्, जसले उनीहरूको प्रेम, विश्वास र साथ–समर्थनलाई अझ कसिलो बनाउने जुक्ति दिन्छ ।
१. द फाइभ लभ ल्याङ्वेज
दाम्पत्य सम्बन्धलाई कसरी प्रगाढ बनाउने ? यो पुस्तकले मायाको पाँच परिभाषाबाट गहनरुपले सिकाउँछ । गुणस्तरीय समय, शारीरिक स्पर्श, सहकार्य, उपहार आदानप्रदान र प्रशंसाका शब्दहरू पोख्ने अभ्यासले सम्बन्ध दिगो र सुमधुर रहन्छ ।
प्रत्येक व्यक्तिको प्रेम व्यक्त गर्ने र महसुस गर्ने तरिका फरक हुन्छ । यदि जोडीले एकअर्काको प्रेम भाषा बुझेन भने सम्बन्धमा असमझदारी र दूरी बढ्न सक्छ ।
जस्तो, कसैलाई प्रेम शारीरिक सामिप्यताबाट महसुस हुन्छ भने कसैलाई सहयोगी कार्यबाट पनि हुनसक्छ । पुस्तकले जोडीहरूलाई एकअर्काको प्राथमिकता बुभेर प्रेमको भाषा पहिचान गरी त्यसअनुसार व्यवहार गर्न प्रोत्साहन गर्छ ।
यो पुस्तकले दम्पतीबीच संवाद र भावनात्मक पक्षलाई बलियो बनाउन स-साना कुरामा ध्यान दिने, जति व्यस्त भए पनि नियमित केही समयसँगै बिताउने र एकअर्कालाई प्राथमिकता दिन व्यावहारिक सुझावहरू प्रदान गर्छ ।
द फाइभ लभ ल्याङ्वेज पुस्तक विश्वभर लोकप्रिय छ किनभने यसले सरल तर गहिरो तरिकाले सम्बन्धका समस्याहरूलाई समाधान गर्न मार्गदर्शन गर्छ ।
२. होल्ड मी टाइट
दम्पतीले पढ्नै पर्ने पुस्तक हो, ‘होल्ड मी टाइट’ ।
नाम सुन्दै रोमाञ्चित बनाउने डा. सुजान जोन्सनले लेखेको पुस्तकले एकअर्कालाई भावना पोख्न सिकाउँछ । यो नै सुमधुर सम्बन्ध दिगो र सफल बनाउने मुल मन्त्र रहेको दर्शाउँछ ।
पुस्तकले सात संवाद प्रक्रियाहरूलाई सरल भाषामा प्रस्तुत गर्छ, जसले जोडीहरूलाई आफ्ना भावनाहरू खुलस्त राख्न र एकअर्कालाई गहिरो रूपमा बुझ्न मद्दत गर्छ ।
जोन्सनको मुख्य तर्क भनेको प्रेम सम्बन्धमा सुरक्षित बन्धनको आवश्यकता हुन्छ, जुन विश्वास र खुलापनबाट मात्रै सम्भव छ ।
पुस्तकले मनमा अनेकौं कुरा खेलाउने, नपोख्ने जस्तो व्यवहारलाई नकारात्मक चक्र भनेर व्याख्या गरेको छ । दाम्पत्य सम्बन्धमा दरार ल्याउन सक्ने यी नकारात्मक चक्रलाई पहिचान गरी तिनलाई तोड्ने तरिका सो पुस्तकले सिकाउँछ ।
३. लभ एन्ड रिस्पेक्ट
डा. इमर्सन एगेरिच्सको यो पुस्तक बाइबलको सिद्धान्तमा आधारित भए पनि यसका विचारहरू विश्वव्यापी छन् । पुस्तक अनुसार पुरुषलाई मुख्य रूपमा सम्मानको आवश्यकता हुन्छ भने महिलालाई प्रेमको ।
यदि यी दुई कुरा सम्बन्धमा सन्तुलित भएनन् भने असम्झदारी र तनाव बढ्छ । पुस्तकले ‘पागल चक्र’को अवधारणाबाट प्रेमको कमीले हुने असमान व्यवहार र असमानले प्रेमलाई कमजोर बनाउने उल्लेख गरेको छ ।
यो चक्र तोड्न लेखकले व्यावहारिक सुझाव दिन्छन्, जस्तैः एकअर्काको कदर गर्ने, सम्मान गर्ने, धैर्य हुने र कुरा सानो होस् वा ठूलो, माफी माग्न संकोच नमान्ने, एकअर्काको आवश्यकता र अपेक्षालाई सम्मान गर्ने ।
४. मेन आर फ्रम मार्स, वुमन आर फ्रम भिनस
पुरुष र महिलाको भावनात्मक र मनोवैज्ञानिक भिन्नताहरूलाई रोचक तरिकाले व्याख्या गरेको जोन ग्रेको यो क्लासिक पुस्तकमा पाइन्छ । लेखकले पुरुष र महिलालाई दुई फरक ग्रहका प्राणीको रूपमा चित्रण गर्छ, जसका सोच्ने र व्यवहार गर्ने तरिका भिन्न हुन्छन् ।
उदाहरणका लागि, पुरुष समस्याको समाधान खोज्नमा केन्द्रित हुन्छन् भने महिलाले भावनात्मक समर्थन खोज्छन् । पुस्तकले यी भिन्नताहरूलाई बुझेर एकअर्कासँग संवाद गर्ने र अपेक्षाहरू समायोजन गर्ने तरिका सिकाउँछ । यसले विशेषगरी नवविवाहित जोडीहरूलाई एकअर्काको स्वभाव बुझ्न सहयोग गर्छ ।
५. द रोड लेस ट्राभल्ड
दाम्पत्य जीवन सुखमय बनाउन व्यक्तिगत विकास र आध्यात्मिक वृद्धिमा केन्द्रित रहनुपर्ने लेखक एम. स्कट पेकको यो पुस्तकले बताउँछ । पुस्तकका अनुसार व्यक्तिगत विकास र आध्यात्मिक चेतनाले दाम्पत्य सम्बन्धलाई पनि गहिरो प्रभाव पार्छ ।
लेखकले प्रेममा अनुशासन, जिम्मेवारी र व्यक्तिगत वृद्धिको महत्वलाई जोड दिन्छ । साँचो प्रेम तब मात्र सम्भव छ, जब दुवै व्यक्ति आफ्नो कमजोरी र सीमालाई स्वीकार गर्छन् र एकअर्काको विकासमा सहयोग गर्ने लेखक एम. स्कटको तर्क छ ।
पुस्तकले जोडीहरूलाई कठिनाइको सामना गर्न, माफी माग्न संकोच नमान्न र एकअर्कालाई स्वीकार गर्न प्रेरित गर्छ । यसमा प्रेम, सम्बन्धमा आउने चिसोपन र सम्बन्धको आध्यात्मिक आयामबारे गहन संवाद तर सरल रुपमा प्रस्तुत गरेको छ ।
प्रतिक्रिया 4