+

सिद्धान्त लोहनी : पीडामा बाँचिरहेका एक प्रतिभावान् खेलाडी

२०८२ वैशाख  ५ गते १६:०६ २०८२ वैशाख ५ गते १६:०६

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको जस्तै हेलिकप्टर शट हानेर चर्चामा आएका सिद्धान्त पछिल्लो समय भने चोटसँग संघर्ष गर्दै भगवानसँग प्रार्थना गरिरहेका छन्

सिद्धान्त लोहनी : पीडामा बाँचिरहेका एक प्रतिभावान् खेलाडी

५ वैशाख, काठमाडौं । नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका एक प्रतिभावान् क्रिकेटर सिद्धान्त लोहनी अहिले चोटबाट निको हुन संघर्ष गरिरहेका छन् ।

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको जस्तै हेलिकप्टर शट हानेर चर्चामा आएका सिद्धान्त पछिल्लो समय भने चोटसँग संघर्ष गर्दै भगवानसँग प्रार्थना गरिरहेका छन् ‘मलाई फेरि हिँड्न सक्ने बनाइदिनु ।’

कुनै समय नेपालका लागि खेल्ने सम्भावना बोकेका सिद्धान्त अहिले चोटका कारण पीडामा छन् । उनी भारतको गुरुगाउँस्थित एक अस्पतालमा अहिले उपचारमा छन् । केही समयअघि घुँडाको शल्यक्रिया गराएपछि अहिले उनी थेरापी गरिरहेका छन् ।

उनी घाइते भएको र शल्यक्रिया गरेको यो पहिलो पटक होइन । एक खेलाडीका लागि घाइते हुनु र खेल्न नपाउनु जस्तो पिडा अरु केही हुँदैन । सिद्धान्त अहिले त्यही स्थितिमा छन् । उनले ठिक भएर फेरि मैदान फर्कने भन्दा पनि ठिक भएर पूर्ण रुपमा फेरि हिँड्न पाए हुन्थ्यो भन्ने भइरहेको छ ।

सिद्धान्तले सन् २०१५ जुलाई १८ मा आईसीसी टी२० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका थिए । उक्त खेलमा उनले १६ बल खेल्दै २ चौका र २ छक्काको मदतमा २७ रन बनाएका थिए ।

उक्त खेलमा नेपाल ७ विकेटले पराजित हुँदा टिमका लागि सर्वाधिक रन बनाउने खेलाडी उनै सिद्धान्त थिए । खेल हारेपनि सिद्धान्तले हानेको हेलिकप्टर शटको चर्चा भएको थियो । अन्तर्राष्ट्रिय स्तरमै उनको सटले चर्चा पायो ।

डेब्यु खेलमा राम्रो प्रदर्शन गर्दै सम्भावना देखाएपनि सिद्धान्तको अन्तर्राष्ट्रिय करियर भने त्यसपछि अघि बढेन । तर पटक पटक चोटले सताएपछि अहिले उनी बल र ब्याटबाट टाढा छन् ।

पछिल्लो पटक सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी-२० राष्ट्रिय प्रतियोगिता सिद्धान्तका बिर्सनलायक क्षण बन्यो । कोशी प्रदेशका कप्तानी गर्दै खेलेका सिद्धान्त गण्डकी प्रदेशविरुद्ध फिल्डिङ गर्ने क्रममा घाइते भए ।

खुट्टामा लागेको चोटका कारण त्यसपछि सिद्धान्त क्रिकेट मैदानमा देखिएका छैनन् । उनी अहिले त्यही चोटको उपचार गराइरहेका छन् ।

सिद्धान्तले सन् २०१८ मा एभरेष्ट प्रिमियर लिग र सन् २०२३ जनवरीमा मा नेपाल टी२० लिग समेत खेलेका थिए । २०२३ जुनमा घाइते भएपछि भने उनले फेरि खेलेका छैनन् । यसबीचमा सिद्धान्त कता छन् के गर्दैछन् भन्ने उनका नजिका बाहेक धेरैलाई थाहा थिएन ।

तर लगातार उपचार गराउँदा समेत ठिक भएको, क्रिकेटको अभिभावक संस्था क्यानमा पनि बारम्बार पत्राचार गराउँदा पनि सहयोगको कुनै पहल नभएको र अभिभावक संस्थाको गतिविधिहरु देखेपछि मंगलबार सिद्धान्तले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै आफ्नो चोटबारे जानकारी गराएका हुन् ।

दुई वर्षअघि घाइते हुँदा शल्यक्रिया गराएर विराटनगर जाँदा इन्फेक्सन भएपछि फेरि शल्यक्रिया गर्नुपरेको सिद्धान्तले बताएका छन् । ‘सन् २०२३ मा जनकपुरमा महेन्द्रनारायण निधि टी-२० कप खेल्ने क्रममा घाइते भएपछि त्यहसको केही दिनमा मेरो शल्यक्रिया भएको थियो । केही दिन फिजियोथेरापी गराएर विराटनगर घरमा पुगेँ’ उनले भनेका छन् ‘तर दुख्न थाल्यो । दुखाई बढेर बयो । खुट्टामा इन्फेक्सन भइसकेको रहेछ । फेरि अर्को शल्यक्रिया गर्नु पर्ने भयो । इन्फेक्सन भएको रहेछ । बाराम्बार भयो । बिएनबी अस्पतालमा पाँच पटक शल्यक्रिया भयो ।’

उनले आफ्नो खुट्टाको ६ पटक शल्यक्रिया गराएको र उपचारमा २० लाख भन्दा बढी खर्च भइसकेको उल्लेख गर्दै क्यानबाट कुनै सहयोग नपाएको दु:ख व्यक्त गरेका छन् ।

‘म घरमा लडेको पनि होइन । बाटोमा हिँड्दा लडेको थिइनँ । म राष्ट्रिय प्रतियोगिता खेल्दा घाइते भएको थिए । भिडियोहरु सबै छ । म कोशी प्रदेशको कप्तान थिएँ, गण्डकी प्रदेशविरूद्ध फिल्डिङ गर्ने क्रममा घाइते भएको थिएँ’ सिद्धान्तले भिडियोका भनेका छन् ।

‘पटक पटक भन्दा सुरुमा क्यानले धेरै आश देखाउनु भयो । जहिले पनि गर्छौं-गर्छौं भन्नु भयो । अबको बोर्ड बैठकमा तिम्रो विषयमा निर्णय हुन्छ भन्नु भयो । दुई वर्ष भइसक्यो अहिलेसम्म उहाँहरुको बोर्ड बैठक नै भइरहेको छ । अहिलेसम्म केही जवाफ नै आएको छैन’ उनले भने ।

भिडियो सार्वजनिक भएपछि उनको बारेमा विभिन्न सञ्चार माध्यममा समाचारहरु आउन थालेपछि अहिले भने क्यानले सहयोग गर्छौं भन्ने आश्वासन दिएको उनले बताए । ‘क्यानबाट हामी सबै कुराको सहयोग गर्छौँ भनेर भन्नुभाछ, अब क्यानको मिटिङपछि केही अपडेट आउँछ होला’ सिद्धान्तले अनलाइनखबरसँग भने ।

यता यसबारेमा क्यानले भने आवश्यक सहयोग गरिने आश्वासन व्यक्त गरेको छ । ‘महेन्द्र निधी कपमा घाइते भएपछि क्यानले तत्काल बिएण्डी हस्पिटलमा पत्राचार गरेर आवश्यक ट्रिटमेन्टमा सहज गर्नु भनेर भनेको थियो । अनि १ लाख आर्थिक सहयोग पनि गरेको रैछ’ क्यान प्रवक्ता छुम्बी लामाले भने, ‘बल्ल अहिले उसको कति पटक शल्यक्रिया भएको भनेर थाहा भयो । परिवारले पनि क्यानमा जानकारी गराउनुभाछ । क्यानले कार्यसमितिमा छलफल गरेर आवश्यक सहयोग गर्छ । यति उति भन्ने छैन । तर राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी भएकाले सिद्धान्तलाई क्यानले सहयोग गर्छ ।’ उनले भने ।

सिद्धान्त लोहनी

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय