
५ वैशाख, चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले अब संविधान संसोधन हुँदा नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्लाको नाम परिवर्तन गरिने बताएका छन् ।
नेकपा एमाले गैंडाकोट नगरकमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली संविधान बनाउँदा यो नाम खासै ख्याल नगरिएको बताउँदै अब संविधान संशोधन हुँदा नवलपुर राखिने बताए । त्यसका लागि प्रक्रिया मिलाएर आउन उनले आग्रह गरे ।
‘संविधानको अनुसूचीमा मिलाए हुने कुरा हो, त्यतिबेला ख्याल भएन’ प्रधानमन्त्री ओलीले भने, ‘अब संविधान संशोधन हुँदा मिलाउनुपर्छ ।’
वि.स. २०७२ सालमा संविधान जारी हुँदा नवलपरासी जिल्लालाई टुक्राएर नवलपरासी बर्दघाट सुस्ता(पश्चिम) र नवलपरासी बर्दघाट सुस्ता (पूर्व) गरी दुई जिल्ला बनाइएको थियो ।
नवलपरासी जिल्ला हुँदा सदरमुकाम परासी थियो । जिल्ला टुक्राएपछि नवलपरासी बर्दघाट सुस्ता (पश्चिम)को सदरमुकाम साविक परासी र नवलपरासी बर्दघाट सुस्ता (पूर्व) को सदरमुकाम कावोसोती राखिएको छ ।
सुस्ता पूर्वका वासिन्दाले चलनचल्तीमा नवलपुर जिल्ला लेख्ने गरेका छन् । तर, सरकारी कामकाजमा भने संविधानको अनुसूचीमा उल्लेख भएकै नाम लेख्ने गरिएको छ ।
प्रतिक्रिया 4