+
+
Shares

बिन्दा पाण्डेको किताबले सम्झाएको भुइँमान्छेका बलिदान

किन आज पनि भुइँमान्छेहरूप्रति दल र नेताहरू जवाफदेही छैनन् ?

शोभा बजगाई शोभा बजगाई
२०८२ वैशाख ६ गते २१:५३

शाब्दिक रूपमा ‘भुइँमान्छे’ ले साधारण मान्छे, भुइँमा बस्ने मान्छे भन्ने अर्थ राख्छ । लेखन विधा आफैंमा विराटता बोकेको विधा हो । त्यसमा पनि गैरआख्यान तुलनात्मक रूपमा आख्यान भन्दा कम लेखन र पठन भएको क्षेत्र हो भन्दा अत्युक्ति नहोला । विशेषतः आख्यानले भावना, कल्पनाशीलता र मानवीय संवेदनाको कुरामा बढी जोड दिन्छ । तर गैरआख्यानले सत्य–तथ्य र यथार्थ विषयवस्तु पस्कने काम गर्छ ।

अनुसन्धानमूलक हुने भएकोले कुनै पनि ठाउँ, विषय, व्यक्ति वा घटनाप्रति धारणा बनाउन/बदल्न महत्वपूर्ण भूमिका खेल्छ । यसर्थमा, गैरआख्यानले हाम्रो ज्ञानको दायरालाई तथ्यमा आधारित बनाउन सहयोग पुर्‍याउँछ । विचारको परिधि फराकिलो बनाउन मद्दत गर्छ ।

पछिल्लो समय गैरआख्यानहरूको भीडमा एउटा छुट्टै पहिचान बोकेर आएको पुस्तक हो, ‘भुइँमान्छे’ । डा. बिन्दा पाण्डेद्वारा लिखित यो पुस्तक गएको फागुन २१ गते विमोचन भएको हो । लेखक गैरआख्यान विधामा नै कलम चलाउनुहुन्छ । योभन्दा अगाडि समानताका पाइला, धर्तीमाथिको दाबी, संसदीय राजनीतिमा महिला सहभागिता लगायत पुस्तकहरू प्रकाशित भइसकेका छन् ।

भुइँमान्छे विशेषतः राज्यव्यवस्था बदल्न भुइँमा बसेर योगदान गर्ने व्यक्तिहरूको लिखित/अलिखित समर्पण, त्याग र बलिदानको उत्खनन् गर्ने प्रयास हो । किन आज पनि उनीहरूप्रति दल र नेताहरू जवाफदेही छैनन् ? भुइँमान्छेको योगदानलाई कम आँक्ने अधिकार नेतृत्वलाई कसले दियो ? सहयोद्धा भएर हिंडेका कमरेडहरू एकाएक भुइँमान्छे नचिन्ने कसरी भए ? किताबको माध्यमबाट यी प्रश्नहरू नेतृत्वलाई जवाफ दिन छाडिएको छ । खासगरी वाम आन्दोलनको इतिहासमा प्रजातन्त्र र बहुदलीय व्यवस्था ल्याउनका लागि भएका संघर्ष र उतारचढावको फेहरिस्त अटाएको छ, किताबमा ।

समग्रतामा पुस्तकलाई हेर्नुपर्दा अटाएका नामहरू हेरौं एकपटक । मान्छेको नाममा खास के हुन्छ ? एउटा व्यक्तिको लागि उसको नाम के हो ? ‘नाम त सानो देखिन्छ, तर यसमा पूरा जीवनको कथा लुकेको हुन्छ’, परशु प्रधान भन्नुुहुन्छ ।

त्यसैगरी, ‘नाम मानिसको आत्मा हो, जसलाई मेट्न सकिंदैन’, लक्ष्मीप्रसाद देवकोटा भन्नुहुन्थ्यो । यसले पनि हाम्रो जीवनमा नामको महत्व दर्शाउँछ । तर, हाम्रो जस्तो जात, धर्म र वर्गीय हिसाबले विभक्त र अधीनस्थ भएको समाजमा भुइँमान्छेका नामहरू खासै अटाउँदैनन् । न हिजो अटाएका थिए न त आज नै अटाउँछन् ।

तर, यस पुस्तकमा असाध्यै धेरै मानिसका नामहरू अटाएका छन् । जसले क्रान्तिका बेला विभिन्न भूमिकामा योगदान गरेका थिए । जस्तैः भात पकाएर ख्वाउने भान्सेका नाम, कृषकका नाम, मजदूरका नाम, बटुवाका नाम, सारथिका नाम र योद्धाका नामहरू अटाएका छन् । नामै अटाउनु खास के अटाउनु हो र ! भन्ने पनि लाग्न सक्छ ।

तर, नाम अटाउनु उनीहरूको मूल्य अटाउनु हो । समर्पण र त्याग अटाउनु हो । इतिहास अटाउनु हो । अभिलेखनमा दर्ज हुनु हो । यसर्थमा, सिङ्गो भुइँमान्छे अटाउनु हो । त्यसैले, ‘भुइँमान्छे’ मा मान्छेहरू अटाएका छन् ।

त्यसैगरी अर्को पक्ष हेरौं, राजनीतिप्रतिको तृष्णा कति वितृष्णा कति ? अहिलेको वर्तमान अवस्थामा खासगरी युवाहरूले राजनीतिप्रति वितृष्णायुक्त अभिव्यक्ति राख्ने गरेको पाउँछौं । राजनीति मन पर्दैन, नेता मन पर्दैन, व्यवस्था मन पर्दैन, देशमा केही भएन लगायत विषयहरूलाई समग्रतामा राखेर हेर्छौं । लाग्छ कि; समग्र युवाहरू यसै भनिरहेका छन् । कसैको पनि राजनीतिप्रति मोह छैन । तृष्णा छैन ।

तर, किताब भित्र आजको व्यवस्था ल्याउन ती भुइँमान्छे र नेताले गरेको त्यागको इतिहास पढिरहँदा गजबले हृदय हल्लाउँछ । उनीहरूले घरपरिवार त्यागे । खाइरहेको जागिर त्यागे । भौतिक सुखसयल सबै त्यागे । यो सबै देशको मुहार बदल्न र आम नागरिकको जीवनमा परिवर्तन ल्याउन गरे ।

भूमिगत काममा हिंड्दा धेरैको भोकभोकै हिंडेको/भोकमरीको दर्दनाक अनुभव छ (पेजः २६५) । दिनभरि मजदुरी गर्ने अनि रातपरेपछि पार्टीको काममा हिंडेको कथा छ । आफ्ना बालबच्चा अर्काको घरमा जिम्मा लगाएर व्यवस्था परिवर्तन गर्न हिंडेको कारुणिक यथार्थ छ ।

यही हिंडेकै कारण आज पनि हामी सुन्छौं, देख्छौं– नेताले त्यसको फाइदा लिइरहेको, ‘प्रिभिलेज्ड’ पाइरहेको । तर, आज पनि भुइँमान्छे भने जहाँको त्यहीं छन् । उनीहरूलाई इतिहासमै गुमनाम बनाइयो । न त व्यवस्था बदलिएको साँचो अनुभूति नै गर्न पाएका छन् । यसरी, भुइँमान्छेको योगदान अवमूल्यन हुनु भनेको इतिहास पनि निष्पक्ष ढंगले नलेखिनु हो । यो योगदानको गणितमा कहाँनेर सूत्र गलत भयो ? कहाँनेर प्रश्न गलत भयो ? तर, जे भयो अन्यायपूर्ण भयो । यही विषयको उत्खनन् गर्ने प्रयास किताबले गरेको छ ।

सिङ्गो वाम आन्दोलनमा किसान आन्दोलनको प्रभाव कस्तो थियो ? संसदीय निर्वाचन २०१५ अघि र पछिको परिदृश्य कस्तो थियो ? राजनैतिक परिवर्तनमा किसान आन्दोलनको योगदान कस्तो रह्यो ? यो आन्दोलन धेरै जिल्लाहरू (झापा, मोरङ्ग, सुनसरी, दाङ्ग, रूपन्देही र नवलपरासी) मा कसरी सामूहिक बन्यो ? कसरी भुसको आगो जसरी फैलियो र अपनत्व ग्रहण गर्‍यो भन्ने सूक्ष्म र तथ्यपरक विश्लेषण गरिएको छ ।

भुइँमान्छे र नेता/नेतृत्व बीचको सम्बन्धका आयाम कस्ता थिए ? भन्ने विषयको उजागर विभिन्न उदाहरणका माध्यमबाट स्पष्ट गरिएको छ । प्रत्यक्ष रूपमा मानिससँग सम्बन्धित ठाउँमै गएर संवाद गरिएको छ । सकेसम्म तथ्य, प्रमाण र अभिलेखनले घटनाका परिदृश्यको पुष्टि गरिएको छ । भूमिगत अवस्थामा नेता र कार्यकर्ता/नागरिक बीचको भावनात्मक एकता एकदमै बलियो थियो । जसका लागि विभिन्न उदाहरणलाई लिन सकिन्छ । जस्तैः पेज नं. १६६ मा, भूमिगत समयमा कमरेडहरू आउँदा गाउँभरिबाट मुठ्ठी–मुठ्ठी अन्न संकलन गरेर खानेकुरा जोहो गर्ने गरेको प्रसंग छ ।

त्यसैगरी, नेताहरू स्वयं आश्रय दिने व्यक्तिहरूका घरमा खानेकुरा नहुँदा गिठ्ठा–भ्याकुर संकलन गर्न जंगलतिर जाने गरेको प्रसंग, कार्यकर्ताले आफ्ना नेता आउँदा, डोकोभरि गँगटा टिपेर ढिकीमा पिसेर, छानेर त्यसको रोटी पकाएर सँगै खाएको/ख्वाएको प्रसंग, दरबारमा काम गर्ने (महिलाहरू) लाई दरबारमा खान दिइएको दूध सिसामा राखेर घरमा ल्याएर नेताहरूलाई चिया ख्वाएको (२९९) प्रसंग रहेका छन् । यी प्रसंगहरूले कतै–कतै निकै संवेदनशील पनि बनाउँछ ।

त्योभन्दा बढी यसले दुवै पक्षः नेतृत्व/नेता र नागरिक/कार्यकर्तालाई मौन रूपमा निर्मम ढंगले प्रश्न गरेको छ । हिजो भावनात्मक कसी बलियो थियो । आज किन छैन ? वा कम भइरहेको छ ? हिजो नेतृत्वप्रतिको विश्वासको उचाइ सगरमाथा जस्तो अग्लो थियो । आज किन छैन ? यी गम्भीर प्रश्न अनुत्तरित छन् । तर, जवाफ खोज्न ढिलो भइसकेको बारबार किताबले सम्झाउँछ ।

यी सबै घटनाक्रम पढिरहँदा, केही वर्तमानमै नेतृत्व गरिरहनुभएका नेता सम्झेर भावुक पनि भइन्छ । शायद, यो भावुकता केही मात्रामा आवश्यक पनि छ । तर, भावुकताको आयतन भने फराकिलो बनाउन किताबले बारम्बार घच्घच्याउँछ । व्यवस्था बदल्न योगदान गरेका नेता र भुइँमान्छे दुवै पक्षको समर्पणको श्रेणीक्रम हुनुहँुदैन भन्ने कुरा नै समग्रमा भुइँमान्छे हो । एउटा वर्गले जहिल्यै पनि योगदानको ब्याज खाइरहने, अर्को वर्गलाई सुनियोजित ढंगले इतिहासदेखि वर्तमानसम्म पनि बेदखल गरिरहने परिपाटीले भुइँमान्छेको मन कुँडिएको यथार्थको तथ्यपरक अभिलेखन नै भुइँमान्छे हो ।

लैंगिक दृष्टिकोणबाट पनि किताबले केही सवाल उठान गरेको छ । २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसकी द्वारिकादेवी ठकुरानी पहिलो सांसद र मन्त्री बनेको घटनादेखि पार्टीका सम्पूर्ण भ्रातृ संगठन लगायतमा महिला सहभागिता कस्तो थियो ? भन्ने तथ्य/घटना सहितको फेहरिस्त त छ नै । तर, त्योसँगै बेहिसाब आन्दोलन, क्रान्ति र देश परिवर्तनमा होमिएका महिलाहरूको अकथ्य/अलिखित योगदानको बहुआयामिक विश्लेषण छ ।

२०४६ सालको आन्दोलनको उत्कर्षको अवस्थामा, जतिबेला पुरुषशून्य गाउँहरू थिए, त्यतिबेला महिलाहरूले घर, बाबुआमा, बालबच्चा, खेतीपाती, घाँस–दाउरा लगायत जिम्मेवारी ग्रहण गरेर घरका पुरुषहरू (श्रीमान्, दाजु, बाबु, छोरा) लाई क्रान्तिमा पठाएको योगदान छ । यसले मूल्य/गणना पाउनुपर्छ कि पर्दैन ? पार्टीको योगदानको बहीखातामा यी योगदान गर्ने महिलाका नामहरू अटाउँछन् कि अटाउँदैनन् ?

भूमिगत अवस्थामा नेताहरूलाई जोगाउने, ख्वाउने र आश्रयको व्यवस्थापनमा महिलाहरूको अग्रणी भूमिका र योगदान थियो । यो क्रान्तिमा योगदान हो कि हैन ? लगायत सवालहरूमा बलियो ढंगले उत्तर खोज्ने प्रयत्न गरिएको छ ।

निष्कर्षमा, राज्यव्यवस्था परिवर्तनमा पिंधमा बसेर क्रान्तिको जग बलियो बनाउन अहोरात्र खट्ने, व्यक्तिगत सुखसयल बिर्सेर सामूहिक हितलाई सर्वोपरि ठान्ने वर्ग किन आज आफ्नो पहिचान र मूल्यको खोजीमा भौंतारिनु परेको छ ? सत्तामा पुगेपछि किन नेता शासकै मात्र बन्छन् ? पिंधको वर्गले कहिल्यै टाउको उठाउन नपाउने व्यवस्था के हामीले चाहेको हो र ! यी अनुत्तरित प्रश्नहरूको जवाफ कोसँग माग्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?