+

एनएसएल क्वालिफायर वान : फाइनल पुग्ने होडमा ललितपुर र धनगढी

२०८२ वैशाख  ६ गते १७:५४ २०८२ वैशाख ६ गते १७:५४
एनएसएल क्वालिफायर वान : फाइनल पुग्ने होडमा ललितपुर र धनगढी

६ बैशाख, काठमाडौं । साविक विजेता ललितपुर सिटी र साविक उपविजेता धनगढी एफसी मध्ये एक टिम नेपाल सुपर लिग (एनएसएल) २०२५ को फाइनल पुग्ने पक्का छ ।

यस सिजन शीर्ष दुईमा रहेका ललितपुर र धनगढीबीच आज पहिलो क्वालिफायर हुँदैछ ।

खेल त्रिपुरशेवरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

दुवै टोली क्वालिफायर जित्दै सिधै फाइनल पुग्ने अवसर सदुपयोग गर्ने योजनामा छन् । यस खेलमा पराजित हुने टोलीले पनि फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछन् । तर दुवै टोली दोस्रो अवसर भन्दा पहिलो अवसरमै जित निकाल्न चाहन्छन् ।

यस सिजन अपराजित रहने एक्लो टोली ललितपुर लिग चरणमा ६ मध्ये ३ जित र ३ बराबरीबाट १२ अंक जोडेर शीर्ष स्थानमा रहेको थियो ।

यस्तै धनगढीले ३ जित २ बराबरी र १ हारबाट ११ अंक जोडेर दोस्रो स्थानमा लिग सकाएको थियो । अन्तिम लिग खेलमा एफसी चितवनसँग पराजित हुनुअघि धनगढी लिगमा लगातार ५ खेलमा अपराजित थियो ।

ललितपुर र धनगढीबीच लिग चरणमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

एनएसएलमा ललितपुर अहिलेसम्म धनगढी विरुद्ध अपराजित छ । त्यसमा दोस्रो संस्करणको फाइनलसहित गरेर ४ खेलमा ललितपुर धनगढीसँग हारेको छैन । पहिलो, दोस्रो र तेस्रो संस्करणको लिग खेलमा यी दुई टोलीले बराबरी खेलेका छन् । दोस्रो संस्करणको फाइनलमा भने ललितपुरले धनगढीलाई हराएर उपाधि जितेको थियो । प्लेअफमा यी दुई टोली दोस्रो पटक भिड्न लागेका हुन् ।

ललितपुर र धनगढीमा दुवै टिममा डिफेण्डर कप्तान छन् । राष्ट्रिय टिमका कप्तान अनन्त तामाङको कप्तानीमा ललितपुरले दोस्रो संस्करण देखि नै गज्जबको प्रदर्शन गरिरहेको छ । उता राष्ट्रिय टिमबाट खेलिसकेका देवेन्द्र तामाङको कप्तानीमा धनगढीको प्रदर्शन पनि राम्रो छ ।

दुवै टिममा प्रभावशाली विदेशी खेलाडीहरु छन् । सुरुवाती दुई खेलमा चम्केका ललितपुरका प्यालेस्टिनी खेलाडी जोनाथान कान्टिलाना चोटका कारण त्यसपछि मैदान उत्रेका छैनन् ।

यसबाहेक इमोह इजेकेल, पापा इबोउ केबे र पेपे डिएकेटले पनि राम्रो खेलिरहेका छन् ।

यसैगरी कप्तान अनन्तसहित नेपाली खेलाडी सनिश श्रेष्ठ, योगेश गुरुङ, मणि कुमार लामा, सन्तोष खत्री र आदित्य शाक्यले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

उता धनगढीका लागि कप्तान देवेन्द्रसहित मार्की खेलाडी कृतिश रत्न छुन्जुको प्रखर्शन उत्कृष्ट छ । विदेशी खेलाडीमा हिजाजीसँगै सर्जियो बार्बोजा, गोलकिपर वालिद बिरोउ, डिफेण्डर जोर्ग साइसेडोले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

यस्तो छ ललितपुर र धनगढीको प्लेअफ यात्रा

ललितपुर सिटी एफसी

यस लिग चरणमा अपराजित रहने एक्लो टोली हो ललितपुर सिटी एफसी । ललितपुरले लिग चरणमा अपराजित यात्रा कायमै राख्दै ३ खेल जित्दा ३ खेल बराबरी गरेको थियो ।

सुरुवाती ३ खेलमा १ जित र २ बराबरी खेलेको ललितपुरले पछिल्ला ३ खेलमा २ जित  र १ बराबरी नतिजा निकालेको थियो ।

काठमाडौं रेजर्ससँग पहिलो खेलमा २-२ को बराबरीमा रोकिएको ललितपुरले दोस्रो खेलमा पोखरालाई ३-२ ले पराजित गर्दै पहिलो जित हात पारेको थियो । तर तेस्रो खेलमा धनगढी एफसीसँग गोलरहित बराबरीमा रोकियो ।

चौथो खेलमा एफसी चितवनलाई २-१ ले पराजित गरेपछि ललितपुरले प्लेअफको सम्भावना बढाएको थियो भने पाँचौ खेलमा बुटवल लुम्बिनीलाई २-० ले हराएर ललितपुरले एक खेल अघि नै प्लेअफमा स्थान पक्का गरेको थियो । ललितपुरे अन्तिम खेलमा झापा एफसीसँग १-१ को बराबरी खेलेको थियो ।

धनगढी एफसी

साविक उपविजेता धनगढी एफसी लिगको अन्तिम खेलसम्म अपराजित थियो । तर अन्तिम खेलमा चितवनसँग पराजित भएपछि ५ खेलको अपराजित यात्रा ब्रेक लाग्यो ।

धनगढीले यस सिजन ३ खेल जित्दा २ खेल बराबरी खेल्यो भने १ खेलमा पराजित भयो ।

पहिलो खेलमै बुटवल लुम्बिनीलाई ४-१ ले पराजित गर्दै सानदार सुरुवात गरेपछि धनगढीले त्यही रफ्तारमा खेल्छ भन्ने धेरैको अपेक्षा थियो । तर त्यसपछिका दुई खेलमा भने धनगढी बराबरीमा मा रोकिएको गोल समेत गर्न सकेन ।

ललितपुर सिटी र पोखरा थण्डर्ससँग गोलरहित बराबरीमा रोकिँदा धनगढीलाई केही दबाब परेको थियो । तर चौथो खेलमा काठमाडौं विरुद्ध ३-१ को जितपछि धनगढी फेरि ट्रयाकमा आयो । उक्त खेलमा एक गोलले पछि पर्दा समेत अहमद हिजाजीको सानदार ह्याट्रिकमा धनगढीले कमब्याक गर्दै जित निकाल्यो । त्यसपछि धनगढीले झापा एफसीलाई १-० ले हराउँदै प्लेअफमा स्थान पक्का गरेको हो ।

अन्तिम खेलमा धनगढीले दोस्रो रोजाईँको टिम मैदान उतार्दै सबै खेलाडीलाई अवसर दियो । यस्तोमा धनगढीले सुरुमै अग्रता समेत लिएको थियो । तर कायम राख्न सकेन र चितवनसँग ३-१ ले पराजित भयो ।

यस सिजन धनगढीका लेवनानी फरवार्ड अहमद हिजाजीले एक ह्याट्रिक सर्वाधिक ५ गोल गरिसकेका छन् । उनी एनएसएल इतिहासमा ९ गोल सहित सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन् ।

 

एनएसएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय