७ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । आज आइतबार दिउँसो र राति गरेर दुई खेल हुनेछन् ।
पहिलो खेलमा दिउँसो पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन् । खेल पौने ४ बजेदेखि चण्डीगढस्थित मुल्लानपुर क्रिकेट रंगशालामा सुरु हुनेछ ।
दुई टोली यसअघि खेलेको ४८ घण्टाभित्र दोस्रोपटक भिड्न लागेका हुन् । शुक्रबार बेंगलुरुको मैदानमा भएको खेलमा पञ्जाबले ५ विकेटको जित निकालेको थियो ।
अंकतालिकामा पञ्जाब ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ भने ७ खेलमा ८ अंक भएको बेंगलुरु पाँचौं स्थानमा छ । आजको खेल जिते पञ्जाब शीर्षमा उक्लनेछ भने प्लेअफको सम्भावना पनि बलियो बनाउँदै लाने छ ।
त्यस्तै दोस्रो खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी मुम्बई इन्डियन्स र चेन्नइ सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुकी पौने ८ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।
सर्वाधिक ५-५ पटकका उपाधि विजेता यी दुई टोली हाल अंकतालिकामा बटम हाफमा छन् । मुम्बई ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा छ भने चेन्नई ७ खेलमा ४ अंक जोड्दै १०औं स्थानमा छ ।
यसअघि चेन्नईको घरेलु मैदानमा भएको खेलमा चेन्नई ४ विकेटले विजयी भएको थियो । त्यसयता लगातार ५ खेलमा पराजित भएको चेन्नईले पछिल्लो खेलमा लखनउलाई हराएको थियो ।
प्रतिक्रिया 4