
७ वैशाख, काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफा ३७ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो ।
साउनदेखि चैत मसान्तसम्म बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ३० करोड रुपैयाँ थियो ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले १२.२० रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी अहिले १५.८६ रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी सामान्य घटे पनि लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्दा नाफामा उल्लेख्य योगदान पुगेको देखिन्छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ प्रतिशत घटेको छ । पहिले लोन प्रोभिजन ५ अर्ब २६ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ११ करोडमा झरेको छ । यहीं कारण नाफा बढेको देखिन्छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड रुपैयाँ छ ।
बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.७४ बाट बढेर ४.९८ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ रहेको छ भने बजार मूल्य २२३ रुपैयाँ छ । आधार दर पहिले ८.८४ प्रतिशत रहेकोमा अहिले ६.३८ प्रतिशत छ ।
प्रतिक्रिया 4