+
+
Shares

चीनमा मानिस र रोबोटबीच म्याराथन दौड प्रतियोगिता, कसले जित्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते ९:४०

७ वैशाख, काठमाडौं । चीनको राजधानी बेइजिङमा शनिबार मानिस र रोबोटबीच हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गरियो ।

सीएनएनका अनुसार रोबोटिक्स र प्रविधिको क्षेत्रमा चीनको प्रगति देखाउने उद्देश्यले मानिस र रोबोटबीचको म्याराथन दौड शनिबार बेइजिङको दक्षिण–पूर्वी यिझुआङ जिल्लामा आयोजना गरिएको थियो ।

२१ किलोमिटरको म्याराथन सबैभन्दा कम समयमा पूरा गर्ने कीर्तिमान युगान्डाका जेकब किप्लिमोको नाममा छ, जसले यो दूरी ५६ मिनेट ४२ सेकेन्डमा पूरा गरेका थिए । तर बेइजिङमा आयोजित २१ किलोमिटर म्याराथनमा मानिसले १ घण्टा २ मिनेटमा निर्धारित दुरी पूरा गर्दा रोबोटलाई २ घण्टा ४० मिनेट लागेको थियो । अर्थात् रोबोट मानिसहरुभन्दा १ घण्टा ३८ मिनेट अन्तरमा पछि परे ।

पहिलोपटक आयोजना गरिएको यस्तो प्रतियोगितामा चीनका ड्रायडअप, नोएटिक्स रोबोटिक्स, तियांगोंग अल्ट्रा जस्ता ठूला प्रविधि कम्पनीहरुले बनाएका २१ रोबोट सहभागी थिए ।

केही रोबोटको उचाइ १२० सेन्टिमिटर (३.९ फिट) भन्दा कम थियो भने केहीको उचाइ १.८ मिटर (५.९ फिट) सम्मको थियो । बेइजिङ इनोभेसन सेन्टर अफ ह्युमन रोबोटिक्सको रोबोट ‘तियाङगोङ्ग अल्ट्रा’ अरु रोबोटभन्दा छिटो दौडिएको थियो । उसैले २ घण्टा ४० मिनेटमा निर्धारित दुरी पार गरेको थियो ।

दौडिने क्रममा मानिसहरुलाई बीच–बीचमा पानी पिउनुपर्ने आवश्यकता पर्छ, त्यसरी नै रोबोटहरूलाई ब्याट्री बदल्न अनुमति दिइएको थियो ।

रोबोटहरूसँग मानव प्रशिक्षकहरु पनि थिए, जसले दौडको क्रममा मेशिनहरूलाई सहयोग गरेका थिए । केही रोबोटले रनिङ जुत्ता लगाएका थिए, एकले बक्सिङ ग्लभ लगाएको थियो भने अर्कोले रातो रंगको हेडब्यान्ड लगाएको थियो, जसमा चिनियाँ भाषामा ‘बाउण्ड टु विन’ (जित्न तयार) लेखिएको थियो ।

चीनमा प्रति १० हजार कर्मचारीमा ४७० रोबोट

रोबोटिक्स सेन्टरका प्रमुख प्रविधि अधिकृत ताङ जियानका अनुसार ‘तियाङगोङ्ग अल्ट्रा’ रोबोटलाई रेसको क्रममा लामो खुट्टा र एक एल्गोरिदमको सहायता मिलेको थियो । त्यहीकारण उसले मानिसले झैं म्याराथन दौड पूरा गर्न सक्यो ।

ताङले भने, ‘म घमण्ड गर्न चाहन्न, तर मलाई लाग्छ कि पश्चिमी देशहरूका कुनै पनि अन्य रोबोटिक्स कम्पनीले तियांगोंगका स्पोट्र्स उपलब्धिहरूसँग तुलना गर्न सक्दैनन् । रेसको क्रममा रोबोटको ब्याट्री केवल तीन पटक मात्रै फेर्नुपरेको थियो ।’

चीनले पछिल्ला केही वर्षमा रोबोटिक्समा तीव्र प्रगति गरेर जर्मनी र जापानलाई पछि पारेको छ । चीनमा २०२३ सम्म प्रति १० हजार कर्मचारीमा ४७० रोबोट थिए, जुन जर्मनीका ४२९ र जापानका ४१९ भन्दा धेरै हो । अहिले केवल दक्षिण कोरिया र सिंगापुर मात्रै रोबोट घनत्वमा चीनभन्दा अगाडि रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?