
७ वैशाख, काठमाडौं । राप्रपाले आज काठमाडौंमा सडक प्रदर्शन गरिरहेको छ । यसको तयारी क्रममा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत उच्च पदस्थ राप्रपा नेताहरु पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न निर्मल निवास गएथे । यसरी जानेमा पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे थिए ।
यद्यपि शुक्रबार ५ वैशाखको उक्त भेट सडक प्रदर्शन तयारीका लागि नभएको राप्रपाले जिकिर गरेको छ । आइतबारको सडक प्रदर्शन केही समयअघि निषेधित क्षेत्र, बबरमहलमा सुरु भएको छ ।
अध्यक्ष लिङ्देनसँग राजाको उक्त भेट तथा आजको सडक प्रदर्शनबारे छोटो कुराकानी :
तपाईंहरु पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न शुक्रबार दिउँसो निर्मल निवासमा जानुभएको रहेछ । त्यहाँ के कुरा भयो ?
त्यो नियमित जस्तै भेट हो । त्यसभन्दा अघि पनि राजाले बीचमा को-कोसँग भेट्ने, खाने, बस्ने क्रम चलिरहेकै थियो । हाम्रो पनि कुरा हुने नै भयो । त्यसलाई चलिरहेकै नियमित सूची मान्दा पनि भयो । त्यो विशेष रुपमा उल्लेख गर्नुपर्ने कुरा थिएन । त्यहाँ गएर खाने–बस्ने नै भयो हाम्रो पनि ।
तर पूर्वराजासँग लन्चमा राजनीतिक कुरा निस्कनु अनौठो हुने कुरै भएन, होइन ?
स्वभाविक रुपमा कुरा हुने नै भयो, तर उल्लेख गर्नुपर्ने विशेष केही छैन । उहाँले तीनकुनेमा १५ चैत मा घटेको दुःखद घटनामा आफ्नो तर्फबाट चिन्ता जनाउनुभयो । जसले हिंसात्मक काम गरेको भए पनि त्यो दिन ठूलो गल्ती भयो, खासगरी निर्दोष नागरिकको मृत्यु भयो, धेरै क्षति भयो भन्ने कुरामा उहाँको गम्भीर चासो भयो ।
त्यो घटनाको तथ्य बाहिर ल्याउनका लागि राप्रपाले न्यायिक छानबिन समिति बनाएर जानुपर्छ भनेर राखेको माग मलाई सही लाग्यो भन्नुभयो । दोषीलाई कारबाही हुनुपर्छ, चाहे जोसुकै परोस् भन्ने कुरा आयो ।
राप्रपा राजनीतिक शक्ति हुँदाहुँदै राजाबाट अरुसँग संवाद भयो भन्ने गुनासो पनि तपाईंहरुको तर्फबाट गएको हो ?
त्यस्तो गुनासो भनिराख्नुपर्ने, अनि लाइसेन्स लिइराख्नुपर्ने जरुरी छैन । हामी त्यसका लागि गएका होइनौं पनि । हामीले राजसंस्था पुनर्स्थापनाको मागसहित निरन्तर एजेन्डाहरु जनताको बीचमा राखिरहेका छौं । त्यसैले यस खालको कुरा त राखेनौं ।
राजावादी आन्दोलनको मोर्चा दुर्गा प्रसाईं र नवराज सुवेदीलाई नेतृत्व सुम्पेको भनेर गुनासो पनि त्यहाँ पेश भयो भन्ने सुनियो नि ?
उहाँहरुको बारेमा अलिअलि कुरा त्यहाँ उठेको नै हो । तर यसमा एकदम ध्यान दिनुपर्नेगरी केही भएको छैन । सामान्य चर्चा परिचर्चामात्रै हो । यो स्वभाविक पनि हो ।
तपाईंको पार्टीका दुई नेता रवीन्द्र मिश्र र धवलशम्शेर राणा गिरफ्तार हुनुहुन्छ । उहाँहरु राप्रपाबाहेकका अन्य समिति मोर्चाहरुमा बसेको भनेर पार्टीमा कारबाहीको विषय उठेको हो ?
नयाँ निर्णय भएजसरी बाहिर आयो, तर खासमा यो नयाँ निर्णय होइन, पुरानै निर्णयको जानकारी गराइएको मात्रै हो । पार्टीभित्रको सामान्य कुरै हो, राप्रपाको जिम्मेवारीमा बसेपछि त्यस्तै प्रकृतिको अर्को समितिमा नबसौं । त्यसो भए स्वतः पद जान्छ भनिएको हो । अरुसँग सहकार्य गर्ने, मोर्चाहरुमा बस्न नसकिने भन्ने होइन, तर त्यस्तो गर्नुपरे पार्टीको जानकारी र सहमतिमा हुनुपर्छ । आफैंले सबै कुरा खुसी–खुसी गर्न थालियो भने पार्टीको संस्कार मर्यादा हुन्न । पार्टीमा बसेर अर्को कुनै अभियान खोल्ने वा त्यसको सदस्य बस्ने दोहोरो काम कसैले गर्न मिल्दैन ।
तपाईंहरुले ७ वैशाखबाट ठूलो आन्दोलन सृष्टि गर्ने बताउनुभएको थियो, तर आज बिजुलीबजारमा तपार्इंहरुको उपस्थिति हेर्दा प्रदर्शनको साइज घटेजस्तो देखियो नि ?
मूल कुरा त्यो होइन । प्रदर्शन निरन्तर भइराख्छ । निषेधित क्षेत्रमा तोडेर भत्काएर भन्दा पनि मुख्य नेताहरुले अगाडि गएर प्रदर्शन गर्ने, जनतालाई नजिक आउन नदिने सरकारी नीतिको विरोध गर्ने भन्ने हो । यसका लागि नेता आफैं अगाडि जानुपर्छ भनेको हो । हामी आज आएका छौं । आफ्ना कुरा जनतासमक्ष राख्छौं । सत्तालाई खबरदारी गर्छौं र उसको नियत उदांगो पनि पार्छौं ।
प्रतिक्रिया 4