
चीनको शांघाइमा रहेको एउटा हाइप्रोफाइल रेष्टुरेन्टले एक अनौठो परिकार पस्किन थालेको छ । त्यो अनौठो परिकार भनेको हात्तीको गोबरबाट बनेको विशेष खालको मिठाई हो । यो परिकारले सोसल मिडियामा बहस सिर्जना गरेको छ ।
साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित रिपोर्ट अनुसार अप्रिल ७ मा मिक्स्यूज क्युलिनरी नोट्स नामबाट चर्चित एक खानेकुरासम्बन्धी ब्लगरले चिनियाँ सोसल मिडिया रेडनोटमा शांघाईको उक्त नयाँ रेष्टुरेन्टको भिडियो शेयर गरे । सो भिडियोमा उक्त रेष्टुरेन्टमा पस्किएको एउटा अनौठो मिठाईका बारेमा बताइएको थियो ।
उक्त रेष्टुरेन्ट वातावरणमैत्री परिकार पस्किनका लागि चर्चित छ । साथै यसले अनेक प्रकारका नयाँ परिकार पनि तयार गरेर पाहुनालाई खुवाउने गर्दछ । त्यसमा रुखका पात र महमा डुबाइएका बरफका टुक्रादेखि लिएर पछिल्लो पटक हात्तीको सुख्खा गोबरबाट तयार पारिएको मिठाई सामेल छ ।
उक्त रेष्टुरेन्टमा ड्रिंक्स बाहेक रेनफरेस्ट थिमयुक्त उक्त हात्तीको मलको मिठाईवाला परिकारका लागि ग्राहकहरुले ३ हजार ८८८ युआन तिर्नुपर्दछ ।
रेष्टुरेन्टका दुईजना संस्थापकहरुमध्ये एकजना चीनको ब्लांग जातीय समुदायबाट छन् भने अर्का चाहिं फ्रेन्च हुन् । उनीहरुले शांघाईमा रेनफरेस्ट रेष्टुरेन्ट सुरु गर्नुअघि युनान प्रान्तको हराभरा उष्णसदावहार वनमा शोध गर्नका लागि सात वर्ष बिताएका थिए ।
ब्लगरले आफ्नो भिडियोमा केवल हात्तीको गोबरबाट बनेको मिठाई मात्रै देखाएका छैनन् उक्त रेष्टुरेन्टका केही अन्य अनौठा गतिविधि पनि रेकर्ड गरेका थिए । त्यसमा एकजना ग्राहकले रेष्टुरेन्टमा एउटा गमलामा रोपिएको रुखबाट एउटा पात चुँड्दछन् र त्यसलाई ससमा डुबाएर काँचै खान्छन् ।
रेष्टुरेन्टमा भोजनका क्रममा पाहुनाहरुलाई विभिन्न अपारम्परिक परिकारहरु पस्किइन्छ ।त्यसमध्ये एउटा परिकार चाहीँ बरफको टुक्राले मह र पराग चाट्ने रहेको थियो ।
हात्तीको गोबरबाट कसरी बनाइयो मिठाई ?
उक्त अनौठो परिकारमा हात्तीको गोबरका अतिरिक्त हर्बल पफ्र्युम, फलफूलको जाम, पराग तथा महको सर्बतले सजाइएको हुन्छ ।
हात्तीको गोबरमा वनस्पतीका रेशा प्रचूर मात्रामा पाइन्छ । यसको प्रयोग प्रायः विभिन्न उत्पादनहरुमा गरिन्छ । यसबाट कागज समेत उत्पादन गरिन्छ ।
यद्यपि चीनमा खाद्य स्वच्छता कानून अनुसार खाद्य पदार्थ विषाक्त हुनु हुँदैन । साथै खानेकुरा हानिरहित हुनुपर्ने र पोषणसम्बन्धी मानकहरू पूरा गर्नुपर्ने नियम छ । त्यसैले हात्तीको गोबरबाट बनेका मिठाईहरु किटाणुमुक्त हुँदाहुँदै पनि कानून अनुसार भए नभएको निश्चित छैन ।
सो विचित्र खालको परिकारका विषयमा अनलाइनमा थाहा पाउँदा मानिसहरु तिनछक परेका छन् । ती ब्लगरको भिडियोमा प्रयोगकर्ताहरुले विभिन्न खालका प्रतिक्रिया दिईरहेका छन् । कतिपयले हात्तीको गोबरबाट बनेको परिकार घिनलाग्दो भनेका छन् भने कतिले डरलाग्दो भनेका छन् । केहीले चाहीँ धनी मानिसले जेसुकै कुरा खाने गरेको टिप्पणी गरेका छन् ।
– एजेन्सी
प्रतिक्रिया 4